सुरक्षामा पर्याप्त बजेट विनियोजन गर्न कञ्जुस्याइँ नगरौँ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आगामी बजेटमा कन्जुस्याइँ नगरी सुरक्षा क्षेत्रमा बजेट विनियोजन गरिनुपर्ने बताएका छन् । 

बुधबार गृहमन्त्रालयमा आव ०७७–७८को दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न पनि सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिनुपर्ने बताए । 

सुरक्षामा गरिने लगानी जनताको सुरक्षा र स्वाधिनतासँग जोडिएको विषय भएको बताउँदै गृहमन्त्री थापाले सुरक्षामा लगानी गर्न लोभ गर्न नहुने सुझाब दिए । उनले भने ‘तथ्याङ्कले सीमामा बिओपीको संख्या थप्दा चोरी, तस्करी नियन्त्रण हुने र त्यसले समग्रमा ठूलो मात्रामा राजस्व वृद्धि भएको देखाएको छ । यसले पनि सुरक्षामा गरेको लगानी खेर जाँदैन भन्ने देखाउँछ ।’

गृह मन्त्रालय र सोअन्तर्गतका निकायको दोस्रो चौमासिक अवधिसम्मको प्रगति विवरण सन्तोषजनक रहे पनि पर्याप्त नरहेको बताउँदै कार्यशैली परिमार्जन गर्न गृहमन्त्रीले कर्मचारीलाई निर्देशन दिए । उनले भने, ‘हामीले तोकिएका हाम्रा लक्ष्य किन समयमै पूरा गर्न सकेनौँ ? कोभिडका कारणले सम्पन्न हुन नसकेको विषयमा ठिकै छ, तर लापरबाहीपूर्वक ढिलो गरिएका विषय क्षम्य हुन सक्दैन ।’

बैठकमा गृहसचिव महेश्वर न्यौपानेले गृहमातहतका निकायको दोस्रो चौमासिक अवधिसम्म पुँजीगत खर्च कम भएको तथा बेरुजु फर्छ्योट कम भएको भन्दै त्यसमा गुणात्मक परिवर्तन हुनेगरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । 

बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, कारागार विभागलगायत निकायले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेस गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी थिए ।





  • प्रकाशित मिति : चैत १८, २०७७ बुधबार २०:३४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया