चार महिनामा विपद्का घटना : मानवीय क्षति आधा कम, आर्थिक क्षति बढ्यो

अघिल्लो वर्षको तुलनामा यस वर्षको पहिलो चार महिनामा विपद्का घटनाबाट हुने मानविय क्षति आधा कम भएको छ । सोही अवधिमा विपद्का घटनाबाट हुने आर्थिक क्षति भने बढेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ गते देखि साउन मसान्तसम्म विपद्का घटनाबाट १६८ जनाको मृत्यु भएको छ। अघिल्लो वर्ष २०७७ को सोही अवधिमा विपद्का घटनामा परी ३३८ जनाले ज्यान गुमाएका थिए । 

‘मानवीय क्षति कम हुनुको एउटा कारण पूर्वतयारी राम्रो हुनु हो । अर्को कारण पोहोर धेरै पानी परेको थियो जसको कारण मानवीय क्षति कम भयो । यो वर्ष मानवीय क्षति कम भए पनि आर्थिक क्षति भने धेरै भएको छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले फरकधारसँग भने । 

यस वर्षको वैशाखदेखि साउनसम्म १ हजार ४६२ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा परी ३७ जना बेपत्ता छन् भने ३७८ जना घाइते । सो अवधिमा विपद्का घटनाले ८९ करोड ५५ लाख ९३ हजार ९४२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । 

अघिल्लो वर्ष सोही अवधिमा १ हजार ५५६ वटा विपद्का घटना भएका थिए । ती घटनामा परी ५६ जना वेपत्ता र ५९७ जना घाइते भएका थिए । विपद्का घटनाले २०७७ को वैशाख देखि साउनसम्म ६० करोड ९१ लाख १७ हजार ३ सय रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । 

सबैभन्दा ठूलो मानवीय क्षति चट्याङबाट, आर्थिक क्षति आगलागीबाट 



यो वर्षको पहिलो चार महिनामा विपद्का घटनामध्ये चट्याङले सबैभन्दा बढीको ज्यान लिएको छ । प्राधिकरणका अनुसार चट्याङ लागेर ४२, पहिरोमा परी ४१, बाढीमा परी २९, अविरल वर्षाका कारण ८, सर्पको टोकाइबाट १२, आगलागीमा परी १३, डढेलोमा परी ३, हावाहुरीका कारण १ र जनावरको आक्रमणबाट १९ जनाको मृत्यु भएको छ । 

आर्थिक क्षति यो वर्ष सबैभन्दा बढी आगलागीका घटनाले पुर्‍याएका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार यो वर्ष आगलागीका घटनाबाट ७२ करोड ५१ लाख ८३ हजार ६१२ रुपैयाँ बराबरको क्षति भएको छ। दोस्रो ठूलो आर्थिक क्षति बाढीका घटनाले ६ करोड ५४ लाख ५२ हजार ५ सय रुपैयाँ बराबरको गरेको छ ।  



सबैभन्दा बढी क्षति गरेका पाँच जिल्ला 

प्राधिकरणको तथ्याङ्क अनुसार २०७८ वैशाख देखि साउन मसान्तसम्म विपद्का घटनाले सबैभन्दा ठूलो आर्थिक क्षति राजधानी काठमाडौंमा गरेको छ। उक्त अवधिमा विपद्का घटनाले काठमाडौंमा २२ करोड २९ लाख ६४ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ । 

विपद्का घटनाले बढी क्षति गरेका अन्य जिल्लामा सुनसरी, झापा, इलाम र बारा रहेका छन् । सुनसरीमा ११ करोड २८ लाख १ हजार ५ सय रुपैयाँ, झापामा ७ करोड ७४ लाख ६४ हजार रुपैयाँ, इलाममा ७ करोड ११ लाख २२ हजार ४ सय रुपैयाँ र बारामा ४ करोड ५५ लाख ५४ हजार रुपैयाँको आर्थिक क्षति विपद्का घटनाबाट भएको छ । 


 

  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १०:४४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया