logo-img

प्रयाेग भइसकेकाे तेलमा बारम्बार खाना पकाउनु स्वास्थ्यका लागि कति घातक ?

सामाखुसी बस्ने अनिता तामाङलाई एक महिनाअघि एक्कासि पेट दुख्ने समस्या आयो । सुरुमा त उनले एक–दुई दिनमा ठिक भइहाल्छ होला भनेर घरमै आराम गरेर बसिन् । तर, समस्या बल्झिएको एक साता बितिसक्दा पनि समस्या बीसको उन्नाइस नभएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु पुगिन् ।अस्पतालमा विभिन्न स्वास्थ्य परीक्षण गरेपछि उनलाई फुड पोइजनिङ तथा ग्याष्ट्रिकको समस्या देखियो । उनलाई यस्तो समस्या देखिनुको एउटै कारण थियो, खानपानमा लापरबाही । 

‘खानामा ध्यान त दिएकै हुन्थेँ, तैपनि कसरी यस्तो भयो ? पछिल्लो एकसाता त मर्नेगरी पेट दुख्यो । खानेकुराचाहिँ अलि बढी चिल्लो, पिरो खाने गर्छु त्यही भएर समस्या देखिएको होला,’ अनिताले सुनाइन् । अनिताका अनुसार उनी घरमा पाकेको खानेकुराभन्दा घरबाहिर फुटपाथमा सहजै उपलब्ध हुने खानेकुरा बढी खान्छिन् । त्यसमा पनि तेलमा तारेका, भुटेका खानेकुरा उनको रोजाइमा अग्रसूचीमा पर्छन् । ‘मलाई अरूभन्दा पनि पकौडा, ससेस, चटपट मनपर्छ । यसबाहेकका खानेकुरा कहिलेकाहीँ मात्र खान्थेँ । डाक्टरले अबदेखि त्यस्ता खानेकुरा नखानू भन्नुभएको छ,’ अनिताले भनिन् ।

अनितालाई जहाँ पायो त्यहीँको खानेकुरा खाँदा फुड पोइजनिङ तथा ग्याष्ट्रिकको समस्या देखिएको बताउँछन्, सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन । उनी भन्छन्, ‘हिजोआज घरमै बनाएको खानेकुराभन्दा फुटपाथ तथा ठेलामा पाइने खानेकुरामा मानिसले बढी जोड दिन्छन् । जसकारण विभिन्न सरुवा रोगसँगै अन्य नसर्ने रोगको जोखिम पनि बढ्दै गएको छ ।’

अनिता त प्रतिनिधि पात्र मात्र हुन्, उनीजस्तै अन्य कैयौँ मानिस छन्, जसले फुटपाथ तथा ठेलामा पाइने खानेकुरातिर आकर्षित भएको पाइन्छ । बालबालिका मात्र होइन, युवायुवतीदेखि वयस्क व्यक्तिहरूसम्मले छिटो र सहजै उपलब्ध हुने खानेकुरा खान बढी रुचाएको पाइन्छ । यस्ता सहजै र सस्तोमा पाइने खानेकुरा कति स्वस्थकर छन् ? कसरी पकाइएका हुन्छन् ? तेलको प्रयोग कसरी भइरहेको छ ? कस्ता सामाग्रीको प्रयोग गरिएको हुन्छ ? यसतर्फ भने धेरै कमको ध्यान गएको पाइने गरेको जनस्वास्थ्यविद् बताउँछन् । 

खाना पकाउने तेल फेरि तताएर त्यसमा खाना पकाउनु हरेक घरमा सामान्य हो । यदि बजारमा पाइने खानेकुराको कुरा गर्ने हो भने उनीहरूले एकपटक खाना पकाएको तेल अलिकति घटेपछि त्यहीमाथि अर्को तेल थप्छन् । दैनिक त्यसलाई निरन्तरता दिँदा तेल कालो भइसकेको हुन्छ । 

उसो त ललितपुर तथा काठमाडौं महानगरले स्ट्रिट फुड प्रतिबन्ध लगाएको छ । त्यसैले त्यसको निरीक्षण गर्ने कुरा भएन । तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समय–समयमा होटल, रेस्टुरेन्टको अनुगमन गरिरहेको जनाएको छ । 



तेलको पुनः प्रयोग घातक

धेरैजसो घरमा वा अन्य ठाउँमा कुनै खानेकुरा तारेर, भुटेर बाँकी रहेको तेल के गर्ने ?,’ भन्ने सोच आउँदा अक्सर हाम्रो मनले भन्छ, ‘होइन, किन फ्याँक्ने । अर्कोपटक फेरि काम लाग्छ ।’ हामी कुनै खानेकुरा तारेर बाँकी रहेको तेललाई जतनसाथ राख्छौँ । अब सोही तेल अर्को खानेकुरा पकाउन उपयुक्त हुन्छ त ? कुरा स्वादको मात्र होइन । स्वास्थ्यको पनि हो । जनस्वास्थ्यविद्ले भन्ने गरेका छन्, ‘पटक–पटक तेल प्रयोग गर्दा त्यो विषाक्त बन्छ ।’



मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल तेललाई पटक–पटक तताउँदा अल्डिहाइड नाम गरेको टक्सिन उत्पन्न हुने बताउँछन् । उनका अनुसार यस्तो तेलको सेवन गरेपछि यसमा भएका टक्सिनहरूले शरीरभित्रको प्रोटिन, इन्जाइम र हर्मोनसित प्रतिक्रिया गरेर स्वास्थ्यलाई धेरै हानि पुर्याउन सक्छ । सूर्यमुखीको तेल र भटमासको तेललाई पटक–पटक तताउँदा राम्रो अनस्याचुरेटेड फ्याट नराम्रो ट्रान्सफ्याटमा परिणत हुनसक्ने उनको भनाइ छ ।

‘ट्रान्सफ्याट एक प्रकारको अनस्याचुरेटेड फ्याट हो । जसले नराम्रो कोलेस्ट्रोललाई बढाएर राम्रो कोलेस्ट्रोल (एचडिएल) घटाएर मुटुमा ब्लकेज (कोरोनरी हर्ट डिजिज) हुने सम्भावना बढाउँछ,’ उनी भन्छन्, ‘ट्रान्सफ्याटचाहिँ स्याचुरेटेड एनिमल फ्याटभन्दा पनि बढी खतरनाक हुन्छ । यसले रक्तनलीमा रगत जम्ने सम्भावना बढाउँछ ।’ उनका अनुसार तेललाई पटक–पटक तताउँदा एक प्रकारको ‘एचएनई’ नाम गरेको टक्सिन बन्छ, जसले गर्दा मुटुरोग, स्नायुरोग, कलेजोको रोग, क्यान्सर आदिको खतरा बढ्न सक्छ । 

यस्तै, तरकारी पकाउँदा होस् वा अन्य खानेकुरा पकाउँदा तेललाई मज्जाले तताउनुपर्छ भन्ने मान्यता गलत भएको पोषणविद् अरुणा उप्रेती बताउँछिन् । उनका अनुसार तेल फ्याक्ट्रीबाट प्रशोधन भएर एउटा तापमान कायम भएर आएको हुन्छ । त्यसलाई फेरि धेरै तताउँदा ‘कास्ट्रोजेनिक’ मन्द विष बन्छ । त्यसैले अलिअलि तातेपछि नै त्यसमा तरकारी तथा अन्य खानेकुरा पकाउनु उचित हुन्छ ।

तेललाई धेरै बेरसम्म पकायो भने वा एउटै तेललाई बारम्बार प्रयोग गरियो भने क्यान्सर, उच्च रक्तचापजस्ता दीर्घरोग निम्तिन सक्ने उनको भनाइ छ । उनका अनुसार प्राकृतिक रूपमा मिलमा तयार पारिएको तेलको प्रयोग गर्नु धेरै हदसम्म स्वास्थ्यवर्द्धक हुन्छ । जस्तै, जैतुनको तेल, तोरीको तेल, सोयाबिनको तेल र सूर्यमुखीको तेल प्रयोग गर्न उनले सुझाइन् ।

‘एकपटक गुणस्तर जाँच गरेर पुग्दैन । होटल, रेस्टुरेन्टको भान्सा कस्तो छ ? कस्तो खानेकुरा पाकिरहेको छ ?,’ पोषणविद् उप्रेती भन्छिन्, ‘कसरी पाकिरहेको छ ? कसले पकाइरहेका छन् ? के कस्ता चिजबिज प्रयोग गरिरहेका छन् ? यसको नियमित अनुगमन हुनैपर्छ ।’ यसका साथै आम उपभोक्ताले पनि आफूले खानेकुरा कसरी बनाइएको छ भनेर चनाखो हुन एकदमै आवश्यक रहेको उनको बुझाइ छ ।

अनुगमन अपरिहार्य 

खाना पकाउने तेलको गुणस्तरका बारेमा पटक–पटक प्रश्न गरिन्छ । तर, उत्तर भने सरोकार निकायले मौन धारण गरेर दिने गरेको पाइन्छ । झन् बजारमा सहजै पाइने तेलमा तारेका खानेकुराको गुणस्तर अनुगमनको पाटो कसिलो हुने कुरै भएन । 

उपभोक्ता अधिकारकर्मी माधवप्रसाद तिमिल्सिना हाम्रो बजारमा पाइने तेलको गुणस्तरमा पहिलेदेखि नै गम्भीर प्रश्न उठिरहेको बताउँछन् । खाद्यबाट जुन तवरबाट नियमन हुनुपर्ने थियो, त्यो हुन नसकेको उनको गुनासो छ । त्यसकारण बजारमा उपलब्ध तेलमा तारे, भुटेका खानेकुरा खानुभन्दा अगाडि उपभोक्ता स्वयं चनाखो हुनुपर्नेमा उनको जोड छ । 

यस्तै, उनका अनुसार होटल, रेस्टुरेन्टको खानेकुराको जाँच नियमित हुनुपर्छ । स्ट्रिटमा राखिएका खानेकुरामा गुणस्तर नहुने र त्यसको अनुगमनसमेत नहुने भएकाले यसका लागि निश्चित स्थान, समय र मापदण्ड तोक्नुपर्ने उनको भनाइ छ । 

  • प्रकाशित मिति : वैशाख २५, २०८१ मंगलबार १८:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया