क्रिस गेल इपिएलका लागि नेपाल ‘आउने’

काठमाडौं– एभरेष्ट प्रिमियर लिगमा विश्व चर्चित क्रिकेटर क्रिस गेल आउने सम्भावना निकै छ । आत्मकथाको शीर्षक नै ‘सिक्स मेसिन’ राखेका गेलले छक्का प्रहारमा अनेकौँ रेकर्ड राखेका छन् ।

तिनै गेल इपिएलको चौथों संस्करणका लागि नेपाल आउने सम्भावना ‘अत्यन्त बढी’ भएको हो । इपिएलका एक अधिकारीले गेलसँग अहिले कुराकानी भइरहेको र उनी ‘आउँछन्’ भन्ने सोच्दा हुने बताए । 

१४ मार्चमा सुरु हुने इपिएलको चौथौं संस्करण कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुँदैछ । 

त्यसो त आयोजकले इपिएलको यो संस्करणमा प्रत्येक टिममा कम्तिमा पनि एकजना खेलाडी टेस्ट राष्ट्रको हुनु पर्ने नियम बनाएको छ । यो नियम सार्वजनिक भएलगत्तै क्रिकेट खेल्नकै लागि गेल नेपाल आउने हल्ला चल्न थालेको हो । 

गेल नेपाल आउने हल्लालाई वास्तविकता हुनसक्ने संकेत गरेका छन्, इपिएलका प्रमुख आमिर अख्तरले पनि । 

‘गेलसँग कुराकानी भइरहेको छ,’ फरकधारसँगको कुराकानीमा अख्तरले भने, ‘दुई तीन चरणमा संवाद भइरहेको छ । तर, हामीले आधिकारिक सम्झौता गरिसकेका छैनौँ । त्यसैले अहिले नै गेल आउँछन् वा आउँदैनन् भन्न सकिँदैन तर उनी आउने सम्भावना नभएको चाहिँ होइन ।’



गेलसँगको कुराकानी अत्यन्त सकारात्मक भएको र गेल आउने सम्भावना झन्डै शतप्रतिशत भएको आमिरले बताए । 

गेललाई नेपाल ल्याउनका लागि जुन फम्र्यालिटिजहरु छन्, त्यसमा काम भइरहेको आमिरले जानकारी दिए । ‘आउने भन्ने संवाद भइरहेको छ तर त्यसमा सम्झौता भइसकेको छैन, पेपर वर्क गरेर नै सम्झौता गर्नका लागि अरु विषयहरु पनि हुन्छन्,’ आमिरले भने, ‘हामी त्यसमा लागिरहेका छौँ । केही दिनमा नै यसबारे टुङ्गो लाग्छ ।’



आमिरले गेलसँगै अन्य केही अन्तर्राष्ट्रिय खेलाडीहरुसँग पनि कुराकानी भइरहेको बताए । 

‘औपचारिक रुपमा हामीले यसबारे केही भनेका छैनौँ किनकि गेलसँग लिखित सम्झौता हुन बाँकी नै छ,’ उनले भने, ‘हामीले उनलाई ल्याउने टार्गेट पनि गरिरहेका छौँ । र, हाम्रो कुराकानी निकै म्याचुएर्ड भइसकेको छ । अब कन्ट्र्याक्ट गर्न मात्र बाँकी छ ।’

४० वर्षका वेस्ट इन्डिजका गेलले उत्कृष्ट लिगहरु खेलिसकेका छन् । इन्डियन प्रिमियर लिग, बिग ब्यास, पाकिस्तान प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, क्यारेवियन प्रिमियर लिगजस्ता लिगहरुमा उनी पहिलो रोजाइमा पर्ने खेलाडी पनि हुन् । 

गेलले एक दिवसीय क्रिकेटमा सन् १९९९ सेप्टेम्वर ११ मा भारतविरुद्ध डेब्यु गरेका थिए भने अन्तिम खेल सन् २०१९ अगस्ट १४ मा भारतविरुद्ध नै खेलेका थिए । 

वेस्ट इण्डिजका लागि एक दिवसीय क्रिकेटमा ३०१ अन्तराष्ट्रिय खेल खेलेका गेलले ३७.८३ को औसतमा मा १०,४८० रन प्रहार गरेका छन् । जसमा २५ शतक तथा ३४ अर्धशतक सामेल छन् । वान डेमा गेलको स्ट्राइक रेट ८७.२ छ । 

गेलले टेस्ट क्रिकेटमा सन् २००० मार्च १६ मा जिम्वावेविरुद्धको खेलबाट डेब्यु गरेका थिए । उनले अन्तिम टेस्ट क्रिकेट सन् २०१४ सेप्टेम्बरमा  बङ्गलादेशविरुद्ध खेलेका थिए ।   

गेलले टेस्ट क्रिकेटमा १०३ खेलबाट ७,२१५ रन प्रहार गरेका छन् । जसमा १५ शतक तथा ३७ अर्धशतक सामेल छन् । ३३३ रन क्रिस गेलको टेस्टमा उत्कृष्ट पारी हो । टेस्टमा उनको औसत ४२.१९ तथा स्ट्राइक रेट ६०.३ छ ।

गेलले सन् २००६ फेब्रुअरी १६ मा न्युजिल्याण्डविरुद्धको खेलबाट डेव्यु गरेका थिए भने अन्तिम टि २० सन् २०१९ अगस्ट १४ मा इङ्गल्याण्डविरुद्ध खेलेका थिए । 

गेलले टि २० मा वेस्ट इण्डिजका लागि ५८ खेलमा १,६२७ रन प्रहार गरेका छन् । ११७ रन गेलको टि २० अन्तराष्ट्रियमा उत्कृष्ट पारी हो । गेलले  टि २० मा २ शतक तथा १३  अर्धशतक सामेल छन् । गेलको टि २० मा  ३२.५२ औसत तथा १४२.८ को स्ट्राइक रेट छ । 

गलले वेस्ट इण्डिजका लागि टेस्ट क्रिकेटमा ७३, एक दिवसीय अन्तर्राष्ट्रियमा १६७ तथा टि २० अन्तर्राष्ट्रियमा १७ विकेट पनि लिएका छन् ।

  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार २०:०:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया