६५५ आधारभूत अस्पताल शिलान्यासमै सीमित : बन्नुपर्ने २ वर्षमा, १ वर्षसम्म जग्गा खोज्दै

पाँचथरको कुम्मायक गाउँपालिका अन्तर्गत रहेको याशोक स्वास्थ्य चौकीमा १५ शय्याको आधारभूत अस्पताल बन्दैछ। २०७७ मंसिर १५ गते संविधानसभा सदस्य आइन्द्र सुन्दर नेम्बाङले अस्पतालको शिलान्यास गरेका थिए। शिलान्यास गरेको करिब ९ महिना बितिसकेको छ।

अहिलेसम्म शिलान्यासबाहेक केही काम भएको छैन। १८ करोडको लागतमा बन्न लागेको उक्त आधारभूत अस्पताल बल्ल निर्माण प्रक्रियामा गएको छ। 

उक्त अस्पताल निर्माणका लागि धेरै निर्माण व्यवसायीले टेण्डर हालेका थिए। ती मध्ये काठमाडौंको एक कम्पनीले निर्माणको जिम्मा पाएको गाउँपालिकाका इन्जिनियर महेन्द्र बास्कोटाले जानकारी दिए।  

०००००
इलामको सूर्योदय नगरपालिका अन्तर्गत रहेको फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रमा पनि १५ शय्याको आधारभूत अस्पताल बन्दैछ। २०७७ मंसिर १५ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा अस्पतालको शिलान्यास गरिएको थियो। 

अहिले डिपिआरको काम सकेर भवन निर्माणका लागि ठेक्का लागिसकेको छ। १२ करोड ७० लाखको लागतमा भवन निर्माणका लागि ठेक्का लागिसकेको सूर्योदय नगरपालिकाका स्वास्थ्य संयोजक धनराज यादवले जानकारी दिए। 

असार १५ गतेतिर ठेक्का लागेको तर, वर्षाद्का कारण काम अगाडि बढ्न नसकेको उनको भनाइ छ। गत आर्थिक वर्षमा आधारभूत अस्पताल निर्माणका लागि एक करोड बजेट आएको थियो। त्यही बजेटबाट डिपिआर तयार पार्ने, टेण्डर आह्वान गर्ने, होडिङ बोर्ड लगाउने लगायतका काम गरिएको स्वास्थ्य संयोजक यादवको भनाइ छ। 



चालु आर्थिक वर्षबाट भवन निर्माणको काम सुरु हुने र दुई वर्षभित्रमा भवनसम्पन्न भइसक्ने यादवले बताए।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुई वर्षभित्रमा सबै अस्पताल बनिसक्ने दावी गरेको थियो। शिलान्यास गरेको एक वर्ष बित्नै लाग्दा बल्ल ठेक्का लागेर निर्माणको काम अघि बढेको हो। 



०००००

उता खोटाङको ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा भर्खर डिपिआरको काम सकिएको छ। यहाँ १८ करोडको लागतमा १५ बेडको अस्पताल बन्दैछ। लामो समय डिपिआरको विवाद चलेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको भवन निर्माण कार्यविधि अनुसार त्यहाँ भवन बन्ने अवस्था थिएन।

पहाडी क्षेत्रमा ठूलो जग्गा पाउन समस्या भएपछि डिपिआर बनाउन नै समस्या भयो। इन्जिनियरहरूको धेरै पटकको प्रयासपछि बल्ल मन्त्रालयबाट स्वीकृत भएको गाउँपालिका स्वास्थ्य संयोजक रामकाजी नेपालीले जानकारी दिए। 

गत आर्थिक वर्षमा तीन करोड बजेट पाएको थियो। जुन बजेटबाट डिपिआर तयार पार्ने, भवन निर्माणका लागि टेण्डर आह्वान गर्ने लगायतका काम गरिने संयोजक नेपालीले बताए। डिपिआरबारे कुरा नमिल्दा कामले गति लिन नसकेको उनको भनाइ छ। 

०००००

कास्कीको मादी गाउँपालिका अन्तर्गत रहेको थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्याको अस्पताल निर्माणका लागि गत मंसिर १५ गते नै शिलान्यास गरिएको थियो। अहिले डिपिआरको काम सकिएर ठेक्का प्रक्रिया अगाडि बढेको छ। 

१८ करोड २३ लाख लागत अनुमान गरिएको भवनका लागि डिपिआर बनाउँदा २२ करोड पुगेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले जानकारी दिए। 

निजी जग्गा खरिद गरेर भवन बनाउनुपर्ने अवस्था थियो। जसका लागि मन्त्रिपरिषद्बाट निर्णय गरिएको थियो। जगा प्राप्तिपछि डिपिआरको काम भएको थियो। बैशाखमा ठेक्काका लागि टेन्डर आह्वान गरिएको थियो। असारको पहिलो सातातिर परेका प्रस्तावको अध्ययन गर्ने काम भएको र अबको केही दिनमा टेण्डर खोल्ने प्रमुख बरालले बताए। टेन्टरमाथि प्राविधिक अध्ययनको काम भइरहेको उनको भनाइ छ। 

ठेक्का खोलेर सबैभन्दा सस्तोमा बनाउने ठेक्कालाई सदर गर्दै भवन निर्माणको काम अगाडि बढ्ने प्रमुख बरालले बताए। अहिले भवन निर्माणको प्रक्रिया तीब्र गतिमा अगाडि बढेको उनको भनाइ छ। 

भएको थियो एकैदिन शिलान्यास

गतवर्ष मंसिर गते १५ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३९६ स्थानीय तहमा ५, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरेका थिए। निकै महत्वका साथ एकैदिन ओलीले अस्पतालको शिलान्यास गरेका थिए। 

कोरोना महामारीकै समयमा सरकारले आधारभूत अस्पताल निर्माणको कामलाई प्राथमिकतामा राखेको थियो। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई वर्षभित्रमा हरेक तहमा अस्पताल हुने र कोही पनि उपचार नपाएर मर्नुपर्ने अवस्थाको अन्त्य हुने दाबी गरेका थिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि दुई वर्षभित्रमा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने गरी तयारी थालेको थियो। तर, अस्पतालको शिलान्यास गरेको ९ महिनासम्म धेरैजसोमा भवन निर्माणका लागि टेण्डर आह्वान हुन सकेको छैन। 

अस्पताल निर्माणको कामले गति लिन नसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहलाई ताकेता नै गरेको थियो। 

शिलान्यास गरेको झण्डै ९ महिनाको अवधिमा पनि डिपिआर तयार पार्ने, जग्गा प्राप्ति गर्ने लगायतका काम मात्र भइरहेका छन्। वहुवर्षे योजना अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३९६ वटा अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रूपैयाँको बजेटको स्रोत सुनिश्चित गरिएको थियो।

त्यही दिन सात वटै प्रदेशमा ५०–५० शय्याका सरुवा रोग अस्पतालहरू निर्माणका लागि पनि शिलान्यास गरिएको थियो। सरुवा रोग अस्पतालका लागि प्रति अस्पताल ८ करोड रूपैयाँका दरले बजेट सुनिश्चित गरिएको तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका थिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ स्थानीय तहमा, प्रदेश २ मा ५३ तहमा, बागमती प्रदेशमा ५१ तहमा, गण्डकी प्रदेशमा ५३ तहमा, लुम्बिनी प्रदेशमा ५७ तहमा, कर्णाली प्रदेशमा ४२ तहमा र सुदूरपश्चिम प्रदेशमा ५४ तहमा आधारभूत अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको थियो। 

मन्त्रालयको गम्भीर ध्यानाकर्षण

आधारभूत अस्पताल निर्माणको प्रगति शून्य भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहको ध्यानाकषर्ण गराएको थियो। साउन १२ गते देशभरका ६५५ स्थानीय तहलाई ध्यानाकषर्ण गराउँदै काम अगाडि बढाउन निर्देशन दिइएको थियो। 

मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ मा ३९६ र आर्थिक वर्ष २०७८/०७९ मा २५९ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेटको व्यवस्था गरेको थियो। तर,  धेरैजसो स्थानीय तहले अहिलेसम्म अस्पताल निर्माणका लागि आवश्यक जग्गाको सुनिश्चिता, डिपिआर तयार पार्ने काम पनि गर्न सकेका छैनन्। 

लामो समयसम्म पनि जग्गाको उपलब्धता, डिपिआर तयार तथा टेन्डर सम्झौता भइनसकेको भन्दै मन्त्रालयले सबै स्थानीय तहको ध्यानाकषर्ण गराएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले काम अगाडि नबढाउने स्थानीय तहलाई बजेटको व्यवस्था नगरिने बताए। 

अस्पताल निर्माणका लागि आवश्यक जग्गाको सुनिश्चितता गरी डिपिआर तयार पारेर मन्त्रालयमा पेश गर्ने स्थानीय तहलाई मात्र बजेटको व्यवस्था गरिने साउन १२ गते सचिवस्तरीय बैठकले निर्णय गरेको थियो।

अब जग्गाको सुनिश्चिता र डिपिआर तयार गरी मन्त्रालयमा पेश नगरिएका स्थानीय तहलाई मात्र बजेटको दिन नसकिने महाशाखा प्रमुख डा.लोहनीले बताए। 

मन्त्रालयले ताकेता गरेपछि अहिले भने स्थानीय तहबाट धमाधम प्रस्ताव पेश भइरहेको उनको भनाइ छ। 

भवन बनाएर मात्र हुँदैन

अहिले भएका अस्पतालमा नै आवश्यक जनशक्ति व्यवस्था गर्न सकिएको छैन। यस्तो अवस्थामा नयाँ बन्न लागेका अस्पताल सञ्चालनमा ठूलो चुनौती थपिनेछ। अस्पताल निर्माणले मात्र सबै कुरा पूर्ण नहुने स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. दीर्घसिंह बमको भनाइ छ। 

कोरोना महामारीको समयमा जनशक्तिको अभावमा अस्पतालमा रहेका उपकरण समेत सञ्चानल गर्न सकिएको थिएन। अहिले पनि धेरै अस्पतालमा आइसियू, एक्स–रे, भेन्टिलेटर लगायतका उपकरण सञ्चालन गर्न समस्या छ। यस्तो अवस्थामा नयाँ अस्पताल मात्र थप गरेर नहुने तर्क बमको छ। 

अस्पताल निर्माण सँगसँगै दक्ष जनशक्ति, आवश्यक स्वास्थ्य उपकरणको पनि व्यवस्था गर्न सकियो भने मात्र सार्थकता पाउने उनले बताए। ‘शहरी क्षेत्रमा रहेका ठूलाठूला अस्पतालमा रहेका मेसिनहरू त जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन’ उनले भने,  ‘अस्पतालले विज्ञापन आह्वान गर्दा पनि पदपूर्ति हुन सकिरहेको छैन।’

बजारमा दक्ष जनशक्ति नै नभएकाले समस्या भइरहेको अस्पतालहरूको गुनासो रहने गरेको बम बताउँछन्। अस्पतालको भवन निर्माणसँगै आवश्यक पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन पनि गर्नतिर ध्यान दिन सरकारलाई डा.बमको सुझाव छ। ​​

 

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार १२:३२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया