logo-img

काठमाडौं–तराई फास्ट ट्र्याक : प्रि–क्वालिफिकेसन प्रक्रिया रद्द गर्न नेपाली सेनालाई निर्देशन

संसदको सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दुई प्याकेजमध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्ध गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको बैठकले फास्ट ट्र्याकको दुईवटा प्याकेजको टेण्डर आह्वानको लागि प्रि–क्वालिफिकेसनको नतिजा निकालिएको मध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा हुने नदेखिएकाले रद्द गरी पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो । समितिको बैठकले गरेका निर्णय सुनाउँदै समितिका सचिव डा. रोजनाथ पाण्डेले भने, ‘आज सार्वजनिक लेखा समितिको फास्ट ट्र्याकको दुईवटा प्याकेजको टेण्डर आह्वानको लागि प्रि–क्वालिफिकेसनको जुन नतिजा निकालिएको थियो, नेपाली सेनाको परियोजनाअन्तर्गत त्यस सम्बन्धमा छलफल भयो ।’ 

विभिन्न कोणबाट सार्वजनिक खरिद ऐन नियमावलीमा भएको प्रावधानको सन्दर्भमा त्यसलाई पालना गरे–नगरेको सन्दर्भमा छलफल भएको जानकारी दिँदै उनले भने, ‘जुन प्रतिस्पर्धामा प्रि–क्वालिफिकेसनपछि जुन टेण्डर आह्वान गरिएको थियो, त्यसमा प्रि–क्वालिफिकेसनबाट छनोट भएका पहिलो प्याकेजमा दुईवटा र दोस्रो प्याकेजमा एउटा मात्रै कम्पनी छनोट भएको अवस्थामा प्रतिस्पर्धा हुन नसक्ने स्थिति पैदा भएको दोस्रो प्याकेज जुन छ, त्यसलाई रद्द गरेर पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया सुरु गर्नलाई निर्देशन दिने कुरा भयो ।’
 
यस्तै, समितिको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि यथाशक्य छिटो निर्देशिका तयार गर्ने र मापदण्ड कार्यविधि तयार गरेर अन्तर्राष्ट्रिय स्तरको इन्जिनियरिङ प्रोकुरमेन्ट एण्ड कन्सट्रक्सनसँग सम्बन्धित डकुमेन्ट जारी गरेर अवरोध हटाउन समेत निर्देशन दिएको छ । समिति सचिव पाण्डेले भने, ‘इपिसीसम्बन्धी जुन डकुमेन्ट बनाउनुपर्ने र सार्वजनिक खरिद संस्थाहरुलाई उपलब्ध बनाउनुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालय छ, उसले डकुमेन्ट तयार नगरिदिँदा यी समस्या आएको भन्ने महसुस भएको हुनाले समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि निर्देशन दिएको छ ।’ 

ती डकुमेन्ट यथाशक्य छिटो निर्देशिका तयार गर्ने मापदण्ड कार्यविधि तयार गरेर इपिसीसम्बन्धी टेण्डर जुन हुन्छ, अन्तर्राष्ट्रिय स्तरको इन्जिनियरिङ प्रोकुरमेन्ट एण्ड कन्सट्रक्सनसँग सम्बन्धित डकुमेन्ट जारी गरेर यस्तो अवरोध हटाउने र विवादलाई अन्त्य गर्ने कुरामा समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको उनले बताए । 

नेपाली सेनाले दोस्रो प्याकेजअन्तर्गत मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सी सम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सी सम्म १.४ किलोमिटर गरी दुई सुरुङमार्ग र पुल निर्माणका लागि चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई मात्र प्रि–क्वालिफिकेसनमा छनोट गरेको थियो । 





  • प्रकाशित मिति : चैत १९, २०७७ बिहीबार १७:१४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया