कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रशारण लाइनको सर्भे

कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रशारण लाइनको सर्भे सुरु भएको छ । एक महिना भित्रमा सक्ने गरी आयोजनाको काम अघि बढाइएको हो । आयोजना प्रमुख रवीकुमार चौधरीले ‘कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रशारणको पहिलो चरणको काम सुरु भएको र एक महिनाभित्रै सर्भेको काम सकिने जानकारी दिए । सर्भे सकिएपछि आयोजनाले कटान गरिने रूखको संख्या गणना गरिने उनको भनाइ छ । 

त्यसपछि वन तथा वातावरण मन्त्रालयले रूख कटान अनुमतिका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस लैजानेछ । मन्त्रिपरिषद् बैठकले रूख कटानको स्वीकृति दिएपछि आयोजनाले रूख काट्ने काम सुरु गर्नेछ । कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रशारण लाइन विस्तार गर्दा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग समन्वय गरेर रूख कटान गरिने छ ।

प्रारम्भिक अध्ययनअनुसार लाइन विस्तार गर्दा सात हजारभन्दा बढी रूखहरू कटान हुने अनुमान गरिएको छ । आयोजनाले गएको असार २२ गते भारतीय निर्माण कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’लाई प्रसारण लाइनको ठेक्का दिएको छ । झण्डै ७० करोड लागतमा आयोजनाले निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।

निर्माण कम्पनीले विद्युत् लाइन प्रशारणका लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरिद लगायतका सम्पूर्ण काम दुई वर्षभित्र गरिसक्नु पर्ने सम्झौतामा उल्लेख छ । 

यस अघि सुर्खेतसहित कर्णाली प्रदेशमा १३२ केभिए विद्युत् लाइन विस्तारका लागि ‘कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रशारण लाइन’ आयोजनाले काम थालेको थियो । २०४५ सालमा नेपाल विद्युत् प्राधिकरणले सुर्खेतमा १३२ केभिए विद्युतलाई विस्तार गर्ने योजना बनाएको थियो । तर, लामो समयसम्म विद्युत् लाइन विस्तारको काम अघि बढ्न सकेको थिएन । झण्डै ३२ वर्षपछि आयोजनाको काम अघि बढेको हो । 

प्रारम्भिक अध्ययन अनुसार कोहलपुरदेखि सुर्खेतसम्म कुल १४५ वटा पोल रहने छन् । जसमा २६ वटा एंगल टावरहरूको प्रस्ताव गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन प्रसारण लाइनको ७०.५४५ भाग वनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाँझो जमिन, तथा ११.०६५ अन्य भागले ओगटेको छ ।



आयोजना कार्यान्वयन गर्दा कुल ९८.०५७९ हेक्टर जग्गामा टावर निर्माण, सव–स्टेसन तथा क्षेत्राधिकारका लागि आवश्यक पर्नेछ । जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सव–स्टेसन निर्माणका लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणका लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गरिनेछ ।

आयोजनाको कुल लम्बाइ करिब ५१.४६२ किमि डबल सर्किटको रहने प्रस्ताव गरिएको छ । हाल सुर्खेतसहित कर्णालीमा ३२ केभिए विद्युत्लाई लाइन सञ्चालनमा छ ।



  • प्रकाशित मिति : मंसिर २८, २०७७ आइतबार १२:२५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया