स्वास्थ्यमा अपराध : ९ देखि १२ हजार लिएर नक्कली पिसिआर रिपोर्ट
अधिकारी भन्छन् : अब थाहा पायौँ, सबै गिरोहलाई कारबाही हुन्छ

दुुई दिन अगाडि काठमाडौँबाट कुवेत जान खोजेका एकजना भारतीय नागरिक नक्कली पिसिआर रिपोर्टसहित पक्राउ परे। पक्राउ पर्नेमा भारतीय नागरिक तसलीम अहमद थिए।

कुवेत हिँडेका भारतीय नागरिकको पिसिआर रिपोर्ट शंकास्पद देखिएपछि पक्राउ गरियो। घटनाको सुरुवात हुन्छ, उनको गतिविधिबाट। 

नेपालको एयरपोर्ट भएर उनी सोमबार कुवेत जाँदै थिए। चेकजाँचका क्रममा उनले अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा पिसिआर रिपोर्ट देखाउन पुगे। जहाँ खटिएका थिए– स्वास्थ्य मन्त्रालयका कर्मचारी। 

अहम्मदको रिपोर्ट हेर्नेबित्तिकै हेल्थ डेस्कका कर्मचारीले रिपोर्टको ‘लेटरहेड’ मा कैफियत भेट्टाए। कान्तिपुर डेन्टल ल्याबको लेटरहेडमा उनको रिपोर्ट बनाइएको थियो। हेल्थ डेस्क स्रोतका अुनसार तर त्यो लेटरहेडमा जसरी कान्तिपुर डेन्टल ल्याबबाट रिपोर्ट बनाएर आउँछ, त्यसरी लेखिएको थिएन। 

‘लेटरहेड फरक, लेखाइ फरक पाइयो। अनि हामी कान्तिपुरमा फोन गरेर त्यो रिपोर्टमा लेखिएको कस्टमर आइडीको बारेमा सोधियो’, स्रोत भन्छ, ‘जुन कस्टमर आइडीको नम्बरमा नेपाली नागरिक धन कुमारको नाम थियो। गलत रिपोर्ट रहेको पुष्टि भएपछि प्रहरीलाई अहम्मदलाई प्रहरीमा बुझायौँ।’

हेल्थ डेस्कले अहमदलाई प्रहरीको जिम्मा लगाएर पुनः परीक्षण गराइयो, जसमा प्रहरीलाई आएको सूचना सही साबित भयो। अर्थात् उनको रिपोर्ट कोरोना पोजेटिभ आयो। अहम्मदको रिपोर्ट पोजेटिभ आएपछि उनलाई कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालको आइसोलेशनमा राखिएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी जितेन्द्र बस्नेतले बताए। भारतीय नागरिक तसलीमले देखाएको रिपोर्ट दिने ल्याबबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले नाम खुलाएको छैन। 



गिरोह नै सक्रिय 

यो घटनापछि काठमाडौंमा नक्कली पिसिआर रिपोर्ट बनाउन गिरोह नै सक्रिय रहेको भेटिएको छ। सरकारले तोकेको मूल्यभन्दा बढी पैसा लिएर स्वाब नै नलिइ पिसिआर रिपोर्ट बनाउने गरेको खुलासा भएको हो।



करिब एक महिना अगाडि नक्कली पिसिआर रिपोर्ट बनाउने काम भइरहेको सूचना अपराध महाशाखालाई सूचना आयो। त्यसपछि त्यो खबर पुष्टि गर्न अपराध महाशाखाको टोली जुट्यो। ल्याबको ठेगाना पत्ता लागेपछि अपराध महाशाखाको टोलीले आफ्नै चार कर्मचारीलाई पिसिआर परीक्षण गराउन पठायो। 

ल्याबमा पुगेपछि ती विरामीहरुलाई भनियो,‘ हामी स्वाब नलिइ रिपोर्ट दिन्छौँ, त्यो पनि दुई घण्टामै। तर एउटा पिसिआर रिपोर्ट बनाए वापत ९ हजार रुपैयाँ लिन्छौ।’ 

ल्याबको शर्त मानेर पिसिआर चेक गराउन पुगेका ती चारैजनाले ९ हजारका दरले पैसा तथा आफ्नो पासपोर्ट बुझाएर फर्किए। अपराध महाशाखाका एसपी कृष्ण पंगेनी भन्छन्, ‘उनीहरु फर्केको दुई घण्टामा रिपोर्ट बनाएर ल्याबले दियो, त्यसपछि त्यो नक्कली रिपोर्टसहित सञ्चालक र मतियारलाई पक्राउ गर्‍यौं।’ अपराध महाशाखाको टोलीले हिजो मात्रै छापा हानेर सूर्या ल्याबबाट ८ जनालाई नियन्त्रणमा लिएको छ। 

दैनिक २ सय नक्कली रिपोर्ट

प्रहरीको प्रारम्भिक अनुसन्धानमा यो ल्याबले स्वाब परीक्षण नगरी दैनिक दुई सयभन्दा बढी नक्कली रिपोर्ट बनाउने गरेको खुलेको छ। प्रहरीले छापा मारेपछि यसको भित्री कथा खुलेको छ, ‘स्वाब संकलन नगरी र स्वाब संकलन गरेर। अरु ब्यक्तिको स्वाब संकलन गरेर पनि रिपोर्ट बनाउने गरिन्थ्यो। मान्छे ल्याबमा आउन नसक्दा स्वाबबिनै पासपोर्ट मात्रै लिएर रिपोर्ट पनि बनाइदिन्थ्यो। 

बुधबार मात्रै १२२ जनालाई एयरपोर्टबाट फर्काइएको छ। सिनामंगलको सूर्य ल्याबबाट पिसिआर रिपोर्ट लिएर विमानस्थलबाट पुगेका १२२ जनालाई फर्काइएको हो। विभिन्न देशमा जान सूर्या ल्याबको रिर्पोट लिएर पुगेका यात्रुहरुलाई विमानस्थल प्रहरीले फर्काइदिएको हो। 

एउटा रिपोर्टको १२ हजार

अपराध महाशाखाका एसपी पंगेनीका अनुसार यो ल्याबले मान्छेको आर्थिक क्षमता अनुसार नक्कली रिपोर्ट बनाए वापतको पैसा लिने गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा नक्कली रिपोर्ट बनाएबापत १२ हजारसम्म लिने गरेको खुलेको एसपी पंगेनीले बताए। 

उनका अनुसार नक्कली रिपोर्ट बनाउनेमा सबैभन्दा बढी म्यानपावर कम्पनीहरु छन्। बाहिर पठाउने कामदारहरुको रिपोर्ट यही ल्याबबाट उनीहरु बनाउने गरेको खुलेको छ। यो काम लागि ल्याबले मेडिकल टिम तथा म्यानपावर सम्पर्क व्यक्ति राखेको थियो।

अपराध महाशाखासँगै महानगरीय प्रहरी परिसरले पनि यसअघि पिसिआरको नक्कली रिपोर्ट बनाउनेहरूलाई कानुनी दायरामा ल्याएको थियो। केही महिनाअगाडि ३० जनाभन्दा बढीलाई नक्कली रिपोर्ट बनाएको अभियोगमा कारबाही गरिएको महानगरीय प्रहरी परिसर प्रमुख अशोक सिंहले बताए।  

प्रहरीको रिपोर्ट अनुसार यी ल्याबहरुबाट सबैभन्दा बढी विदेश जानेहरूले रिपोर्ट बनाउने गरेका छन्। यसको पुष्टि गर्न आजै एयरपोर्टबाट फकाईएका १२२ जनालाई लिन सकिन्छ। ती सबै सूर्या ल्याबबाट पिसिआर गराएकाले फर्काइएका हुन्। एयरपोर्ट प्रहरी भन्छ, ‘सूर्या ल्याबबाट नेगेटिभ नक्कली रिपोर्ट बनाएर जाँदा विदेशमा पुनः परीक्षण हुन्छ, त्यो परीक्षणमा पोजेटिभ आइरहेको छ। यसले देशकै बेइज्जत हुने गरेको छ, यही कारण फर्काइदिएका हौं।’

स्वास्थ्यको प्रतिक्रिया : यस्तो गर्ने अपराधी

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यो काम गर्ने अपराधी रहेको संज्ञा दिए। ‘किनकि यो गलत काम हो, एउटाको गलत रिपोर्टले अर्को ज्यान लिन सक्छ। त्यही भएर तिनीहरु अपराधी हुन्’, उनले भने, ‘अर्को यसले व्यक्तिलाई मात्रै नभइ राष्ट्रलाई नै असर पार्छ।’ 

उनका अनुसार त्यसैले यो ठूलो अपराध हो। यो केस प्रहरीको क्षेत्रमा पर्ने भएकोले थप कारबाही प्रक्रिया प्रहरीले नै चाल्नुपर्ने उनले बताए।

यता महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हरिबहादुर पालले अब यस प्रकरणमा जोडिएका सबैलाई कारबाही गरिने बताए। ‘यो पहिला प्रहरी नोटिसमा थिएन, अब भयो’, उनले भने, ‘त्यसैले सबै वास्तविकता बुझेर गलत गर्नेलाई कारबाही चलाउँछौँ।’ 

  • प्रकाशित मिति : वैशाख ८, २०७८ बुधबार १७:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया