लुम्बिनीको बदला लिने उपेन्द्रको योजना : प्रदेश २ को सत्ता समीकरण फेरिँदै
जसपामा कमजोर भएपछि टाउको उठाउने ठाउँ खोज्दै

लुम्बिनी प्रदेशमा आफ्नै सांसद एमालेको पक्षमा उभिएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चिढिएका छन् । 

प्रदेश सरकारमाथि लगाउने अविश्वासको प्रस्तावमा धोका दिएर आफ्नै सांसद एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गरेर मन्त्री भएपछि उनी चिढिएका हुन् । 

आफूनजिकका प्रदेश सांसदहरुले धोका दिएर जसपा अध्यक्ष महन्थ ठाकुरको इसारामा एमालेका मुख्यमन्त्रीलाई सघाएपछि यसको बदला लिने तयारीमा यादव जुटेका छन् । 

यही साता लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको विपक्षमा अविश्वासको प्रस्ताव दर्ता हुँदा यादव नजिकका पाँचजना सांसदले पनि हस्ताक्षर गरेका थिए । तर दुई घण्टा नबित्दै ती सांसदहरुले हस्ताक्षर फिर्ता मात्रै लिएनन्, सरकारमै सहभागी भएर मन्त्री पनि भइसकेका छन्। 

यो घटनाले अध्यक्ष यादवलाई ठूलो राजनीतिक धक्का मात्रै लागेको छैन, पार्टीमा निकै कमजोर बनेको म्यासेज समेत गएको छ । जसपमा आफूलाई बलियो दाबी गर्दै आइरहेका यादवलाई लुम्बिनीमा पछारिनु परेपछि ठूलो चोट लागेको छ।

सत्ता परिवर्तनको खेल



राजनीतिक हिसाबमा लुम्बिनीको घटनालाई सामान्य मानिँदैन । आफ्नै पार्टी नेता विपक्षमा लागेको सुइँको पाएपछि उनी अध्यक्ष ठाकुरसहितका नेतालाई सबक सिकाउन जुटेका छन् । जसका लागि उनले छानेका छन्–प्रदेश २ को सरकार । अर्थात् उनी आफ्नो वेइज्ज्तीको बदला लिन प्रदेश–२ सरकारलाई लक्षित गरेका छन् ।

यो प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को एकलौटी सरकार छ । जुन तत्कालीन राजपा र सपा गठबन्धन मिलेर बनेको हो । अध्यक्ष यादवको तत्कालीन पार्टी यो प्रदेशमा ठूलो दल बनेपछि उसकै अगुवाईमा तत्कालीन राजपासँग गठबन्धन गरेर लालबाबु राउत नेतृत्वमा सरकार बनेको थियो।



सहकार्य भएको चौथो वर्षमा तत्कालीन राजपालाई एक्लयाउने खेल सुरु भइसकेको छ । स्रोतका अनुसार अध्यक्ष यादवले प्रदेशको सत्ता समीकरण नै परिवर्तन दाउमा लागेका छन् । यसको कारण हो–लुम्बिनी प्रदेशमा भएको बेइज्जती । 

अध्यक्ष यादवले महन्थ ठाकुरलाई कमजोर देखाउन यो प्रदेशमा राजपालाई सरकारबाट हटाउने तयारी थालेका छन्। अझ उनकै नजिकका प्रदेश सांसदलाई आफ्नो पक्षमा ल्याएर लुम्बिनीको बदला लिने रणनीति बुनिएको छ।

त्यसका साथै यो प्रदेशमा अर्को सरकार निर्माणका लागि अध्यक्ष यादव अहिले खासगरी माओवादी केन्द्र र कांग्रेससँग सत्ता समीकरण गरेर जाने रणनीतिमा छन् । यसका लागि मुख्यमन्त्री राउत र यादव आफैँ लागिरहेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार आजै विहान यही सन्दर्भमा मुख्यमन्त्री राउत र राजपानिकट रामनरेश राय यादवबीच भेटघाट भएको थियो । त्यहाँ मुख्यमन्त्री राउतले रायलाई भनेका थिए, ‘तपाईँ ‘साइलेन्स’ बस्नु होला, तपाईँलाई राखेर सरकारमा फेरबदल हुँदैछ । अब तपाईँ हाम्रै पार्टीमा आइसक्नु भएको छ, त्यसैले अहिलेदेखि नै सहयोग गर्नुस्।’ स्रोतका अनुसार जसपा अध्यक्ष यादव पनि आफैँ पनि सांसदहरुसँग कुराकानीमा छन्।

किन समीकरण परिवर्तन?

जानकारहरुका अनुसार अध्यक्ष यादवले प्रदेश २ को सरकारको सत्ता समीकरण परिवर्तनको पछाडि मुख्यतः तीन कारण छन् । पहिलो, लुम्बिनी प्रदेशको बेइज्जती, दोस्रो, विपक्षी दलरहित सरकार निर्माण र तेस्रो, सबै दल सरकारमा आएपछि प्रदेशको नाम र राजधानी टुंगो लगाउन सजिलो होस् ।

चाँडै सरकार परिवर्तन

जसपा स्रोतका अनुसार प्रदेश २ को सरकार सम्भवतः चाँडै हेरफेर हुनेछ । उच्च स्रोतका अनुसार महन्थ नजिकका केही प्रदेश सांसदसँग पनि कुरा मिलिसकेकाले सम्भवतः यही साताभित्र जसपा गठबन्धनको सरकार टुट्ने सम्भावना छ । नयाँ सरकारमा कांग्रेस र माओवादी केन्द्रबाट सहभागी हुनेछन् । तीन दल मिलेपछि प्रदेश सरकारलाई बहुमत पुग्छ । 

प्रदेश सरकारमा कुल १०७ जना सांसद छन्, जसमध्ये ४ जनालाई माओवादी केन्द्रले कारबाही गरिसकेको छ। बाँकी १०३ जनामा तत्कालीन राजपाबाट सभामुखसहित २५ जना सांसद प्रदेश सभामा छन् । यही अंक गणितीय हिसाबले सबैलाई मिलाएर अर्को सरकार निर्माण गर्ने खेलमा यादव लागेका हुन्। 

  • प्रकाशित मिति : वैशाख ९, २०७८ बिहीबार १८:३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया