[अन्तर्वार्ता] १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व दोस्रो पुस्ताका नेताले गर्छन् : शशांक कोइराला
म, विमलेन्द्र र प्रकाशमान मध्ये एकजना उम्मेदवार हुन्छौं

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी नेतृत्व दोस्रो पुस्ताका नेताले गर्ने बताएका छन् । उनले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने उद्घोष गरे । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताए ।

तेरो र मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी उनले गरे । नेता पुत्र त्रयको भेटघाट गुट उपगुटको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाई सभापतिको उम्मेदवार चयनका लागि आवश्यक वातावरण बनाउने कार्यमा केन्द्रित भएको उनले स्पष्ट पारे । आसन्न महाधिवेशन, क्रियाशील सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा कोइरालासँग न्युज एजेन्सीले गरेको अन्तरवार्ताको सम्पादित अंश :

महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रूपमा ?

सबैभन्दा पहिला म पार्टीकै तयारीको कुरा गर्न चाहन्छु । अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको छैन । यो अन्त्य-अन्त्यसम्म आइपुगेको छ । मलाई लाग्छ यो महिनाको अन्त्यसम्म क्रियाशील सदस्यताको अन्तिम टुंगो लाग्छ र एउटा खाका तयार हुन्छ त्यसपछि हामी अधिवेशन तर्फ जान्छौँ । अहिले पार्टीको ध्यान नै क्रियाशील तर्फ छ । आज पनि हाम्रो मिटिङ भएको थियो ।

क्रियाशील सदस्यतामा के गर्ने भनेर कुरा भएको थियो । केन्द्रीय सदस्यहरू रामचन्द्र दाइ, शेखर डाक्टर साहेब, मिनेन्द्र रिजाल र अन्य सदस्यहरु पनि हुनुहुन्थ्यो । हामी क्रियाशील सदस्यतालाई कसरी टुंगो लगाउने भनेर छलफल गर्दै थियौं । क्रियाशील टुंगो नलगाइकन त हामी महाधिवेशनमा जान सक्तैनौँ । त्यही नै अवस्था हो ।

क्रियाशील सदस्यता तत्काल टुंगो लाग्न सक्ने अवस्था देखिएको छैन । यसले महाधिवेशनलाई पो प्रभाव पार्छ कि भन्ने आशंका पैदा भएको छ । कि त्यो आशंका गलत हो ?



यो महिनाभित्र क्रियाशील सदस्यता टुंगा लगाउन सकिएन भने त आशंका त भइहाल्यो नि । क्रियाशील सदस्यको बारेमा हरेक जिल्लामा केही न केही छ । भन्छन् ४६ जिल्लामा भइसक्यो । त्यसमा पनि उजुरी आएका छन्, त्यसलाई पनि हेर्नु पर्‍यो । तसर्थ अहिलेको अवस्थामा भन्न सकिँदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुँदैन । प्रश्न चिह्न छ । तर, हाम्रो ध्यान त्यतैतिर गएको छ । र हामी क्रियाशील सदस्यता छिटो टुंग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौं ।

अहिले शीर्ष नेताका तीनजना पुत्र नेताको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन् । अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रित गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन् । खासमा कुरा के को ?



खासमा विमलेन्द्र निधिले नै इनिसियट गरेको हो । सबैभन्दा पहिले उहाँको वैवाहिक सम्बन्धको ३५ वर्ष भएको थियो । त्यो दिन प्रकाशमान सिंह र मलाई बोलाउनुभयो । दोस्रो पटक यही मिटिङ गर्‍यौं र तेस्रोपल्ट प्रकाशमानजी कोमा । हाम्रो भनाइ के थियो भने, हामी पनि एकै ठाउँमा उभिनु पर्‍यो । सभापतिका लागि हामी ३ जनामध्ये कोही लड्छ भने ठिकै भयो । हामीमध्ये एकता हुनु पर्‍यो भन्ने कुरा आयो । यसमा धेरै कुरा उत्पन्न छन् ।

एउटा कि- विमलेन्द्र निधिले शेरबहादुर जीलाई छाड्नुभयो भन्ने पनि संकेत देखिन्छ । दोस्रो कुरा हामी तिनै जनामध्ये एकजना लड्ने, तर त्यत्तिले पुग्दैन । रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ, प्रकाशमान र म त छँदै छौं । विमलेन्द्र निधि हुनुहुन्छ । मैले के भनेँ भने, हामी तीन जनाबाट ५ जना गरौं, ५ जनाबाट ७ जना गरौं, ताकि हामी एउटै सूत्रमा बाँधिन सकौँ भन्ने धारणा हाम्रो थियो । तर यता आएर हाम्रो बीचमा केही छलफल भएको छैन ।

हामी तीनजना एक ठाउँमा उभियौँ भने वेभ पनि आउँछ र पार्टी संगठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ विमलेन्द्र निधिले । राम्रो पनि भयो । नकारात्मक पक्ष पनि छन् तर त्यो भन्दा भन्दै पनि हामीले तीनैजना एकै ठाउँमा (नेता पुत्रहरू) एकै ठाउँमा उभियो भने नेपाली कांग्रेस एकैठाउँमा आउँछ भन्ने संकेत प्रष्टै दिएको छ ।

मुलुकको समूल राजनीतिक अवस्था प्रतिकूल भएकाले नेतृत्व परिर्वतन नगरौं भन्ने आवाज पनि छ फेरि यता नेतृत्व परिवर्तनका लागि तपाईंहरुको पहल पनि भइरहेको छ । ठ्याक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको ?

समय त आएको छ । मेरो भनाइ के हो भने । अधिवेशन आउँदै छ । हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ । किनभने हाम्रो दुर्दशा भएको छ अहिलेको अवस्थामा । यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौं ।

कसरी हुन्छ परिर्वतन ? कसले गर्छ परिर्वतन ? त्यो प्रश्न त आजसम्म यथावत नै छ । तसर्थ, हामी ३ जना, ५ जना, ७ जना हुँदै समूहलाई ठूलो पार्दै गयौं भने एकै ठाउँमा उभिन सक्ने सम्भावना हुन्छ । त्यसले पार्टीलाई  पनि मजबुत पार्छ । एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एकजना मात्रै उम्मेदवार भयो भने हामी सजिलोसँग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो प्रोग्राम सञ्चालन गरेको हो ।

तीनै जना नेतृत्वको आकांक्षी हुनुहुन्छ , कि त व्यवस्थापन गर्न पर्‍यो, कि त तिनै जना लड्नु पर्‍यो । व्यवस्थापन गर्न सकिन्छ ? कुनै उपाय छन् ?

यो त हामीबीचको वार्ताबाट नै समाधान हुनसक्छ । होइन भने त तीनै जनाले लड्नु पर्‍यो । वार्तामा बसेर कुनै टुंगोमा त पुर्‍याउनु पर्‍यो नि । हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौं भनेर त एकजना मात्रै उभिनु पर्‍यो नि । तीनै जना उभियौँ भने त फेरि परिर्वतन हुँदैन । त्यसैले हामी तीन जनाले यति के भन्नुपर्‍यो भने हामी मध्ये एक जना उभियौँ भने सजिलोसँग हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ भन्ने मलाई लागेको छ ।

अनि त्यो समयमा रामचन्द्र र शेरबहादुरजीको व्यवस्थापन कसरी गर्नुहुन्छ  ?

शेरबहादुर जीको धेरै उमेर पनि भइसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतार-चढाब भयो । उहाँहरू दुवैले अभिभावकका रूपमा बस्नु पर्छ । तैपनि उहाँहरू पनि प्रत्यासी त हुनुहुन्छ । उहाँहरूलाई हामीले सम्झाउन सक्नु पर्‍यो ।

तपाई अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् । धेरै बुढो भइसक्नुभयो । उहाँहरू कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरू आफैं लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी अप्ठयारो हुन्छ ।

अहिले महामन्त्री हुनुहुन्छ । तपाईको आफ्नो तयारी कस्तो छ ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ ?

सबैभन्दा पहिले त मैले अधिराज्यभरिका कांग्रेसका कार्यकर्ताहरूसँग भेटघाट गरिरहेको छु । उनीहरूको राय, सल्लाह, सुझाव एउटा त्यो भयो । दोस्रो कुरा नेताहरू बीचमा पनि संवाद हुनु जरुरी छ । हुन त कुरा भइरहेको छ नभएको होइन । शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्र जीसँग पनि कुरा त भइरहेको छ । हामी यही आधारमा अगाडि बढ्यौं भने एउटा टुंगोमा पुग्छौं । म हुन्छु वा को हुन्छ । जो सुकै होस् एकजना उभिनुपर्छ अहिलेको दृष्टिकोण मेरो त्यही नै हो ।

आफ्नो कार्यकालमा शशांक कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्ति गर्‍यो, त्यसमा केही बोलेनन् । नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनयन गर्ने कुरा भए, त्यो बेला पनि बोलेनन् । जुन बेला नबोल्नुपर्ने थियो धर्मनिरपेक्षता लगायत विषयमा त्यसबेला बोले किन ?

म भन्न चाहन्छु । शेरबहादुरजी हाम्रो सभापति उहाँकै कार्यकालमा हाम्रो यत्रो हार भयो । हरेकले उहाँको विरोध गरे । म मात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेन्ड गरें । मैले के भनेँ भने उहाँको मात्रै गल्ती होइन । हामी पनि पदाधिकारी हौं । हाम्रो पनि उत्तिकै गल्ती हो । म ढाल बनेँ शेरबहादुरजीको । मैले शेरबहादुरजीलाई धेरै सेभ गरेको हुँ ।

म पनि विरोधमा गएँ भने पार्टी अझ छिन्नभिन्न र बिग्रेर जान सक्ने अवस्था थियो त्यसैले उहाँको प्रोटेक्टमा उभिएको हुँ । जहाँसम्म किन बोलिनस् भन्ने कुरा छ नि त्यसमा मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपर्थ्यो । विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टी भित्र ? त्यो हिसाबले म बोलिनँ ।  

पार्टी विधान, संविधानभन्दा बाहिर गएर धर्मका बारेमा एकपटक मात्रै होइन तीन पटकसम्म त बोल्नु भयो नि ?

हाम्रो संविधान बन्दै थियो । त्यो बेला मैले सुशील दा’लाई भनें,  ‘हेर्नुहोस् सुशील दा, यो बिपी कोइरालाले बनाएको पार्टी यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो । तपाईंले धर्मनिरपेक्षता किन गर्दै हुनुहुन्छ ? उहाँ हतारमा हुनुहुन्थ्यो । ५, ७ दिन मात्रै बाँकी थियो ।

उहाँले भन्नुभयो, ‘यो प्रेसर छ मलाई के गर्छस् । पछि यो चेञ्ज गरौंला ।’ त्यो भनिसकेपछि  मैले बोल्ने कुरा आएन । किनभने संविधान नै दिनुभएन भने त सुशील कोइराला पनि फेलियर भएर जानुहुन्छ । उनले अन्तमा संविधान दिन त सफल हुनुभयो नि । यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि । त्यो उपलब्धि पनि जान सक्ने सम्भावना देखेँ । त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई ।

सभापतिको उम्मेदवारी दिँदै गर्दा यहाँका मुद्दाहरू के के हुनेछन् ?

सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ । हाम्रो धराशायी हुने प्रथम कारण के हो भने टुक्रा-टुक्रा भएको, गुट उपगुटहरूले ध्वस्त पारेको छ । सभापति आजको मितिमा पनि तेरो मान्छे, मेरो मान्छे भन्नुहुन्छ । उहाँ  त सबैको सभापति हो नि । उनले आफ्नो धारणा परिर्वतन गरेको भए उहाँनै सफल सभापति हुनुहुन्थ्यो तर उहाँले आजको मितिसम्म ‘उसको मान्छे, मेरो मान्छे’, भन्नुहुन्छ । म के चाहन्छु भने पार्टीलाई एक बनाऔं ।

पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन । बिपी कोइरालाले सभापतिय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरु मनोनित हुनुपर्छ किनभने प्रेसिडेन्सियल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनु पर्‍यो तर ऊ आइसकेपछि उसले आफ्नो शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनु पर्‍यो ।

महामन्त्री एकजना, उपसभापति  यस्तै गरेर उसको पार्टीप्रतिको पकड बलियो हुनु पर्‍यो । सबैले लडेर हुँदैन । अधिवेशन भइसकेपछि  महासमिति डाकेर यो विधानमा परिर्वतन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु ।

शासकीय स्वरूपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ । यसमा तपाईंको टिप्पणी के छ ?

प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै वर्षदेखि उठिरहेको छ । म वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु । पहिले दलको नेता हुन्छ । हाउसमा आफ्नो बहुमत ल्याउँछ । त्यही अनुसार हामी जानुपर्छ । प्रेसिडेन्सियल सिस्टम, डाइरेक्ट चुनाव प्रेसिडेन्सको, त्यो हाम्रो लागि राम्रो हुँदैन ।

अब महाधिवेशनकै प्रसंग, क्रियाशील सदस्यको छिनोफानो, उम्मेदवारको लगायत टुंगो लागेर महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला ?

सबैभन्दा पहिला त क्रियाशील सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुंग्याउनुपर्छ । त्यसमा हामी लागि रहेका पनि छौं । समिति बनाएर जिम्मा पनि लगाएका छौं । अरु पार्टीबाट आएका पनि समावेश हुनु पर्‍यो । विजय गच्छदारको पार्टी, सुनिल थापाजीको पार्टीको क्रियाशील पनि समावेश हुनु पर्‍यो र त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनु पर्‍यो । मलाई लाग्छ यो शिघ्र नै सम्पन्न हुन्छ । त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ ।

  • प्रकाशित मिति : असार २६, २०७८ शनिबार १५:२६:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया