निषेधाज्ञामा कडाइ : उपत्यकाका हरेक मुख्य चोकमा प्रहरी तैनाथी र चेकजाँच (तस्बिरमा)

काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाइएको आज चौथो दिन सरकारले निषेधाज्ञालाई क्रमशः कडा बनाउँदै लागेको छ ।

काठमाडौँ उपत्यकाको हरेक मुख्य चोकमा प्रहरी तैनाथी र चेकजाँच कडाइका साथ गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को शनिबार बसेको बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको थियो । 

निषेधाज्ञा कडाइ गरेसँगै प्रहरीले सवारी साधन र व्यक्तिलाई होल्डिङमा राख्न थालेको छ । आधिकारिक पासविना सवारीसाधन चलाउने र उद्देश्य र आवश्यकताविना हिँडेका व्यक्तिलाई प्रहरीले होल्डिङमा राखेको हो । निषेधाज्ञा लागुू गरिए पनि अत्यावश्यक सेवा र बैंक तथा वित्तीय संस्थाका सवारीसाधन अन्य सरकारी तथा निजी क्षेत्रका कर्मचारीको आवागमनले सडकमा चाप घटेको थिएन । 

निषेधाज्ञालाई थप कडाइ गर्दा पत्रकार भने मारमा परेका छन् । समाचार संकलनमा हिँड्ने पत्रकारबाहेक कार्यालयभित्र बसेर काम गर्ने प्राविधिक तथा अप्राविधिक कर्मचारीसँग सूचना विभागको कार्ड नहुने कारण समस्या परेको हो । यसअघि पत्रकारहरुले सम्बन्धित प्रकाशन गृहको कार्डमा आवतजावत गर्न पाएका थिए । 



गत बिहीबार १६ गते देखि काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साताका लागि निषेधाज्ञा लगाइएको छ । मन्त्रिपरिषद् बैठकले अर्को एक साता निषेधाज्ञा थप्ने निर्णय पनि गरिसकेको छ । यस्तै, देशका प्रमुख सहरमा कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा लगाउने क्रम जारी छ ।  

गृह मन्त्रालयले दिएको जानकारीअनुसार २३ वटा जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आइतबार (आज)देखि लागू हुँदै छ।  



मोरङ, दार्चुला, बर्दिया, बाग्लुङ, काभ्रे, गोरखा र बाजुरामा भने संक्रमित बढी भएको क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ । मोरङमा भने सोमबारदेखि जिल्लाभर नै निषेधाज्ञा लागू हुने गृह मन्त्रालयले जानकारी दिएको छ । 

 

  • प्रकाशित मिति : वैशाख १९, २०७८ आइतबार १७:३५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया