logo-img

मकवानपुरमा कोरोनाबाट हालसम्म ७० को मृत्यु

कोरोना संक्रमणका कारण मकवानपुरमा हालसम्म ७० जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार स्वास्थ्य संस्थामा उपचार गर्ने क्रममा र होम आइसोलेसनमा बसेकाहरू ७० जनाको ज्यान गएको हो ।

जिल्ला बाहिर पनि मकवानपुर जिल्लाका थुप्रै संक्रमितहरूको ज्यान गए तापनि एकिन विवरण स्वास्थ्य कार्यालयले राख्न सकेको छैन । यस्तै हेटौंडा अस्पतालमा जिल्ला बाहिरका संक्रमितहरूको मृत्यु संख्या पनि अझै उपलब्ध छैन । 

हेटौंडा अस्पतालमा थप ४ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा उपचाररत कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्लाका ३ जना र रौतहट जिल्लाका एक जना छन् । 

बिहीबार राति ११ बजेर ४५ मिनेटमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ का ७४ वर्षीय पुरुषको मृत्यु भएको छ भने शुक्रबार बिहान ७ बजेर ३० मिनेटको समयमा हेटौंडा-११ का ६० वर्षीय पुरुषको मृत्यु भएको हेटौंडा अस्पताल कोभिड वार्डका सूचना अधिकारी राजदेव झाले जानकारी दिए । 

यस्तै शुक्रबार बिहान ९ बजेर ३० मिनेटमा रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका-१ का ४६ वर्षीय पुरुषको आकस्मिक कक्षमै उपचारको क्रममा मृत्यु भएको झाले जानकारी दिए । हेटौंडाका दुवै जनाको भने आइसियुमा उपचाररत थिए ।



कार्यपालिका सदस्य रत्नलालको निधन

हेटौंडा उपमहानगरपालिकाका नगर कार्यपालिका सदस्य रत्नलाल विश्वकर्माको शुक्रबार कोरोना संक्रमणको कारण मृत्यु भएको छ । नेकपा एमालेको जिल्ला सदस्य विश्वकर्माको ५८ वर्षको उमेरमा दिउँसो ४ बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो । दलित आन्दोलनका हस्ती विश्वकर्मालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । 



उनीसहित पछिल्लो २४ घण्टामा मकवानपुरमा ४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

कन्ट्रयाक्ट ट्रेसिङ नहुँदा उच्च जोखिम 

लगातार कोरोना संक्रमण बढिरहे तापनि संक्रमितको सम्पर्कमा आएकाहरू क्वारेन्टाइनमा नबस्दा संक्रमितको संख्या कमी भएको छैन । कोरोना संक्रमितको रेखदेख गर्नेहरू यता-उता डुल्दा संक्रमण बढिरहेको हो । विशेष गरी होम आइसोलेसनमा बसेकाहरूका आफन्त र भेट्न आउने जानेहरूले कोरोना फैलाइरहेका हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताए ।

संक्रमितहरू आफैं बजार नडुले तापनि संक्रमितको सम्पर्कमा आएकाहरू बजार निस्किँदा कोरोना बढिरहेको हो । अहिले मकवानपुर जिल्लामा कोरोना संक्रमितहरू अधिकांश होम आइसोलेसनमा बसेका छन् । स्वास्थ्य अवस्था कमजोर भएकाहरूलाई मात्रै अहिले संस्थागत आइसोलेसनमा बसेका छन् । होम आइसोलेसनमा बसेकाहरू र उनीहरूको रेखदेख गर्नेहरूले ध्यान नदिँदा कोरोना संक्रमण हेटौंडामा भुसको आगो जसरी बढिरहेको छ ।

  • प्रकाशित मिति : जेठ ७, २०७८ शुक्रबार २०:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया