आन्तरिक हवाई सेवामा यात्रु बढे, कम्पनीहरूबीच प्रतिष्पर्धा
फाइल तस्बिर

सरकारले पूर्ण क्षमतामा सेवा सञ्चालन गर्न र उडान संख्या थप्न दिएपछि वायुसेवा कम्पनीहरूबीच भाडादरमा प्रतिष्पर्धा हुने देखिएको छ ।

हवाई सेवाहरू बीचको तानातानमा भाडादर घट्दा यात्रुका लागि भने टिकट दर सस्तिन सक्छ ।

उडान संख्या बढाइएपछि औसतमा बढेको यात्रु संख्याले गत बिहीबारदेखि हवाई सेवा कम्पनीहरूले फाइदा गर्न सुरू गरेका छन् । आन्तरिक उडानमा अग्रणी बुद्ध र यती एयरले सबै उडान यात्रुले खचाखच हुन थालेको जनाएका छन् । यात्रु संख्या उल्लेख्य हुन थालेपछि हवाई भाडादर समायोजन हुने व्यवसायीहरूले प्रक्षेपण गरेका छन् ।

‘अब बसकै जत्तिको भाडादरमा हवाई भाडादर निर्धारण हुने देखिएको छ । धनगढीका लागि उडान ४ हजार ५ सय रुपैयाँमा झरिसकेको छ। भैरहवा २ हजार ५ सय रुपैयाँमा सुरु भइसकेको छ । यात्रु लाभान्वित हुने एउटा सकारात्मक पक्ष छ । तर हामीलाई त उडान सञ्चालन खर्च उठाउन मुस्किल हुने देखिएको छ,’ एक सञ्चालकले भने ।

लामो बन्दाबन्दीले ठूलो नोक्सानी खेपेका कम्पनीहरू हतारिएर मूल्य समायोजनमा उत्रिनु व्यवसायका लागि घातक हुने उनको तर्क छ। ‘धेरै घट्न गए सञ्चालन खर्च नै धान्न सकिँदैन। त्यो जोखिम पनि हिसाब गरेरमात्रै हिँड्नुपर्छ ।’ 

बुद्ध, यती, श्री, सीता र समिट लगायत निजी वायुसेवा कम्पनीले उडान संख्या बढाएका छन् । 



बिहीबारदेखि थप १९ वटा उडान थपिँदा दैनिक २९ वटा उडान सुरु भएको बुद्ध एयरले जनाएको छ । सबै उडानमा यात्रु संख्या उल्लेख्य रहने गरेको छ । ‘२९ वटा उडानमार्फत कम्पनीले बिहीबार मात्र ३ हजार ३२० जनालाई सेवा दिएको छ,’ कम्पनीका प्रवक्ता रुपेश जोशीले भने, ‘उडान खुलेको पहिलो चरणको तुलनामा यात्रु संख्या केही कम भए पनि चहलपहल उल्लेख्य छ । प्राय विराटनगर र भद्रपुर लगायतको गन्तव्यमा यात्रुको चाप छ ।’ 

काठमाडौं-विराटनगरका लागि ३७ सय रुपैयाँसम्म भाडादर कायम गरेका कम्पनीले आउँदो दिन ३ हजार रुपैयाँ निर्धारण हुने प्रक्षेपण गरिएको छ।



कम्पनीले सार्वजनिक प्याकेजका लागि पछिल्लो समय पोखरा भ्रमणका लागि बुकिङ सुरु हुन थालेको उनले जानकारी दिए । उनका अनुसार हालसम्म पोखरा भ्रमणका लागि पाँच वटा बुकिङ भइसकेका छन् । 

विभिन्न गन्तव्यमा दैनिक १५ उडानको अनुमति पाएको श्री एयरलाइन्सले शनिबारदेखि उडान गन्तव्य थप्ने योजना रहेको प्रवक्ता अनिल मानन्धरले बताए । आन्तरिक उडान खुलेदेखि दैनिक धनगढी र नेपालगञ्ज उडान सुचारु गरेको श्रीले शनिबारदेखि नेपालगञ्ज र धनगढीसँगै भैरहवा, विराटनगर र भद्रपुर लगायत गन्तव्यमा उडान गर्ने योजना रहेको उनले जानकारी दिए ।

श्रीले आगामी सातादेखि काठमाडौं-सिमराका लागि भने उडान गर्ने योजना बनाएको छ। 

दैनिक १९ वटा उडान अनुमति पाएको यती एयरलाइन्सले बिहीबार विभिन्न गन्तव्यका उडानमार्फत १ हजार ६२० यात्रुलाई सेवा दिएको जनाएको छ ।

आउँदो सातादेखि सिमराका लागि पनि नियमित उडान गर्ने योजनामा यती एयर छ । यतीले काठमाडौं(पोखरा उडानका लागि यतिखेर १ हजार ८५० रुपैयाँ भाडा निर्धारण गरेको छ भने भरतपुरका लागि २ हजार ८५० रुपैयाँ निर्धारण गरेको छ ।

यतिबेला सार्वजनिक सेवाका बसहरूमा लामो दुरीको यात्रा गर्नेहरू निकै कम छन् । स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइसँगै यात्रु आफैं कोरोनाको त्रासमा रहेकाले सडक यातायातको प्रयोग घट्दा हवाई सेवामा चाप देखिएको हो । दसैंका लागि बसको टिकट बुकिङका लागि गोंगबुस्थित नयाँ बसपार्कमा यसपटक भीड नदेखिनुले पनि हवाइ सेवा प्रयोगकर्ता बढेको पुष्टि गर्छ ।

उडान संख्या थपेका कम्पनीहरूले पूरै सिट संख्याअनुसार उडान सञ्चालन गर्न यात्रुलाई आकर्षक अफर ल्याउनै पर्ने अनुभव गरिरहेका छन् ।

  • प्रकाशित मिति : असोज १७, २०७७ शनिबार १५:२१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया