काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ )ले फ्रेन्ड्स क्लबमाथि ५–२ को सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफले १२औँ मिनेटमा आशिष लामाको गोलबाट अग्रता लिएको थियो । त्यस्तै, आशिषले नै ४०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा दुई गोलले पछि परेको फ्रेन्ड्सले दोस्रो हाफमा आपूmलाई खेलमा फर्काउने प्रयास गरेको थियो ।
खेलको ६९औँ मिनेटमा फिलिपे डि सौजाले गोल गर्दै फ्रेन्ड्सलाई २ –१ स्थितिमा ल्याएका थिए । तर, ७१औँ मिनेटमा एपिएफका प्रविनकुमार स्याङतानले गोल गर्दै खेललाई ३–१ को स्थितिमा पुर्याए ।
खेलको ७६औँ मिनेटमा विश्व अधिकारीले गोल गर्दै फ्रेन्ड्सलाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनको गोलमा फ्रेन्ड्स ३–२ स्थितिमा आएको थियो ।
तर थप गरिएको समयमा १ मिनेटभित्र दुई गोल खाएपछि फ्रेन्ड्सको खेलमा फर्कने सम्भावन पूर्ण रुपमा बन्द भएको थियो ।
थप गरिएको समयको चौथो मिनेटमा टोपबहादुर विष्टले तथा पाँचौँ मिनेटमा प्रविनकुमार स्याङतानले गोल गर्दै एपिएफको जित पक्का गरेका थिए । एपिएफका आशिष लामा खेलको उत्कृष्ट खेलाडी घोषित भए ।
आजको जितपछि एपिएफको रेलिगेसन सम्भावना केही हदसम्म टरेर गएको छ भने फ्रेन्डको शीर्ष ६ मा उक्लने लक्ष्यमा पनि धक्का लागेको छ ।
एपिएफ १२ खेलबाट ८ अंकको साथमा लिगको तेह्रौँ स्थानमा छ भने फ्रेन्ड्स समान खेलबाट १४ अंकको साथमा नवौँ स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।