आठ नेता जसलाई आज मन्त्री बनाउँदैछन् प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक विस्तार गर्दैछन् ।

प्रधानमन्त्री ओलीले यसअघि पुनर्गठन गरेको मन्त्रिपरिषदमा सात मन्त्रालय खाली थिए । खाली भएका ती मन्त्रालयमा उनले नयाँ नेताहरुलाई मन्त्री बनाउने भएका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्य नाम पठाइसकेका छन् । आज साँझ चार बजे राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरुले सपथ लिँदैछन् ।

प्रधानमन्त्री ओलीले यसपटक गृह मन्त्रालयको जिम्मेवारी खगराज अधिकारीलाई दिँदैछन् । कास्कीका खगराज अधिकारी यसअघि स्वास्थ्यमन्त्री समेत भइसकेका थिए । उनी प्रधानमन्त्री ओलीका खास सहयोगीका रुपमा चिनिन्छन् ।

त्यस्तै, आजै नैनकला थापालाई प्रधानमन्त्री ओलीले सूचना तथा सन्चारमन्त्री बनाउँदै छन् । नैनकला थापा यसअघि राष्ट्रिय  महिला आयोगकी अध्यक्षसमेत भएकी थिइन् । उनी पूर्वगृहमन्त्री रामबहादुर थापाकी श्रीमती हुन् ।

त्यस्तै, उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीले जसपा नेता राजकिशोर यादवलाई दिँदै छन् । पछिल्लो समय जसपामा विरोध भइरहँदा यादवले महन्थ ठाकुर र राजेन्द्र महतोलाई सहयोग र समर्थन गर्दै आएका थिए । यादव मन्त्री भएसँगै यो मन्त्रिमण्डलमा जसपाका आठ नेता मन्त्री भएका छन् ।



त्यस्तै, माओवादीबाट एमालेमा आएको समूहबाट ज्वाला शाहले कृषि तथा पशुपक्षी मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन् ।

प्रधानमन्त्री ओलीले यसपटक सामान्य प्रशासन मन्त्रालयमा गणेश पहाडीलाई नियुक्त गर्दैछन् । सिन्धुलीका सांसद पहाडी एमालेमा योगेश भट्टराई निकटका नेता मानिन्छन् ।



कर्णालीका सांसद मोहन बानियाँलाई पनि मन्त्री बनाउँदै छन् प्रधानमन्त्री केपी शर्मा ओलीले । ओलीले बानियाँलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिँदै छन् । 

सुदूरपश्चिमबाट एमाले सांसद नारादमुनी राना वनमन्त्री हुँदैछन् ।

प्रधानमन्त्री ओलीले यसपटक पनि रक्षा मन्त्रालयको जिम्मेवारी आफूसँग नै राखेका छन् । अहिले मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा प्रधानमन्त्री ओलीले आशा विकलाई राज्यमन्त्रीको जिम्मेवारी दिने भएका छन् ।

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १३:१७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया