logo-img

तीतेपातीबाट तेल उत्पादन सुरु, लिटरको १० हजारमा बिक्री
सांकेतिक तस्बिर

पाल्पाको तिनाउ गाउँपालिकामा तीतेपातीको तेल उत्पादन सुरु गरिएको छ । करिब १५ वर्षअघि नै तेल उत्पादनका लागि उद्योग स्थापना गरिएको भए पनि प्रभावकारी ढङ्गले चल्न सकेको थिएन । स्थानीय जडीबुटी सहकारी संस्थाले झुम्सामा तितेपातीको तेल उत्पादन सुरु गरेको सहकारीका अध्यक्ष झपेन्द्र जिसीले जानकारी दिए ।

उनले आगोमा पानी तताई त्यसको बाफबाट मेसिनको प्रयोग गरी तीतेपातीको तेल निकाल्न थालिएको तर प्रविधिको सहयोग पाएमा काम छिटो छरितो र प्रभावकारी हुने हुँदा सरकारले यसको व्यवस्थापन गर्नुपर्ने बताए ।

सहकारीले करिब चार रोपनी जग्गामा तीतेपाती लगाएको छ । तेल उत्पादनका लागि १५ लाख रुपैयाँको सानो मेसिन जडान गरिएको जिसीले बताए । उनले यसबाट काम गर्न समस्या भएकाले ठूलो मेसिन स्थापना गरेर पाल्पामा पाइने अदुवा, बेसार तथा अन्य जडीबुटीसमेत प्रशोधन गर्न सकिने सुनाए ।

सहकारीले गाउँटोलमा पाइने तीतेपातीलाई प्रतिकिलो रु आठ मा खरिद गर्दै आएको छ । पाखो जग्गामा रहेको तीतेपातीबाट स्थानीयस्तरमा समेत स्वरोजगार सिर्जना हुने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । पाँच क्विन्टल तीतेपाती एक पटकमा पेल्दा एक लिटर तेल निस्कन्छ । एक लिटर तेललाई रु १० हजारसम्ममा बिक्री गर्न सकिन्छ ।

पाल्पामा पनि बेसार, अदुवा, तेजपातलगायतबाट समेत मनग्य आम्दानी लिन सकिने सहकारी संस्थाले जनाएको छ । गाउँघरमा प्रशस्तै औषधिजन्य जडीबुटी पाइए पनि यसको प्रशोधन सुविधा नहुँदा र महत्त्व नचिन्दा ओझेल परेकामा अब सहकारीले प्रशोधन यन्त्र उपलब्ध भएमा अन्य जडीबुटीलाई पनि प्रशोधित गर्ने र विदेशमा समेत निर्यात गरेर राम्रो आर्थिक उपार्जन गर्ने योजना बनाएको छ ।

सहकारीले नेपालमै उदाहरणीय कार्य गरेको स्थानीयको दाबी छ । बाँदर, बँदेल, दुम्सीलगायत जङ्गली जनावरले खेती खाइदिएर हैरान परेका पाल्पाली कृषकमा जङ्गल, खेतबारीमा समेत राम्रोसँगै फैलिनसक्ने तितेपातीबाटै पनि राम्रो आम्दानी गर्न सक्ने आशा पलाएको छ । सहकारीका सदस्य बुद्धिराज गौतमले फ्याँकिएका बिरुवाबाट पनि आम्दानी लिन सकिन्छ भन्ने ज्वलन्त उदाहरण तीतेपातीको तेल निकाल्ने कार्य बनेको बताए । संस्थाले अहिले सात जनालाई रोजगारीसमेत दिएको छ । विसं २०५६ मा स्थापना गरिएको संस्थामा १ सय ६५ सेयर सदस्य छन् ।





  • प्रकाशित मिति : साउन २२, २०७७ बिहीबार १८:३६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया