कोरोनाले छेकेन क्रिकेट समर्थकलाई
घरेलु मैदानमा कोरोनाको त्रासबीच बाह्रौँ खेलाडीका रुपमा दर्शक

हाल नेपालमा जारी त्रिकोणात्मक सिरिजको पहिलो दिन नेपालले आफ्नो पहिलो खेल बलियो प्रतिद्वन्द्वी मानिएको नेदरल्यान्डसँग खेल्यो । उक्त खेलमा मैदानमा उत्रिएका एघार खेलाडीसँगै मैदानबाहिर थिए, बाह्राैँ खेलाडीको भूमिकामा समर्थक । पहिलो खेल, शनिबारको दिन मैदान दर्शकले खचाखच भरिएको थियो । उक्त खेल हेर्न भनी कोरोनाको समेत डर नमानी आफ्नो देशका लागि खेल हेर्न दर्शक आएका थिए । उक्त खेलमा आउने केही दर्शकले त सामान्य मास्क पनि नलगाएको देखियो । कोरोनाको त्रासमा पनि खेल हेर्न आउनुभएको छ नि ? भन्ने प्रश्नमा उनीहरु भन्छन्, ‘कोरोनाका लागि विशेष सावधानी अपनाएका छौँ, तर आफ्नै देशमा भएको खेलमा समर्थन गर्न त आउन मन लागि हाल्छ नि !’

खेल हेर्न आएका दर्शकमाझ एक थिए, मुकेश उपाध्याय । उनी नेपालले आफ्नै देशमा अन्तर्राष्ट्रिय खेल खेलिरहेका बेला देशको लागि समर्थन गर्न आएका हुन् । कोरोनाको त्रासमा पनि सावधानी अपनाएर मास्क लगाएर भए पनि हेर्न आएको उनले बताए ।  

खेलाडीले खेलमा गरेको प्रदर्शनअनुसार दर्शकले पूर्ण साथ दिए । नेपालले पहिलो हाफमा टस जितेर बलिङ रोज्यो । उक्त हाफमा जब सन्दीप लामिछानेले विकेट लिए, तब नेपाली समर्थक चिच्याउँदै सिटी, ताली अनि विभिन्न किसिमका बाजा बजाई खुब रमाए । त्यसपछिको हाफमा पनि सोमपाल कामीका लागि नेपाली दर्शकले राम्रै समर्थन देखाए । उनलाई ‘सोमपाल दाइ वी लभ यु’ भन्दै दर्शकले साथ दिए । पारसको कमीलाई नेपाली दर्शकले पोस्टर नै बनाएर उनको कमी जाहेर गरे । कोहीको गाला तथा निधारमा नेपालको झण्डा थियो । हातमा ४ र ६ लेखिएको पम्प्लेट थियो । अनि कोही नेपालको राष्ट्रिय जर्सीमा आएका थिए । उनीहरु सबै मैदानबाहिरका खेलाडीका रुपमा देखा परे । 

दर्शकको भिडमा महिला समर्थक पनि उत्तिकै थिए । कोही नेपालको जर्सीमा त कोही पम्प्लेट र झण्डा​को साथमा । त्यही भिडमा उभिएकी थिइन्, इलामकी कुन साङ । हाल उनी कीर्तिपुरमा बस्छिन् । अंग्रेजी विषयमा स्नातकोत्तर गरिरहेकी उनी ४ जना साथीसँग नेपालको प्रतियोगिता हेर्न आएकी हुन् । 

अर्का दुई जुम्ल्याहा ‘फुच्चे’ समर्थक पनि नेपालको खेल हेर्न र सपोर्ट गन आएका थिए । उनीहरुको हातमा नेपालको झण्डा​ थियो । उनीहरु आफ्ना आमाबुवा र दिदीसँग आएका थिए । हाल गोंगबु बस्ने उनीहरु आफैँ पनि एन्जल हार्ट क्रिकेट एकेडेमीमा क्रिकेट खेल्छन् । उनीहरुका बुवा यशपाल विश्वकर्माको क्रिकेट मोहका कारण उनीहरुमा पनि क्रिकेट मोह बस्यो । उनी मास्कसहित पूरै परिवार नै खेल हेर्न र नेपाललाई सपोर्ट गर्न मैदानमा आएका थिए । उनी आफ्ना छोराहरुलाई पनि क्रिकेटर बनोस् भन्ने चाहन्छन् । उनी भन्छन्, ‘म आफैँ पनि खेलप्रेमी हुँ । म मेरा छोरा पनि क्रिकेटर बनोस् भन्ने चाहन्छु । हाल क्रिकेट हेर्न र नेपालले जितोस् भन्ने चाहनाका साथ खेल हेर्न आएको ।’ 



त्यस्तै, अर्का पारस खड्काका डाईहार्ट फ्यान बताउने समर्थक थिए, सुदीप दाहाल । कोरोनाको लागि मास्क लगाएर नेपालको जर्सी अनि हातमा ‘पारस दाइ वी मिस यु’को पम्प्लेट लिएर आएका थिए । उनी भन्छन्, ‘नेपाली खेलकुदको गडफादर हो, पारस दाइ । उहाँको कमी निकै महसुस भइरहेको छ ।’



यस्तै, समर्थकबीच उभिएका प्रहरी पनि ड्युटीका साथसाथै खेलको पनि मजा लिइरहेका थिए । तीमध्ये एक भन्छन्, ‘हामी काममा पनि रमाइरहेका छौँ । ड्युटीसँगै खेलको पनि मजा लिइरहेका छौँ ।’

यसरी खेलमा कोरोनाको बीच पनि रमाएर खेल हेरिरहेका थिए, दर्शक । तर, योसँगै कोरोनाको त्रास पनि बोकेको थियो, यो माहोलले । कोही दर्शक भने बेपरवाह थिए, कोरोना लागे लागोस् नेपालले खेल जित्नुपर्छ भन्ने पनि थिए । जे होस् सम्पूर्ण दर्शक नेपाल र खेलको समर्थनका लागि आएका थिए । उनीहरुको कामना पूर्ण पनि भयो ।

  • प्रकाशित मिति : वैशाख ४, २०७८ शनिबार २०:४६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया