logo-img

च्याम्पियन इन्टरमाथि १० खेलाडीमा सीमित युभेन्टसकाे जित

इटालियन सिरी ’ए’ फुटबलमा उत्कृष्ठ प्रदर्शन गर्न चुकिरहेको युभेन्टसले च्याम्पियन इन्टर मिलानलाई पराजित गरेको छ । दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको युभेन्टसले इन्टरमाथि कठिन जित निकालेको हो ।

गएराति भएको खेलमा युभेन्टसले इन्टरलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा २४औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३५ औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा जुवान क्वाड्राडोले गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए ।

खेलको ५५औँ मिनेटमा रोड्रिगोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा समेटियो । यता, खेलको इन्जुरी समयमा मार्सेलो बोर्जोभिकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि इन्टर पनि १० खेलाडीमा समेटिएको थियो ।

खेलको ८३औँ मिनेटमा युभेन्टसका जर्जियो चिलिनीले आत्मघाती गोल गरेपछि खेल २–२ को स्थितिमा पुग्यो । तर, खेलको ८८औँ मिनेटमा जुवानले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ३–२ को जित दिलाए ।

इन्टरमाथिको जितसँगै युभेन्टस लिगको चौथो स्थानमा उक्लिएको छ । युभेन्ट्सले ३७ खेलमा ७५ अंक जोडेको छ । च्याम्पियन बनिसकेको इन्टर ८८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।





  • प्रकाशित मिति : जेठ २, २०७८ आइतबार ८:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया