logo-img

सन्दीप लामिछानेको मुद्दाको पेसी आज
फाइल तस्बिर

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा दिएको पुनरावेदनमाथि आज पेसी तोकिएको छ । 

गत सोमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा रहेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । न्यायाधीशद्वय भट्ट र ढकालको इजलासमा नौ मुद्दा रहेकोमा सातौँ नम्बरको सुनुवाइ नसकिएपछि त्यसपछिका मुद्दा हेर्न नभ्याइनेमा परी स्थगित भएको थियो । 

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ) लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै ८ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले फागुन १० गते पुनरावेदन गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ) लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम् सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ । दुवै मुद्दामा एकसाथ सुनुवाइ हुन लागेको हो ।

यसअघि, उच्च अदालतले पीडित गौशाला २६ (छ) को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट तीनपटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाउने आदेश भएको थियो । एकपटक पीडित गौशाला २६ (छ) की आमाको समेत जन्मदर्ता झिकाउने आदेश जिल्ला अदालतले गरेको थियो ।

उच्च अदालतले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनी १२ वर्षभन्दा बढी जेल जानेछन् । उनले लिएको माग दाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोग मुक्त हुनेछन् । 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार ८:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया