डोलेश्वर रिसोर्टमा महेश बस्नेत र जसपा सांसदको खर्च ९० हजार ६१ रुपैयाँ
महन्थले स्वकीय सचिवमार्फत तिरे खर्च

कांग्रेस र माओवादीको बहुमतको सरकार बनाउने योजना असफल बनाउन जनता समाजवादी पार्टीका सांसदलाई भक्तपुरको डोलेश्वरस्थित एक रिसोर्टमा राखिएको घटना अहिले चर्चामा छ।

प्रधानमन्त्री ओली पक्षमा राजनीतिक माहोल बनाउन वैशाख २९ मा जसपका १५ देखि १९ सांसदलाई डोलेश्वरस्थित एक रिसोर्टमा लगेर राखिएको थियो। ठाकुर समूहका ती सांसदलाई डोलेश्वरको रिसोर्टमा लगेर लुकाउने भूमिका खेलेका थिए एमाले सांसद महेश बस्नेत र युवा संघका उपाध्यक्ष सञ्जीवकुमार झाले। यी दुवैले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीनिकट बताउने गरेका छन्। 

जनता समाजवादी पार्टीको उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूह सरकार निर्माणका लागि माओवादी र कांग्रेसको पक्षमा उभिएको थियो। उता ठाकुर समूह भने ओलीलाई नै साथ दिने पक्षमा थियो। 

यस्तोमा राष्ट्रपतिले वैशाख २७ गते तीन दिन भित्र सरकार बनाउन आह्वान गरेअनुसार कांग्रेस र माओवादी बहुमत जुटाउन लागेका थिए। बहुमत जुटाउने यो खेललाई फेल बनाउने चाबी थियो महन्थ ठाकुरसँग। यदि उनले साथ दिएको भए विपक्षी दलले बहुमतको सरकार बनाउने थिए। 

तर ठाकुर समूहका सांसदलाई डोलेश्वरमा लगेर राखिएपछि विपक्षीको प्रयासले फेल खायो। त्यसपछि राष्ट्रपतिले वैशाख २९ गते राति साढे १० बजे केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा फेरि नियुक्त गरिन्।

वैशाख २९ गते डोलेश्वर, बालुवाटार र लैनचौरमा दौडधूप गरिरहेका महन्थ ठाकुर वैशाख ३० गते प्रधानमन्त्रीले सपथ लिँदा शीतल निवास पनि पुगे। डोलेश्वरमै ठाकुरले जसपा संसदीय दलमा राजेन्द्र महतोलाई पनि चयन गरे। महतो आफ्ना केही माग पूरा गरेपछि अहिले सरकारमा जान खुट्टा उचालेर बसेका छन्। 



महतोलाई संसदीय दलको नेता बनाइएपछि आफ्नो बहुमत रहेको कार्यकारिणी समितिको बैठक उपेन्द्र- बाबुरामले राखेका छन्। कार्यकारिणी समितिको बैठकबारे महन्थ ठाकुर र राजेन्द्र महतो थाहै नदिइ यादवले आफूपक्षीय नेतालाई राखेर आज छलफल गरेका छन्। अब ठाकुर र महतोमाथि कारबाही गर्ने तयारीमा यादव लागेका छन्। 

उता डोलेश्वररको रिसोर्टमा वैशाख २९ गते बसेका जसपा ठाकुर पक्षका सांसदले खाएको बिल सार्वजनिक भएको छ। उनीहरुले त्यहाँ एक दिन बसेर खाए पिएको खर्च ९० हजार ६१ रुपैयाँ (भ्याटसहित) आएको छ। उक्त खर्चको बिल अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 



आफ्ना स्वकीय सचिव सत्यन्द्र मिश्रामार्फत ठाकुरले ९० हजार ६१ रुपियाँ तिरेका छन्। मिश्रले वैशाख ३१ गते रिसोर्टमा पुगेर पैसा तिरेको डोलेश्वर भिलेज रिसोर्टले जनाएको छ।

जसपाका सांसद, सहयोगीसहित ३० जनाले त्यहाँ खाना खाएका थिए। बैठकका लागि हलको ११ हजार तिरिएको छ। त्यसमा हाई टीको व्यवस्था थियो। लन्च प्याकेजमा एक जना बराबर १४९० रुपियाँ तिरिएको छ। लन्च ३० जनाले खाएका छन्।

ठाकुर समूहले आफ्ना सांसदहरूलाई रिसोर्टमा राखेर लाखौँ रुपैयाँ खर्च गरेको चर्चा भइरहेका बेला जसपाले रिसोर्टमा तिरेको बिल सार्वजनिक गरेको हो। बिल जसपाकै नाममा काटिएको छ।

रिसोर्टमा जसपाका सांसदहरूलाई एमालेका नेता महेश बस्नेतले पुर्‍याएका थिए। सांसदहरूले होटलमा खाएको ह्विस्कीको पैसा बिलमा उल्लेख छैन। मिटिङ हलको ११ हजार,स्याण्डविच २४ हजार,४४ हजार, ७ सयको लन्चसमेत गरी ७९ हजार ७ सयमा १३ प्रतिशत भ्याट जोडी सो रिसोर्टले ९० हजार ६१ रुपैयाँ लिएको छ।

  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार २१:४६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया