logo-img

सुरक्षा फौजभित्र घुस प्रकरण : कानुन कार्यान्वयन गराउने निकाय नै अख्तियारको फन्दामा
घुस खानेमा अधिकृत स्तरका पनि !

नेपालमा ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता’ नारा लगाएको धेरै भइसकेको छ । तर, यो नारा सरकारकै अंगबाट उल्लंघन भइरहेको छ । कानुन कार्यान्वयन गराउने नेपाल प्रहरी तथा सीमा रक्षा गर्ने सशस्त्र प्रहरी दुइटै निकायबाट यसको धज्जी उडाउने काम भइरहेका प्रमाणहरु सार्वजनिक भएका छन् ।

प्रहरी पनि भ्रष्टाचारीको रूपमा अख्तियारको फन्दामा पर्न थालेका उदाहरणहरू प्रशस्त पाइएका छन् ।

केही उदाहरण हेरौँ :



उदाहरण– १

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ९ फागुनमा १५ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरीका हवल्दार सरवन कुमार बस्नेतलाई नियन्त्रणमा लियो । महोत्तरीको रामनगर सुरक्षा वेशमा कार्यरत उनी सेवाग्राहीसँग घरायसी काममा प्रयोग हुने दाउरा ओसार-पसारमा सहजीकरण गरेवापत पैसा लिन्थे । त्यही सूचनाका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उदाहरण–२



करिब एक महिनाअघि १० हजार रुपैयाँ घुससहित प्रहरी हवल्दार शान्ति भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लियो । तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत उनलाई हिरासतमा रहेका व्यक्ति छुटाइदिने आश्वासन दिएर अतिरिक्त रकम लिन खोज्दा पोखराबाट खटिएको अख्तियारको टोलीले पक्राउ गरेको थियो । 

घुस लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी उस्तै



सेवाग्राहीसँग घुस लिनेमा सशस्त्र प्रहरी र नेपाल प्रहरी दुइटै अछुतो छैनन् । महोत्तरीबाट सशस्त्र प्रहरी हवल्दार र नेपाल प्रहरी तर्फबाट तनहुँमा पक्राउ परेकी प्रहरी हवल्दार भण्डारी त केही प्रतिनिधि पात्र हुन् । 

आर्थिक वर्ष ०७६/७७ मा मात्रै ५५ जना प्रहरी अख्तियारको फन्दामा परेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ११ जना सुरक्षाकर्मी घुस लिँदा लिँदै पक्राउ परेको अख्तियारको तथ्यांक छ । अख्तियार चलाएको स्टिङ अपरेसनबाट उनीहरूलाई पक्राउ गरिएको तथ्यांक छ ।

अख्तियारका अनुसार कार्यालयबाट नियमानुसार गरिदिनुपर्ने काममा तथा अतिरिक्त काम गराइदिन्छु भनेर  सेवाग्राहीसँग पैसा लिने गरेका थिए । त्यही सूचनाका आधारमा उनीहरू पक्राउ परेका हुन् । अख्तियारको तथ्यांकअनुसार यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरी घुस खाने कुरामा बराबरीको अवस्थामा देखिएका छन् ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ५ जना सशस्त्र प्रहरी र ६ जना नेपाल प्रहरीतर्फबाट घुस लिँदा लिँदै पक्राउ परेका छन् । यो तथ्यांकमा लगभग दुवै निकाय घुस खाने कुरामा बराबर देखिएको छ ।

दुवै निकायका अधिकारी स्तरका पनि घुस लिँदा लिँदै पक्राउ

अख्तियारको तथ्यांक अनुसार हेर्ने हो भने सुरक्षाकर्मीबाट घुस खानेमा प्रहरी जवान मात्रै नभई अधिकारी स्तरका पनि छन् । अर्थात् सेवाग्राहीसँग अनुचित ढंगले घुस लिनेमा प्रहरी जवानदेखि इन्सपेक्टर सम्मका रहेको अख्तियारको तथ्यांक छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुइटै निकायका अधिकारीले समेत घुस खाने गरेको पुष्टि गर्न अख्तियारको यो तथ्यांक नै काफी छ । यो वर्ष सेवाग्राहीसँग घुस लिने कुल प्रतिवादी ३४१ जनामध्ये ५५ जना प्रहरी रहेको तथ्यांक छ । 

सुरक्षा निकायमा घुसखोरी

यसरी घुस लिएका कारण पक्राउ पर्नेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सूची लामै देखिन्छ । सुरक्षा फौज नै भ्रष्टाचारको आरोपमा पक्राउ पर्नुले सो संगठनमा अनुशासनको कमी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर छ ।

‘प्रहरी त समाजको ऐना हो, कानुन पालना गराउने पहिलो निकाय हो,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रिमाल भन्छन्, ‘ऊ आफैँले कानुनको उल्लंघन गर्नु भनेको अनुशासन बाहिर जानु हो ।’ यसको मतलब प्रहरीलाई अझै तालिम नपुगेको बुझ्नुपर्ने उनको तर्क छ ।

उनले भने, ‘प्रहरी कति नियम कानुन पालना गर्ने निकाय हो, कति इमान्दार छ ? यहीबाट प्रष्ट हुन्छ । फेरि यो कसैले एक्लै गर्न सक्दैन, यसमा उसको हाकिमको पनि सहभागिता हुन्छ ।’ जसले गर्दा यो धैरै कुरा देखाइरहेको उनको बुझाइ छ ।

प्रहरीमा घुस मात्र नभई शैक्षिक योग्यताको नक्कली विवरण, नागरिकता, सिफारिस पत्रसमेत गलत रहेको पाइएको छ । आर्थिक वर्ष ०७६/७७ मा शैक्षिक योग्यताको झुटो प्रमाणपत्र परेको ८५ वटा उजुरी परेका थियो । सरकारी नोकरी तथा पदोन्नति हासिल गर्ने तथा सरकारी सेवा र सुविधा प्राप्त गर्ने उद्देश्यले झुटो विवरणसहितको कागजात पेस गरिएको भन्ने परेको उजुरीमा छानबिन गर्दा त्यसमा १३ जना प्रहरीको कागजात नक्कली पाइएको अख्तियारले जनाएको छ ।

प्रहरी किन घुस लिँदा लिँदै पक्राउ पर्छन् भनी सोधेको जिज्ञासामा नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले यसमा धेरै कुराले असर गरिरहेको बताउँछन् । उनले भने, ‘अहिले धेरै निकायबाट अख्तियारको फन्दामा मान्छेहरू परिरहेका छन् । प्रहरी पनि यही समाजकै पात्र हो । यही समाजको असरले गर्दा केही प्रहरीबाट पनि गलत भइरहेको छन् ।’ तर पछिल्लो समय अख्तियारको राम्रो कामले प्रहरीमा धेरै राम्रो भइरहेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : फागुन १६, २०७७ आइतबार ८:६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया