एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आइतबार एक दिवसीय विश्वकप २०१९ मा आइतबार हुने पाकिस्तानसँगको खेलका लागि आफ्नो टिम केन्द्रित भएको बताएका छन् । बिहिबार भारत र न्युजिल्यान्डको खेल वर्षाका कारण रद्द भएको थियो ।
आइतबार भारत र पाकिस्तानबीचको खेल ओल्ड ट्राफोडमा हुँदैछ । यसले विश्वभरका क्रिकेट प्रेमीलाई आकर्षित गर्ने अनुमान छ । बिबिसीले गरेको अनुमानअनुसार यो खेल विश्वभर एक खर्ब मानिसहरुले हेर्ने छन् ।
‘यो उत्सकुता निम्त्याउने अवसर हो,’ ३० वर्षका कोहलीले भनेका छन्, ‘यो विश्वभर हेरिने एउटा खेल हो ।’
यी दुई देश यस्ता विशेष प्रतियोगिताबाहेक खासै खेल्दैनन् । यसअघि यी दुई देश एसिया कपका लागि सन् २०१८ मा भिडेका थिए । त्यति बेला भारतले पाकिस्तानमाथि जित निकालेको थियो । अर्कोतिर, इंग्ल्यान्डमा नै भएको सन् २०१७ को च्याम्पियन्स ट्रफीमा चाहिँ पाकिस्तनाले भारतलाई जितेको थियो ।
यो विश्वकपमा चाहिँ भारतले राम्रो सुरुवात गरेको छ । दक्षिण अफ्रिका र अष्ट्रेलियालाई सहजै पराजित गरेको भारतले तेस्रो खेल न्युजिल्यान्डसँग चाहिँ खेल्न पाएन ।
अर्कोतिर, पाकिस्तानका लागि यो विश्वकपको सुरुवात खासै सहज देखिएको छैन । पाकिस्तानले आयोजक राष्ट्र इंग्ल्यान्डलाई पराजित त गर्यो तर अष्ट्रेलिया र वेस्ट इन्डिजसँग उसले जित निकाल्न सकेन ।
‘हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, त्यसैले हामीले जित्छौँ वा हाछौँ भन्ने कुराले ठूलो महत्व राख्दैन,’ कोहलीले भनेका छन्, ‘दुई जितका कारण पनि हाम्रो विश्वास बढेको छ, हामी यो खेलका लागि तयार भइसकेका छौँ ।’
यो खेल एउटा प्रेसरको खेल हुने भए पनि मैदानमा गएपछि यी कुनै पनि कुराले अर्थ नराख्ने उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।