‘राजनीतिले जनता लाभान्वित हुनुपर्छ : जनताका हातमा लड्डु हुनुपर्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृत भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र वदनियतपूर्ण भने पनि आन्दोलनमा जाने कुरामा भने भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महाधिवेशनको मिति तय गरेको छ । यसै सेरोफेरोमा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग न्यूज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न सकेन । के अब कांग्रेस संवैधानिक संकट तर्फ उन्मुख हुँदै गएको हो ?

केही संकटमा गएको छैन । संविधानले नै दिएको व्यवस्था हो । त्यो व्यवस्थालाई हामीले सहज रुपमा उपयोग गर्न सक्छौं । फागुन ७ गतेको कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न गर्न कोभिड १९ का करण असमर्थ भयौं । त्यसमा पनि करिब ५ महिना त लकडाउन र निषेधाज्ञाको अवस्थाबाट देश गुज्रियो । 

लकडाउनको समयमा सम्पूर्ण जनता नै घरमा बन्दी भएको अवस्थामा नेपाली कांग्रेसको विभिन्न निकायहरु सक्रिय हुने अवस्था थिएन । त्यो समय हामीले गुमायौँ ।

त्यसैले फागुन ७ गते महाधिवेशन सम्पन्न गर्न सकिएन । अब हामीले थप ६ महिनामा अधिवेशन सम्पन्न गर्नका लागि उपयोग गर्नुपर्ने छ । 

त्यसमा पनि संसद विघटनपछि हाम्रो पार्टीले निरन्तर विरोधको शृङ्खला सञ्चालन गर्‍यो, त्यसले माघभित्र सक्रिय सदस्यता पार्टीलाई बुझाउने समयावधि तोकिएका जिल्लाबाट  सदस्यता आउन सकेन । हामी समयावधि थप गर्न बाध्य भयौं । सक्रिय सदस्यता आइसकेपछि छानबिनको प्रक्रिया आउँछ । छानबिनको प्रक्रिया सम्पन्न भएर पार्टी सभापतिले हस्ताक्षर गरेर क्रियाशील सदस्यता सार्वजनिक गरेपछि अधिवेशन अगाडि बढ्छ । महाधिवेशनको समय भदौ ७ गतेलाई निर्धारित गरेका छौं । 



त्यसो भए भदौ ७ गते नेपाली कांग्रेसको महाधिवेशनको अन्तिम डेडलाइन हो ? 

होइन, हाम्रो समय सकिनेभन्दा केही अगाडि नै महाधिवेशनको मिति तोकेका छौं । 



कोभिड लगत्तै प्रतिनिधिसभाको विघटनमा जानु पर्‍यो भन्नुभयो । तर, कांग्रेस आन्दोलनमा हो कि चुनाव प्रचारमा हो ? 

नेपाली कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो । जनताबाट अनुमोदित नभइकन सत्तामा जाने कुरालाई कहिल्यै पनि नेपाली कांग्रेसले स्वीकारेको छैन । त्यो हाम्रो सिद्धान्त, विचार हो । जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरूका लागि स्वाभाविक हुनसक्छ तर नेपाली कांग्रेसका लागि हुँदैन । त्यसो हुनाले जनतामा जाने, देशको वस्तुस्थितिका बारेमा जनतालाई सुसूचित गर्ने कुराहरु महत्त्वपूर्ण हुन् । नेपाली कांग्रेसले यस अर्थमा विकेन्द्रीकृत आन्दोलन गर्‍यो । 

हामीले जनतालाई खर्च गरेर काठमाडौं आउ भन्नुको सट्टा जिल्ला जिल्लामा वडा वडामा आन्दोलन गर्दा अहिलेको समसामयिक राष्ट्रिय विषय, संसद विघटनको विषय, तीन वर्षको कुशासनको विषय आम जनतामा पुर्‍याउन सफल भयौं ।

त्यसैले हामीले सञ्चालन गरेको विरोधका कार्यक्रममा जनताको स्वतस्फूर्त सहभागिता थियो । अरु दलले जस्तै खर्च गरेर ओहोर–दोहोर गराउने विकृति हामीले गरेनौं । खास गरी कम्युनिस्ट पार्टीको दुवै घटकले समर्थन र विरोधमा गरे जस्तै हामीले गरेनौं । यद्यपि यसमै हामी रोकिन्छौं भन्ने होइन । विरोधका ठूला कार्यक्रमहरु पनि हामी गर्न सक्छौं । त्यो गर्दा पनि जनताको स्वतस्फूर्त सहभागितालाई प्राथमिकतामा राख्छौँ । 

सभापति शेरबहादुर देउवा विरोध सभामा अथवा सञ्चार माध्यममा बारम्बार अदालतको निर्णयलाई कुरौँ भन्नुहुन्छ र कार्यकर्तालाई तपाईंहरु चुनावको तयारीमा लाग्नुहोस् भन्ने अभिव्यक्ति दिनुहुन्छ । यसले त कसरी आन्दोलन गरेको भयो ?

अदालतले विघटनलाई सदर गरेर निर्वाचनमा जाऊ भन्यो भने हामी तयारी बिनाको अवस्थामा रहने कुरा हुँदैन । जुनसुकै बाटो अदालतले निर्देश गर्छ त्यसका लागि हामी तयार हुनुपर्छ भन्ने पनि लागेको छ ।

यस अर्थमा पनि सभापतिले पुन:स्थापना होस् त्यसलाई पनि सहज रुपमा हामी स्वीकार गर्छौं र निर्वाचनमा जाने स्थिति आयो भने अदालतले त्यो किसिमको बाटो तय गर्‍यो भने त्यो निर्णयलाई हामी अवज्ञा गर्न सक्दैनौं । जनतामा गएर फेरि नयाँ जनादेश लिएर संसद स्थापना गर्ने कुरालाई हामीले अवमूल्यन गर्न सक्दैनौं भन्ने सभापतिको भनाइ उपयुक्त नै हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुन:स्थापनामा जोड दिनुभएको छ, तर सभापति देउवाले चुनावलाई जोड दिनुभएको छ किन दुई धारमा ? 

व्यक्तिगत रुपमा कुन नेताले के भन्नुभयो त्यो महत्त्वपूर्ण कुरा होइन । नेपाली कांग्रेस केन्द्रीय समितिले सर्वसम्मतिले के पारित गरेको छ त्यो महत्त्वपूर्ण हो । केन्द्रीय समितिले प्रतिनिधिसभा विघटन असंवैधानिक हो र असंवैधानिक निर्णयविरुद्धमा हामी विरोधका कार्यक्रमहरु गर्छौं । जनताको तहसम्म पुग्छौं भन्ने महत्त्वपूर्ण हो । त्यसैमा पार्टी हिँडेको छ ।

सभापतिले अदालतको निर्णय जसरी आउँछ दुईवटै परिस्थितिका लागि हामी तयार हुनुपर्छ र पुन:स्थापना नै भए पनि ढिलो चाँडो जनतामै जानुपर्छ अब डेढ वर्ष पछाडि हामी निर्वाचनमै जानुपर्छ भनेपछि त जनताको नयाँ जनादेश त महत्त्वपूर्ण कुरा हो । किन भने यो तीन वर्षे सरकार असफल भइसक्यो, फेल भइसक्यो ।

जनतालाई हिजो गरेको बाचा बन्धन उहाँहरुले पूरा गर्न सक्नु भएन । उल्टो दिशामा हिँडनुभयो । भन्ने कुरा जनताले महसुस गरिराखेका छन् र जनता नयाँ जनादेश दिनका लागि आतुर छन् ।

त्यो अवस्थामा त्यस्तो परिस्थिति आयो भने अहिले त हामी निर्वाचनमा जान्नौं भन्ने कुरा जनता र लोकतन्त्रमा विश्वास गर्ने पार्टीले नकार्न सक्दैन तर कथम कदाचित सत्तामा बस्नेहरुले त्यसलाई नकार्ने, आलटाल गर्ने काम गर्न खोज्यो भने त्यसकै विरुद्ध फेरि नेपाली कांग्रेस खनिन्छ । त्यो कुरा पार्टी सभापतिले आमसभामा र पार्टी बैठकहरूमा भन्नुभएकै छ । 

संवैधानिक सर्वोच्चतालाई कांग्रेसले स्वीकार गर्दैगर्दा सर्वोच्चको निर्णयलाई सडकबाट दबाब दिन हुन्छ कि हुँदैन ? 

हामी आफ्नो दृष्टिकोण सार्वजनिक गर्न पाउने हाम्रो अधिकार छ । हाम्रो बुझाइमा संविधानका सबै स्टेप पूरा नगरिकन प्रतिनिधिसभा विघटन भयो । तर त्यसको अन्तिम निर्णय गर्ने अधिकार संविधानले नै सर्वोच्च अदालतलाई दिएको छ । यदि हामी संविधानको कुरा गर्छौं भने फेरि अर्को पाटो संविधानले नै गरेको व्यवस्थालाई पनि हामीले नकार्न सक्दैनौं ।

त्यसो हुनाले हामीले सर्वोच्च अदालतको फैसलालाई पनि अस्वीकार गर्न सक्दैनौं । हाम्रो मतभिन्नता हुनसक्छ । सर्वोच्चको निर्णय यस्तो नहुनुपर्ने भन्ने लाग्न सक्छ । तर, त्यो निर्णयलाई हामी मान्दैमान्दैनो भन्न हामी सक्दैनौं । त्यसो हुनाले हाम्रो दृष्टिकोण स्पष्ट छ । त्यो दृष्टिकोण भनेको केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको दृष्टिकोण हो, त्यसमा हामी कडा हुन्छौं । त्यसैले कुनै नेताले यसो भए हुन्थ्यो भन्नेमा हाम्रो झुकाव होला तर पार्टीको मूल निर्णयलाई हामीले आधिकारिक दृष्टिकोण मान्नुपर्छ । 

राजनीतिक दलहरुले सत्तामा जाने कुरालाई आफ्नो लाभको रुपमा स्वाभाविक रुपमा हेरि नै हाल्छन् । अहिले कांग्रेस दुवै हातमा लड्डुको अवस्थामा हो ? 

यो लड्डुको कुरै होइन । यो कसले भन्यो मलाई थाहा छैन । दुवै हातमा लड्डु भन्ने कुरालाई म खारेज गर्छु । मूल कुरा जनताको हातमा लड्डु हुनुपर्छ । भनेको मतलब जनता लाभान्वित हुनुपर्छ । जनताप्रति प्रतिबद्ध लोकतान्त्रिक व्यवस्था, संवैधानिक व्यवस्था हो । जनताको आवश्यकता पीर मर्का, जनताको भावनालाई हामीले बेवास्ता गर्न मिल्दैन । 

त्यसकारण पार्टीको हातमा लड्डु हुन्छ कि हुँदैन ? कुन पार्टीको हातमा लड्डु हुन्छ ? कसको हातमा लड्डु हुन्छ ? त्यो महत्त्वपूर्ण कुरा होइन । मूल कुरा जनता मजबुत हुन्छन् कि हुँदैनन्, जनता अधिकार सम्पन्न हुन्छन् कि हुँदैनन् ? जनताको आवश्यकता, पीर मर्का प्रति सत्ता संवेदन छ कि छैन ? त्यो महत्त्वपूर्ण कुरा हो । त्यसकारण अहिले हाम्रो निष्कर्ष के हो भने तीन वर्षको कम्युनिस्ट शासनकाल गफमय भयो कुरामय भयो काममा पटक्कै ध्यान दिनुभएन ।

राज्यको साधन स्रोत संयन्त्रलाई व्यापक चरम दुरुपयोग र सत्तालाई मात्रै केन्द्रमा राख्ने काम उहाँहरुले गर्नुभयो । त्यस अर्थमा यसको हामीले विरोध गरेका छौं ।

त्यसकारण तपाईले हेर्नुभयो भने हाम्रो विरोधको प्रकृति र कम्युनिस्ट पार्टी प्रचण्ड–माधव पक्षकोमा के फरक छ भने हामीले संसदको विघटन सहित तीन वर्षको कुशासनको विरोध गर्ने निर्णयमै छ । भ्रष्टाचार लगायतका चरम दुरुपयोगका कुराहरु पनि हाम्रो विरोध कार्यक्रमको अंग हो । संसद विघटन मात्रै होइन । उहाँहरुको एक बुँदे संसद विघटनको विषय मात्रै छ भने हाम्रो समग्रमा त्यो विषय सहितको आन्दोलन हो । 

संसद विघटन भएपछि फुटेको नेकपाको दुवै पक्षले कांग्रेस सभापतिलाई प्रतिनिधिसभाको पुन:स्थापना भए पनि वा चुनावमा गए पनि विभिन्न खालका आश्वासन र आग्रहहरू गरिराख्नु भएको छ । त्यस सन्दर्भमा के भन्नुहुन्छ ? 

कुनै पनि पार्टीगत वा व्यक्तिगत लाभका अफरलाई उहाँले सिधै अस्वीकार गरिसक्नुभएको छ । नेपाली कांग्रेस मूलभूत रुपमा ढिलो या चाँडो नयाँ जनादेशको बाटोबाट मात्रै सत्तामा जाने कुरामा विश्वास गर्छ । जनताबाटै अनुमोदित भएर कुनै क्षणिक रुपमा कोहीसँग जोडिएर तात्कालीन पार्टीगत लाभ लिऊँ वा व्यक्तिगत लाभ लिऊँ भन्ने मानसिकतामा नेपाली कांग्रेसको नेतृत्व छैन । 

कार्यकर्ताहरु अलमल भइरहेका छन् नि ? 

पटक्कै अलमल हुनुपर्ने अवस्था छैन । अलमलिने आवश्यकता पनि छैन । अब ढिलो चाँडो नयाँ जनादेशबाट हामी सत्तामा जाने बाटो खोज्नुपर्छ ।

  • प्रकाशित मिति : फागुन ९, २०७७ आइतबार १९:१८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया