टोकियो ओलम्पिक : अस्ट्रेलिया र क्यानडा महिला फुटबलको सेमिफाइनलमा

टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलमा शुक्रबार भएका आ-आफ्नो खेलमा जित हात पार्दै अस्ट्रेलिया र क्यानडा सेमिफाइनल प्रवेश गरेका छन् । 

अस्ट्रेलियाले बेलायतमाथि अतिरिक्त समयमा ४-३ को रोमाञ्चक जित दर्ता गर्यो । 
इबराकी काशिमा रंगशालामा निर्धारित ९० मिनेट भित्र दुवै टोलीले २-२ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । 

अस्ट्रेलियाको जितमा साम केरले २, एलन्ना केनेडी र मेरी फुलरले १/१ गोल गरे । बेलायतका लागि एलेन ह्वाइटले ह्याट्रिक पूरा गरिन् ।  

खेलको ३५ औँ मिनेटमा केनेडीले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएकी थिइन् । त्यसपछि ह्वाइटले ५७ र ६६ औँ मिनेटमा गोल गर्दा बेलायत २-१ ले अगाडि बढ्यो ।

८९ औँ मिनेटमा केरले गोल गर्दै अस्ट्रेलियालाई २-२ को बराबरीमा ल्याइन् । १०३ औँ मिनेटमा फुलर र १०६ मिनेटमा केरले गोल गर्दै टोलीलाई ४-२ को अग्रता दिलाए । 

११५ औँ मिनेटमा ह्वाइटले ह्याट्रिक गर्दै बेलायतलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । 



शुक्रबार नै मियागी स्टेडियममा क्यानडाले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-३ गोल अन्तरले पराजित गर्यो । 

निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । 



  • प्रकाशित मिति : साउन १५, २०७८ शुक्रबार १७:५३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया