२५ सदस्यीय भयो ओली मन्त्रिमण्डल, यस्ता छन् नयाँ सारथि

चुनावी सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सात मन्त्री र एक राज्यमन्त्री थपेका छन्। यससँगै ओली मन्त्रिपरिषद् अब २५ सदस्यीय भएको छ। 

ओलीले माओवादी केन्द्र र माधव नेपाल पक्ष छाडेर आएकाहरुलाई मन्त्रि पद उपहार दिएका छन्। 

 ओलीले नेपाल समूह छाडेका सिन्धुली गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री बनाएका छन्। उनी नेपालनिकट नेता योगेश भट्टराईका विश्वासपात्र हुन्। पहाडी प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला गत वैशाख २७ मा  संसदमा थिएनन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिएनन्। योगेशसँगै उनी पनि देउवालाई नसघाउने पक्षमा उभिएका थिए। 

पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई गृहमन्त्री बनाइएको छ। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई सर्वोच्च अदालतले पदमुक्त गरेपछि ओलीले खाली रहेको गृहमा अधिकारीलाई ल्याएका हुन्। उनी कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए। 

२०७४ मा कास्कीबाट चुनाव जितेका उनी एमाले प्रमुख सचेतक पनि भएका थिए। माओवादी केन्द्र र एमालेबीच एकता भएपछि उनलाई प्रमुख सचेतकबाट हटाएर देव गुरुङलाई लगिएको थियो। 

अर्कातिर जसपाका नेता राजकिशोर यादव उद्योग मन्त्री भएका छन्। जसपाको महन्थ ठाकुर समूहका करिब १८ देखि २० जना नेतामध्ये आधाभन्दा धेरै मन्त्री भएका छन्। उनी तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्षमण्डलमा पनि थिए। यादव जसपामा महन्थ ठाकुरनिकट नेता हुन्। 



कैलालीका नारदमुनि राना वन तथा वातावरण मन्त्री भएका छन्। राना विघटित प्रतिनिधिसभा सदस्यमा कैलाली ५ बाट प्रतिनिधित्व गर्थे। २०७४ को निर्वाचनमा उनले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई हराएका थिए। ०६४ सालको संविधानसभा सदस्यमा पनि विजयी राना २०५४ सालमा धनगढी उपमहानगरपालिका उपप्रमुख भएका थिए। 

सर्वोच्चको जेठ ६ को आदेशबाट पदमुक्त भएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा पत्नी नै‌नकला थापा पनि मन्त्री भएकी छन्। बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री भएकी छन्। नैनकला २०६४ सालमा महिला आयोगको अध्यक्ष भएकी थिइन् ।



बादलसँगको सहमति अनुसार प्रधानमन्त्रीले मन्त्रिमण्डलमा पूर्व माओवादी समूहबाट दुईजना तानेका छन् । नैनकला सञ्चारमन्त्री बन्दा ज्वाला साह कृषिमन्त्री भएकी छन्। साह बारा क्षेत्र नम्वर ३ बाट विघटित प्रतिनिधि सभा सांसद थिइन्। 

२०५४ सालमा ज्वाला भूमिगत नेकपा माओवादीमा संगठित उनले यसअघि २०६७ सालमा भूमिसुधार राज्यमन्त्रीका रुपमा भूमिका निर्वाह गरिसकेकी छन्। 

ज्वालाकुमारी तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा-२ निर्वाचित भएकी थिइन् । उनी फागुन २३ मा नेकपा खारेज भएपछि ओली समूहतिर लागेकी थिइन् । पार्टी फेरेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले उनीसहित चार जनालाई सांसद पदबाट बिदा गरेका थिए।

प्रचण्डले साहलाई सांसदबाट निकालेपछि ओलीले प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन्। यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य मोहन बानियाँ पनि मन्त्री भएका छन् । उनको मन्त्रालय खाली छ। उनलाई ईश्वर पोखरेललाई जस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखेका छन्। 

बानियाँलाई नेकपा एमालेले २०७४ सालको निर्वाचनमा (पिछडिएको क्षेत्र/पुरुष) कोटाबाट समानुपातिक सांसद बनाएको थियो। बझाङबाट विघटित प्रतिनिधि सभाकी समानुपातिक सांसद आशा विकलाई वन राज्यमन्त्री बनाइएको छ। 

  • प्रकाशित मिति : जेठ २७, २०७८ बिहीबार १६:२८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया