जोन्सन एन्ड जोन्सन खोपप्रति अविश्वास, खोप लगाउने प्राथमिकता नै परिवर्तन

जोन्सन एन्ड जोन्सन खोप लगाउने प्राथमिकता परिवर्तन गरिएको छ । काठमाडौं जिल्लामा आजदेखि १८ वर्ष माथिका सबैलाई जोन्सन एन्ड जोन्सन खोप दिइएको छ । यसअघि ५० देखि ५५ वर्ष उमेर समूह, पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु लगायतलाई खोप लगाउने कार्यतालिका थियो । 

खोप लगाउन आउनेको संख्या एकदमै कम भएपछि सरकारले खोप प्राथमिकता नै परिवर्तन गरेको हो । काठमाडौं उपत्यकामा साउन ४ गतेदेखि आजसम्म जोन्सन एन्ड जोन्सन खोप कार्यक्रम सञ्चालन भएको छ । खोप लगाउन आउनेको संख्या कम भएपछि आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागका परिवार कल्याण शाखाका प्रमुख डा. तारानाथ पोखरेलले जानकारी दिए । 

काठमाडौं जिल्लाका ४४ वटा खोप केन्द्रमार्फत आज १८ वर्षभन्दा माथिको सबै उमेर समूहलाई जोन्सन एन्ड जोन्सन खोप लगाइएको हो । भोलि पनि खोप दिइने उनको भनाइ छ । 

अहिलेसम्म बागमती प्रदेशमा ७८ हजार ४३५ र गण्डकी प्रदेशमा २ हजार ९१७ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । दुई प्रदेशमा गरेर आजसम्म ८१ हजार ३५२ जनाले खोप लगाएका छन् । 

अमेरिकाले कोभ्याक्स सुविधामार्फत १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप अनुदानमा दिएको थियो । खोपप्रति अविश्वास बढेपछि जोन्सन खोप लगाउन आउनेको संख्यामा कमी आएको पोखरेलको भनाइ छ । 

एक डोज मात्रा लगाए पुग्ने यो खोपबारे विभिन्न अफवाह फैलिइरहेको छ । जसले गर्दा खोप लगाउनेको संख्यामा कमी आएको उनको भनाइ छ । खोप केन्द्रमा भेरोसेल वा अन्य खोप लगाउन आउने र जोन्सन एन्ड जोन्सन खोप लगाउन लागिएको भन्ने थाहा पाएपछि खोप नलगाइकन फर्किने गरेका छन् ।  



प्रधानमन्त्री शेरबहादुर देउवाले नै खोप अभियानको शुभारम्भ गरेका थिए । जोन्सन एण्ड जोन्सन खोपले न्युरोलोजिकल डिस्अर्डरको समस्या देखिएको छ । अमेरिकाको खाद्य विभागले उक्त समस्या देखिएको भन्दै कम्पनीलाई सचेत गराएको छ । 

उक्त समस्या देखिएपछि नेपालमा पनि खोपप्रति चासो र डर बढेको हो । खोपबारे अनावश्यक रूपमा अफवाह फैलिएको डा. पोखरेलको भनाइ छ । 



  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार १८:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया