भारतमा विगत २४ घण्टामा थप ५५ हजार ८३८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या ७७ लाख पुगेको छ ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हाल ७ लाख १५ हजार ८१२ जना सक्रिय संक्रमित रहेका छन् ।
विगत २४ घण्टामा ७०२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाको संक्रमणबाट कुल १ लाख १६ हजार ६१६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयले भारतमा कुल जनसंख्यामा संक्रमित हुने व्यक्तिको अनुपात विश्वमै सबैभन्दा न्यून रहेको पनि जनाएको छ । साथै कोरोना संक्रमितको मृत्यु हुने औसत दर समेत विश्वका अन्य मुलुकको भन्दा कम रहेको मन्त्रालयले जनाएको छ ।
भारतमा विगत सात दिनको तथ्याँक विश्लेषण गर्दा प्रति १० लाख व्यक्तिमा विश्वमा ३२१ जनामा कोरोना संक्रमण देखिएकामा भारतमा २९७, ब्राजिलमा ६९२, स्पेनमा ८१९ र संयुक्तराज्य अमेरिकामा १ हजार १९५ मा कोरोना देखिएको छ ।
यसैगरी विश्वमा प्रति १० लाख जनसंख्यामा औसतमा १४३ जनाको मृत्यु भइरहेकामा भारतमा ८४, रसियामा १६९, फ्रान्समा ५११, बेलायतमा ६४४ र संयुक्तराज्य अमेरिकामा ६६० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
भारतीय महाराष्ट्र राज्य कोरोना संक्रमणको सबैभन्दा उच्च जोखिममा रहेको छ । यहाँ ४२ हजार ६३३ जनाको मृत्यु भइसकेको छ भने १४ लाख १५ हजार व्यक्ति निको भएका छन् ।
कर्नाटक राज्यमा १ लाख व्यक्ति सक्रिय संक्रमित रहेकामा ६ लाख ७१ हजार निको भएका छन् भने १० हजार ६९६ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ९ करोड ८७ लाख नमुना परीक्षण गरेको जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।