अमेरिकी खोप लगाउँदा जहाँ देउवा, त्यहाँ अमेरिकी राजदूत

अमेरिकाले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप लगाउन थालिएको छ । आजदेखि काठमाडौं उपत्यकासहित देशभर नै खोप अभियान सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

जोन्सन खोप अभियानको प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका विभिन्न अस्पतालमा पुगेर निरीक्षण समेत गरेका छन् । अनुगमनको क्रममा प्रधानमन्त्री देउवाले खोप केन्द्र व्यवस्थित बनाउन पनि निर्देशन दिएका थिए । 

प्रधानमन्त्री देउवाले उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा सञ्चालन गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले सञ्चालन गरेको कुपन्डोल खोप केन्द्रको अनुगमन गरेका थिए । 

प्रधानमन्त्री देउवासँगै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि खोप केन्द्रको अनुगमनमा निस्किएका थिए । राजदूत बेरीले अमेरिका सधैँ नेपाल र नेपालीको हितमा रहेको बताएका थिए । अनुगमनको क्रममा प्रधानमन्त्री समेत सहभागी भएकोमा खुसी व्यक्त गर्दै धन्यवाद समेत दिए । 

अमेरिकाले कोभ्याक्स सुविधामार्फत १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई दिएको थियो । १२ जुलाईमा नेपाल आइपुगेको खोप समयमै प्रदेशमा पठाउन नसकिँदा तुरुन्तै खोप अभियान सञ्चालन गर्न सकिएको थिएन । 

अनुगमनको क्रममा प्रधानमन्त्री देउवाले आफ्नो सरकारको प्राथमिकतामा नै खोप भएको प्रतिक्रिया दिएका थिए । जोन्सन खोप ५० देखि ५५ वर्षसम्मको उमेर समूहका व्यक्तिलाई लगाइँदैछ ।



त्यस्तै, पूर्ण र अति अशक्त (वर्ग क र ख) अपाङ्गता भएकाहरू, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरुलाई खोप लगाइँदैछ ।



  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १४:४१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया