भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएको छ । योसँगै यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५५ हजार ८० पुगेको छ ।
भारतमा धेरै समयपछि गत दुई दिनयता कोरोना सङ्क्रमणका कारण एक दिनमा १०० भन्दा कम मानिसको मृत्यु भएको छ ।
गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५८ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ११ हजार ८३१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ८ लाख ३८ हजार १९४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।
मन्त्रालयको पछिल्लो विवरणमा भारतमा १ करोड ५ लाख ३४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा १ लाख ४८ हजार ६०९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभरि २० करोड १९ लाख ६१४ हजारको हाराहारीमा नमुना परीक्षण गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।