असोजभित्रै सबै नागरिकलाई कोरोना खोप लगाउन कति सम्भव ?
आवश्यक मात्रामा खोप आए एक महिनाभित्रमा नै अभियान सकिने

यसवर्ष अर्थात २०७८ को चैतसम्ममा सबैलाई कोरोनाविरुद्धको खोप दिने योजनाअनुसार अहिले नेपालभर खोप अभियान चलिरहेको छ । अहिलेसम्म ३५ लाख ४४ हजारभन्दा बढीले खोपको पहिलो डोज लगाइसकेका छन् । त्यस्तै १५ लाख ३ हजारभन्दा बढीले दुवै डोज लगाइसकेका छन् । 

नेपालमा २ करोडभन्दा बढीलाई खोप दिने लक्ष्य राखिएको छ । चैतसम्म सबै लक्षित समूहलाई खोप दिने लक्ष्य निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको थियो । 

तर, वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले त्यो समयसीमा परिवर्तन गर्न खोजिरहेको छ । अहिलेको सरकारले जतिसक्दो चाँडो सबै नागरिकलाई खोप दिएर कोरोना महामारीबाट सुरक्षित राख्ने सोच बनाएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले असोजभित्र नै सबैलाई खोप दिने गरी खोप कार्यतालिका परिवर्तन गर्ने योजना अघि सारेका छन् । त्यसका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर खोप कार्ययोजना नै परिवर्तन गर्न अनुरोध गरेका हुन् । खोप खरिदका लागि बजेटको कमी हुन नदिने भन्दै अर्थमन्त्री शर्माले जुन–जुन देशबाट खोप लिन सकिन्छ, त्यसका लागि पहल गर्न आग्रह गरेका थिए । 

असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्रसमेत धरापमा पर्न सक्ने भन्दै त्यसका लागि जतिसक्दो चाँडो खोप दिनुपर्ने उनको भनाइ थियो । 

के सरकारले असोजभित्र नै सबै लक्षित समूहलाई कोरोना खोप लगाइसक्छ ? 
यस प्रश्नमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको रोचक जवाफ आउँछ । उनीहरूको बुझाइमा सबै लक्षित समूहलाई खोप लगाउन चैतसम्म नै कुर्नुपर्दैन । ‘खोप त बढीमा एक महिनाभित्रमा लगाइसकिन्छ । त्यसका लागि सबैभन्दा पहिला खोप हुनुप¥यो ।’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने । 



यसअघि गत माघमा खोप अभियान सुरु हुँदा निवर्तमान प्रधानमन्त्री ओलीले तीन महिनाभित्रमा सबैलाई खोप लगाइसकिने बताएका थिए । त्यो बेला सिधा हिसाब गर्दा तीन महिनाभित्रमा खोप लगाउन पनि सकिन्थ्यो । तर, अवस्था पुरै परिवर्तन भयो । जसबाट नेपालका आवश्यक पर्ने खोप पाउने आश गरिएको थियो, अन्तमा त्यहीँबाट आपूर्ति बन्द भयो । 

नेपालका लागि आवश्यक पर्ने खोप भारतबाटै आउने र सहजै खोप अभियान सकिने प्रधानमन्त्रीको हिसाब थियो । तर, भारतमा देखिएको दोस्रो लहरको कोरोना महामारी, खोप कम्पनीमा भएको आगलागी जस्ता कारणले खोप निर्यातमा रोक लाग्यो । भारतले खोप निर्यातमा रोक लगाएपछि नेपालले बल्ल अन्य मुलुकतिर आँखा लगायो । 



अहिले नेपालले चीनबाट ४० लाख डोज खोप किनेको छ । त्यस्तै, अमेरिकाबाट १५ लाख डोज खोप अनुदानमा पाएको छ । जापानले पनि १६ लाख डोज खोप दिने घोषणा गरेको छ । चीनले फेरि १६ लाख डोज खोप अनुदानमै दिने घोषणा गरिसकेको छ । 

यसबाहेक पनि अमेरिका, भारत र रुसबाट थप खोप किन्ने प्रक्रिया अगाडि बढेको छ । आगामी चैतसम्म साढे चार करोड डोज खोप किन्ने तयारी स्वास्थ्य मन्त्रालयको छ । नेपालले चाहेर पनि तत्काल नै आवश्यकताअनुसार खोप पाउन गाह्रो छ । खोप उत्पादक कम्पनीले थोरै थोरै मात्रा गरेर उपलब्ध गराउन सकिने आश्वासन दिएका छन् । सोही आधारमा अघिल्लो सरकारले खोप कार्यतालिका बनाएको थियो । 

अर्थमन्त्री शर्माले भनेअनुसार असोजभित्र नै सबैलाई खोप दिन सम्भव नरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीको बुझाइ छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतम शर्माले खोप उपलब्ध भए वितरणमा कुनै समस्या नहुने बताए । ‘अहिलेसम्म खोप नै उपलब्ध नभएकाले वितरणमा समस्या देखिएको हो । खोप आयो भने लगाउन त एक महिनाभित्रमा नै सकिन्छ’, डा. शर्माले भने । 

यसअघि, केही साता अगाडि स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले अमेरिकी खोप कम्पनी जोनसन एन्ड जोनसनसँग वार्ता गरेका थिए । वार्ताको क्रममा कम्पनीले ९० दिन अगाडि खोप दिन नसकिने प्रष्ट पारेको थियो । नेपालले ४५ देखि ६० दिनभित्रमा दिन गरेको अनुरोधमा कम्पनीले त्यो सम्भव नहुने प्रष्ट पारेको थियो । जसले गर्दा खोप कम्पनीबाट नेपालको माग अनुसार खोप दिन नसक्दा असोजभित्रमा खोप दिन सम्भव नहुने डा. शर्माको भनाइ छ ।

अहिलेसम्म खोप ल्याएको एक महिनाभित्रमा खोप लगाइसकिएको छ । नेपालसँग  अहिले ४० लाख डोजसम्म खोप भण्डारण गर्न सक्ने क्षमता छ । त्यही आधारमा दैनिक १० हजार जनालाई खोप लगाउन सकिने गरी जनशक्ति पनि छ । यसलाई थप विस्तार गरेर पनि खोप अभियान चलाउन सकिने शर्माको भनाइ छ । सबैभन्दा महत्वपूर्ण कुरा खोप आयात नै रहेको उनको भनाइ छ । 

  • प्रकाशित मिति : साउन १४, २०७८ बिहीबार १८:५३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया