माधव-प्रचण्डसहित पाँच नेताको विज्ञप्ति : प्राकृतिक विपत्तिबाट क्षतिको जिम्मेवार सरकार
पूर्वतयारी नगर्दा संकट आएको जिकिर

विपक्षी गठबन्धनका पाँचजना नेताले पछिल्लो समय निम्तिएको प्राकृतिक विपत्तिको दोष सरकारमाथि लगाएका छन्। एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच नेताले बिहीबार निकालेको विज्ञप्तिमा सरकारको गैरजिम्मेवारपनकै कारण सिन्धुपाल्चोकको मेलम्चीसहितका विपद् निम्तिएको जिकिर गरेका हुन्। 

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, दुर्गा पौडेल र उपेन्द्र यादवले प्राकृतिक विपत्तिको सामनाका लागि सरकारले उदासीनता देखाउँदा संकट आएको बताएका हुन्। 

'प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवारपन देखाएको छ', उनीहरुले बिहीबार संयुक्त विज्ञप्ति निकालेर भनेका छन्, 'सरकारले पीडितको उद्धार र राहतका लागि तत्काल काम थाल्नुपर्छ, यसमा सरकारका अंगले तदारुकता देखाऊन्।'

विज्ञप्तिमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली दिँदै नेताहरुले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्। बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायत उद्धार र राहतका काम प्रभावकारी बनाउन पनि उनीहरुले सरकारसँग माग गरेका छन् । 

विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ-आफ्ना स्थानबाट योगदान गरी पीडितलाई सहयोग दिन पार्टी कार्यकर्ता तथा संघसंस्थालाई उनीहरुले आह्वान गरेका छन्।





  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १५:९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया