नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको अनसनको समर्थनमा आइतबार देशभरका स्वास्थ्य संस्थामा अत्यावश्यक तथा कोभिड १९ बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले आइतबारसम्म डा. केसी माग सम्बोधन नगरेमा यो आन्दोलन गर्ने चेतावनी चिकित्सक संघले दिएको हो ।
डा. केसीले चिकित्सा शिक्षा तथा क्षेत्रमा सुधारको माग गर्दै अनसन बसेको २७ दिन भएको छ ।
बुधबार चिकित्सक संघले एक विज्ञप्ति जारी गर्दै अस्पतालहरु ठप्प पार्ने घोषणा गरेको हो । डा. केसीका मागप्रति सरकार गम्भीर नभएमा आन्दोलनका थप कडा कार्यक्रममा जान बाध्य हुने संघले जनाएको छ ।
यसअघि संघले केसीसँग वार्ता गर्न सरकार तयार भएको र वार्ता सकारात्मक भएको भन्दै यसअघिका आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो ।
तर, शनिबार वार्ताका लागि बनेको डा. केसीको समूहले सरकार गम्भीर नभएको भन्दै विज्ञप्ति प्रकाशन गरेको थियो । लगत्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर डा. केसीलाई अनसन स्थगित गर्न अनुरोध गरेको थियो ।
चिकित्सा शिक्षा तथा यो क्षेत्रमा सुधारको माग गर्दै डा. केसी अनसन बसेको यो १९ औं पटक हो । हुम्लाबाट सुरु भएको डा. केसीको यो अनसन आज २७ औं दिनमा चलिरहेको छ । अहिले डा. केसी महाराजगन्जस्थित शिक्षण अस्पतालमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।