भारतले भन्यो– नेपालले विश्वासको वातावरण बनाओस्, वार्ता गर्न तयार छौँ
नेपालकाे नयाँ नक्सा ।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेको भारतले अब नेपालले गरेको सचिवस्तरीय वार्ताका लागि सकारात्मक सन्देश दिन थालेको छ । तर, उसले यसका लागि पनि सर्त राखेको छ । 

भारतले दुई देशबीच पहिले विश्वासको वातावरण बनेमात्र आफूहरु वार्तामा बस्ने जनाएको छ । 

यसअघि भारतमा संविधानको अनुच्छेद ३७० हटाएपछि भारतले नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । त्यति बेला नै नेपालको लिम्पियधुरालाई भारतले आफ्नो भूमिमा समावेश गरेको थियो । 

अब नेपालले पनि भारतलाई आफ्नो नयाँ नक्सा जारी गरेर जवाफ दिएको छ ।

योसँगै नेपाल र भारतको कालापानी सीमाबारे विवाद बढेको छ ।

भारतीय पत्रिका टाइम्स अफ इन्डियामा छापिएको एक समाचारअनुसार अब भारतले वार्ताका लागि सकारात्मक जवाफ दिन थालेको हो । यसअघि भारतले नेपालले गरेका प्रयासलाई अस्वीकार गर्दै मात्र आएको थिएन, बेवास्ता पनि गरिरहेको थियो ।



भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले अहिले भारतले नेपालले लिएको अडानमा गम्भीर भएर विचार गरिरहेको बताएको छ ।

श्रीवास्तवले भनेका छन्, ‘भारत विश्वासको वातावरणमा आपसी संवेदनशीलताको आधारमा आफ्ना सबै छिमेकी देशसँग वार्ता गर्न तयार छ । यो एक प्रक्रिया हो र यसका लागि सकारात्मक प्रयासको आवश्यकता रहेको छ ।’



समाचारअनुसार श्रीवास्तवले भारत–नेपाल ऐतिहासिक तथा गहिरो सम्बन्धको विषयमा पनि कुरा गरेका छन् । उनले भारतले नेपाललाई कोभिड १९ को महामारीमा पनि जरुरी औषधी दिइरहेको बताएका छन् ।

त्यसो त नेपालले गत नोभेम्बर देखि नै भारतसँग यो विषयमा वार्ता गर्ने तयारी गरेको थियो । तर, नेपालको प्रस्तावलाई भारतले बारम्बार बेवास्ता गर्दै आएको छ ।

  • प्रकाशित मिति : जेठ १६, २०७७ शुक्रबार ११:२४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया