नेपालमा कोरोना त्रास : नेपालगन्जमा भयावह, निमोनिया बोकेर अस्पताल, सावधानी शून्य

गत साल ठीक यतिबेला देशमा खासै कोरोना थिएन। खोजी–खोजी परीक्षण गर्दा पनि फाट्टफुट्ट संक्रमित फेला परिरहेका थिए। वैशाख २ गते काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना संक्रमण देखिएपछि काठमाडौं उपत्यकामा निकै त्रास फैलिएको थियो ठीक एक वर्षअघि। 

वैशाख ३ गतेसम्म देशभर पुष्टि भएका संक्रमति संख्या  १६ थियो। ‘कैलालीमा परीक्षण गर्दा रुकुम पश्चिमका दुई जनाको पोजेटिभ रिपोर्ट देखियो, थप परीक्षणका लागि स्वाब काठमाडौं पठाइएको छ’ यही थियो ठीक एक वर्ष अगाडि नेपालमा कोरोना सम्बन्धी हट समाचार। 

तर सबैमा त्रासैत्रास थियो। देशभर लकडाउन थियो। सबै घरभित्र थुनिएका थिए। लकडाउन कहिले अन्त्य हुने हो कुनै टुंगो थिएन। सावधानी, सतर्कता व्यापक थियो। सरकारको ध्यान सबै कोरोनामै थियो। अन्य सबै गतिविधि लगभग ठप्प दिए।

त्यसको ठ्याक्कै एक वर्षपछि नेपालमा कोरोनाको प्रभाव त्यसको सयौँ गुणा भयावह छ। शुक्रबार मात्रै नेपालमा थप ९०० जनामा संक्रमण पुष्टि भयो। ६ जनाले कोरोनाका कारण ज्यान गुमाए। हामीमा डर हराएको छ। संक्रमणबाट बच्न अपनाउनु पर्ने सावधानीमा कत्ति पनि चासो देखिँदैन। 

नेपालका कोरोनाको दोस्रो लहरले पिक लिइरहेको छ। छिमेकी मुलुक भारतमा संक्रमणको दरले दिनहुँ रेकर्ड कायम गरिरहेको छ। यो अवस्थामा नेपालमा संक्रमणले रफ्तार लिने देखिएको छ। अहिलेको अवस्थाले कोरोनाविरुद्ध लडिरहेका चिकित्सक, स्वास्थ्यकर्मीलाई चिन्तित बनाएको छ।

नेपालगन्जको अवस्था जटिल



अहिले संक्रमणको दोस्रो लहरले सबैभन्दा बढी आक्रान्त लुम्बिनी प्रदेशको नेपालगन्ज देखिएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा शुक्रबार आएको १८३ जनाको पिसिआर रिपोर्टमा १२७ मा पोजेटिभ देखिएको भेरी अस्पतालका कोरोना फोकल पर्सन डा. संकेत कुमार रिसालले जानकारी दिए। यो परीक्षणको करिब ७० प्रतिशत हो।

डा.संकेतका अनुसार त्यहाँ रहेका ७२ आइसोलेसन बेड शुक्रबार १२७ जना संक्रमित थपिनु अगाडि नै भरिइसकेका थिए। ६ जनालाई भेन्टिलेटरमा राखिएको छ। ३४ जनालाई अटुट अक्सिजन जोडेर राखिएको छ। बाँकीलाई पनि श्वास फेर्न गाह्रो हुने भएकाले बेलाबेलामा अक्सिजन दिनु परेको फोकल पर्सन रिसालले बताए। 
३२ पुरुष र ४० जना महिला रहेकामा १८–१९ वर्षदेखि ७५ माथिका बिरामीहरु रहेको डा. संकेतले जानकारी दिए। उनका अनुसार सिकिस्त हुने बिरामीमा प्राय १८–१९ वर्षदेखि ४५ वर्षसम्मका धेरै छन्। 
‘युवा उमेरका लाई बढी सिकिस्त बनाएको छ, यो बढी चिन्ताको विषय हो’ डा. रिसालले भने।



आइसोलेसनमा भर्ना हुनेमा अधिकांश लक्षण देखिएर समस्या भएपछि मात्रै परीक्षण र भर्ना हुन आउनेहरु रहेको उनले सुनाए। कतिपय ओपिडीमा परीक्षण गर्न आउँदा शंका गरी परीक्षण गरिएकाहरु छन्। भारतबाट फर्किँदा नाकामा एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएकाहरू पनि अस्पतालमा भर्ना भएका छन्। विद्यालयका विद्यार्थीहरु पनि पोजेटिभ छन्। 

 ‘तीन–चार दिन लक्षण देखिएर समस्या बल्झिएपछि आउनेहरु धेरै हुनुहुन्छ’ डा. रिसाल भन्छन्, ‘शंका लागेर वा सामान्य लक्षण देखिनेबित्तिकै परीक्षणमा नआउँदा अवस्था जटिल भयो।’ 

शुक्रबार थपिएका १२७ संक्रमित मध्ये ५ जना अस्पतालकै नर्स र कर्मचारी रहेको उनले जानकारी दिए। शुक्रबार थपिएका संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्तामा थिए डा.रिसाल।

उनका अनुसार बुधबार कोहलपुर मेडिकल कलेजमा ४० जनाको परीक्षण गर्दा ४० जनाकै रिपोर्ट पोजेटिभ आएको थियो। शुक्रबार नर्सिङ होम मेडिकल कलेजको प्रयोगशालामा आएको ४६ जनाको पिसिआर रिपोर्टमा ४६ जनाकै पोजेटिभ देखिएको छ। 

बजारमा भीडभाड उत्तिकै रहेकोले शिक्षण संस्था, मन्दिर, देवालयजस्ता भीडभाड हुने क्षेत्र तत्काल बन्द गर्नुपर्ने डा.संकेतको माग छ। 

अब परीक्षणको रटान लगाउनु पर्यो : डा.अनुप

नेपालमा कोभिड बिरामीको उपचारमा सबैभन्दा पहिले देखि जुटिरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अवस्था पनि उस्तै छ। संक्रमितको संख्या बढीरहेको छ। अस्पताल आउनेहरु धेरैजसो कोभिडको निमोनिया बोकेर आउने गरेको टेकु अस्पतालका प्रमुख कन्सलटेन्ट डा. अनुप बास्तोला बताउँछन्। उनका अनुसार शुक्रबार साँझसम्म टेकु अस्पतालमा २७ जना संक्रमित भर्ना भएका छन्। 

सामान्य लक्षण भएकाहरु धेरै जना घरमै बसिरहेको र आफूलाई संक्रमण भयो भन्दै उनीहरुले फोन गरेको बास्तोलाले सुनाए। अस्पतालमा भर्ना भएकामध्ये करिब ५० प्रतिशत बिरामी गम्भीर रहेको र ६ जना भेन्टिलेटरमा रहेको उनले जानकारी दिए। बास्तोलाका अनुसार धेरै बिरामीहरु ५० वर्ष आसपासका छन्। ६५ वर्षमाथिका कोही छैनन्। 

तत्काल सावधानीका उपाय नअपनाए स्थिति नियन्त्रणबाहिर जाने र देशको स्वास्थ्य प्रणाली नै कोल्याप्स हुने चिन्ता डा.बास्तोलाको छ। बैशाखको अन्तिम वा जेठको पहिलो हप्ता नेपालमा संक्रमण उच्च तहमा पुग्ने आँकलन उनको छ।

अहिलेको नयाँ लहरले युवाहरुलाई बढी प्रहार गरिरहेको छ। युवाहरुको रोगप्रतिरोधी क्षमता बढी हुने भएकाले वृद्ध उमेरकालाई जस्तो आत्तिहाल्नु पर्ने स्थिति नहुने डा. बास्तोलाले सुनाए। 

‘अब एउटै रटान लगाउनु पर्यो–परीक्षण गराउ, परीक्षण गराउ, परीक्षण गराउ, सामान्य लक्षणमा पनि परीक्षण गराउ भन्नुपर्याे’ डा. बास्तोलाको सुझाव छ। परीक्षण गराएर कोभिड भएकाहरुलाई तुरुन्त आइसोलेट गर्न सकियो भने संक्रमण फैलनबाट रोक्न मद्दत पुग्ने उनको भनाइ छ। 

अहिले टेकुमा गरिएको परीक्षणमा करिब ३३ प्रतिशतमा पोजेटिभ रिपोर्ट देखिएको छ। 

एन्टिजेन परीक्षण पनि नगरीकन कोभिडको निमोनिया लिएर बिरामीहरु अस्पताल आउन थालेकाले समुदायमा हाल करिब ५–६ हजार भन्दामाथि संक्रमित रहेको अनुमान उनले गरे।

शंका लाग्नेबित्तिकै परीक्षण गरिहाल्न, संक्रमण देखिएकाहरु आइसोलेट भएर बस्न र नेगेटिभ रिपोर्ट आएकाहरु सुरक्षित बस्न डा. बास्तोलाले सुझाए। 

  • प्रकाशित मिति : वैशाख ४, २०७८ शनिबार ९:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया