विश्वकप क्रिकेट: इंग्ल्यान्डलाई हराउँदै सेमिफाइनलमा पुग्ने पहिलो टिम बन्यो अष्ट्रेलिया

काठमाडौं– इंग्ल्यान्डमा भइरहेको एकदिवशीय विश्वकप क्रिकेटको ३२ औं खेलमा मंगलबार लर्डस् मैदानमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई ६४ रनले हराइदिएको छ । यो जीतसँगै यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम अष्ट्रेलिया बनेको छ । विश्वकप इतिहासमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई लगातार चौथौं पटक हराएको हो । पछिल्लो पटक अष्ट्रेलियाले इंग्ल्यान्डसँग सन् १९९२ मा हार व्यहोरेको थियो । 

मंगलबार भएको खेलमा अष्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ८५ रन बनायो । कप्तान एरोन फिन्चले शतक प्रहार गरे । जवाफमा उत्रिएको इंग्ल्यान्डले ४४.४ ओभर मात्र खेल्यो । सबै विकेट गुमाउँदा इंग्ल्यान्डले २ सय २१ रनको योगफल तयार पार्यो । बेन स्टोक्सले ८९ रन बनाए । अष्ट्रेलियाका जेसनले ५, मिसेल स्टार्कले ४ विकेट लिए । 

अष्ट्रेलियाले यो विश्वकपमा सात खेल्दा खेल्दा अंक तालिकामा आफ्नो स्कोर १२ पुर्याउँदै शीर्ष स्थानमा उक्लिएको छ । आठ अंकका साथ अंकतालिकामा रहेको इंग्ल्यान्डले अब भारत र न्युजिल्यान्डलाई हराएमा मात्र सेमिफाइनलमा आफ्नो स्थान पक्का गर्नेछ । 

एरोन फिन्चले यो विश्वकपमा आफ्नो दोस्रो शतक प्रहार गरे । इंग्ल्यान्डविरुद्ध विश्वकपमा यो उनको लगातार दोस्रो शतक हो । उनले सन् २०१५ मा पनि १३५ रनको पारी खेलेका थिए । खेलमा डेभिड वार्नर ५३ रन बनाएर आउट भए । उनले फिन्चसँग पहिलो विकेटका लागि १२३ रनको साझेदारी गरे । वार्नरपछि उस्मान ख्वाजा २३ रन बनाएर स्टोक्सको बलमा बोल्ड भए ।

मंगलबारको खेलमा ग्लेन म्याक्सवेलले खासै राम्रो खेल्न सकेनन् । उनी १२ रन मात्र बनाएर आउट भए । 

वार्नरले यो विश्वकपमा ५ सय रन बनाएका छन् । पाँच सय रन बनाउने उनी पहिलो ब्याट्सम्यान हुन् । उनले यो विश्वकपमा मात्र यो तेस्रो अर्धशतकको पारी खेलेका हुन् । उनले सात खेलमा ५ सय रन जोडेका छन् । योसँग बंगलादेशका शाकिब अल हसन अब सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा झरेका छन् । उनले ६ खेलमा ४ सय ७६ रन बनाएका छन् । 



इंग्ल्यान्डका ब्याट्सम्यान भने खेलमा खासै जमेनन् । यसअघि श्रीलंकासँगको खेलमा पनि उनीहरुले २ सय ३३ रनको लक्ष्य भेटाउन सकेका थिएनन् । इंग्ल्यान्डका रुट ८, इयान मोर्गन ४, जोेनी बेयरस्टो २७, जोस बटलर ३५, क्रिस वोक्स २६ रनमा सिमित भए । 



  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया