सर्वदलीय बैठक निष्कर्षविहीन, साउन २० गतेसम्मका लागि संसद् स्थगित

काठमाडौं– सभामुख कृष्ण बहादुर महराले संसदको अवरोध खुलाउने उद्देश्यले बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष टुंगिएको छ । बैठकमा दलहरूबीच सहमति जुट्न नसकेपछि बिहीबारका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । 

सभामुख महराले प्रतिनिधिसभाको बैठक साउन २० गते सम्मका लागि स्थगित गरेका छन् । सर्वदलीय बैठकमा सदन खुलाउनुपर्नेमा सबै दलहरू सकारात्मक भए सबैले आ–आफ्नो अडान नछाडेपछि सहमतिमा पुग्न सकेन । 

सर्वदलीय बैठकमा सत्तारुढ दलका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरुङ सहभागी थिए ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट संसदीय दलका उपनेता विजयकुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड र नेता मीनेन्द्र रिजाल सहभागी थिए । राजपाका तर्फबाट राजकिशोर यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्णलगायतको उपस्थिति थियो । 

प्रतिपक्षी कांग्रेसलगायतले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपा कार्यकर्ता सरोजनारायण सिंहको मृत्यु प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । नेपाली कांग्रेस र राजपाले असार २४ गते देखि सदन अवरूद्ध गर्दै आएका छन् ।

सरकारी पक्षले ती घटनामा प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै आएको छ । तर, प्रतिपक्षीले सरकारको दाबी गलत भएको भन्दै घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दै आएका छन् । 





  • प्रकाशित मिति : साउन १६, २०७६ बिहीबार १५:३२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया