हालसम्मकै उच्च बिन्दुमा नेप्से, कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट सेयर बजारलाई कस्ने अनुमानका बाबजुद सेयर बजारले भने लय छोड्ने संकेत देखिएको छैन ।

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारले पुनः ऐतिहासिक रेकर्ड कायम गरेको छ । सेयर बजारमा जेठ ३० गते आइतबार एकै दिन १९ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो रकम एकै दिन कारोबार भएको हालसम्मकै उच्च हो ।

यसअघि जेठ २३ गते आइतबार १७ अर्ब २७ करोडको सेयर कारोबारको रेकर्ड थियो । एक सातामै पुरानो रेकर्ड २ अर्ब २८ करोडको कारोबार रकम बढेर तोडिएको हो । यस दिन २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता सेयर कुल १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँमा खरिद–बिक्री भएको छ ।

साताको अन्तिम कारोबारको दिन बिहीबार १.८० अंकले घटेर २९४४.७८ बिन्दुमा बन्द भएको बजार आइतबार २९८३.११ बिन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १.३० प्रतिशत अर्थात् ३८.३२ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । यसअघि जेठ २५ गते कायम भएको २९६०.१४ को उच्च बिन्दुलाई आइतबार नेप्सेले तोडेको हो ।

यस दिन २९६५.७७ बिन्दुदेखि खुलेको बजार २८५७.८८ बिन्दुसम्म झरेर उकालो लागेको हो । डेढ महिनादेखि जारी निषेधाज्ञाका कारण अन्य व्यावसायिक क्षेत्र बन्द रहँदा सेयर बजारमा सबै क्षेत्रको लगानी भित्रिएको छ ।

दैनिक बजारमा लगानी बढ्दै जाँदा बजारको स्वच्छता एवम पारदर्शिता तर्फ पनि सरोकारवाला निकायले ध्यान दिइरहेका छन् । आइतबारदेखि नै लगानीकर्ताले टिएमएसमा भएको अल अर नन (एओएन) सुविधा प्रयोग गर्न पाएनन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले आइतबारदेखि नै खरिद आदेशमा मात्र उक्त सुविधा प्रयोग गर्न नमिल्ने व्यवस्था लागू गरेको छ । 



लगानीकर्ताकै सुविधाका लागि उपलब्ध गराएको एओएन सेवाको दुरुपयोग गरी कृत्रिम मूल्य सृजना गरेको भन्दै नेप्सेले बोर्डको निर्देशनमा उक्त सेवा प्रयोग गर्न नमिल्ने बनाएको हो ।

यो सेवाको प्रयोग गरी लगानीकर्ताले खरिद वा बिक्री आदेश प्रविष्टि गर्दा सबै कित्ता सेयर कारोबार हुन्छ । आदेश दिएकोभन्दा कम सेयर कारोबार हुँदैन । अब भने आफ्नो खरिद आदेशभन्दा कम बिक्री आदेश हुँदा पनि कारोबार गर्न सकिने व्यवस्था लागू भएको हो । धेरै लगानीकर्ताको बुझाइमा नपरेको यो विषयका कारण कारोबारमा भने कुनै समस्या नपर्ने नेप्सेले बताएको छ ।



नेप्सेमा रहेका १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ८.२४ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त उपसमूहको परिसूचक ७.१४ प्रतिशत, जलविद्युतको ६.१ प्रतिशत र होटल तथा पर्यटनको ४.७३ प्रतिशत बढेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशत घटेको छ ।

३ दर्जनभन्दा बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन नेप्से र कारोबार रकमले नयाँ रेकर्ड कायम गरेसँगै ३ दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये विकास बैंक, फाइनान्स कम्पनी, जलविद्युत् कम्पनी र होटलहरू रहेका छन् ।

यस दिन श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स, समृद्धि फाइनान्स, आईसीएफसी फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ ।  यसबाहेक अन्य ३९ ओटा  कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १६:१८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया