logo-img

आधुनिक रेस्टुरेन्ट व्यवसायका प्रणेता श्याम सुन्दरलाल

‘श्याम सुन्दरलाल कक्षपतिले सन् १९७३ मा रत्नपार्कमा पहिलो ‘क्याफे डे पार्क’ रेस्टुरेन्ट खोलेका थिए। त्यो समय रेष्टुरेन्टमा खाना खाने बानी नै थिएन।  यति मात्रै होइन, कफी र आइसक्रिम खाने कुरा सोचभन्दा निकै बाहिर थियो। सिधा भाषामा भन्ने हो भने त्यो बेला पैसा हुनेहरू क्याफे डे पार्क जाने गरेको देख्थ्यो। म कलेज पढ्थेँ। मेरो टिम थियो। खुब जान्थ्ये।’

यो भनाइ होटल एसोसिएसन अफ नेपाल (हान)का वरिष्ठ उपाध्यक्ष विनायक शाहको हो। उनले स्वर्गीय श्याम सुन्दरलाल कक्षपतिलाई सम्झँदै भने, ‘त्यो समयदेखि चिन्थेँ श्याम दाइलाई जब म युवा विद्यार्थी थिएँ। उहाँकै कारणले नेपालमा चेन रेष्टुरेन्ट एण्ड क्याफेको विकास भएको हो।’ 

वि.सं. २००९ सालमा पाल्पामा पिता रामलाल कक्षपति र माता कृष्ण बदन कक्षपतिको काखबाट जन्मिएका थिए– श्याम सुन्दरलाल कक्षपति। 

पाल्पामा जन्मिएका कक्षपतिले दरबारमार्गमा पहिलो रेष्टुरेन्ट ‘नाङलो’ खोलेका थिए। नाङलोकै कारण स्वदेश र विदेशमा नेपाली खानाको ब्राण्ड भएको हानका वरिष्ठ उपाध्यक्ष शाहको भनाइ छ। कक्षपतिले व्यवसायिक जीवनमा धेरै आरोहअवरोह पार गरेको उनको विषयमा जानकार शाह बताउँछन्। 

शाहका अनुसार कक्षपति तानसेनमा जन्मिए पनि काठमाडौंको झोँछेमा हुर्किएका थिए। उनको किशोरकालमा झोँछे क्षेत्रमा हिप्पी संस्कृतिको दबदबा थियो। नेपालमा त्यही समयबाट व्यावसायिक पर्यटन उद्योगको थालनी हो।

मुलुकमा आधुनिक रेस्टुरेन्ट व्यवसायको प्रणेताको रूपमा परिचित कक्षपतिले रेस्टुरेन्ट व्यवसायको प्रवद्र्धनमा अग्रणी भूमिका निर्वाह गरेकै कारण आज नेपालमा चेन रेष्टुरेन्टले फड्को मारेको शाहको दाबी छ। 



आजभन्दा ४५ वर्षअघि नाङ्लो रेष्टुरेन्ट सुरु गरेर व्यावसायिक सफलता प्राप्त गरेका कक्षपतिको गत साउन २५ गते निधन भएको छ। उनको निधनले पर्यटन क्षेत्रमा अपूर्णीय क्षति भएको छ। 

त्यसबेला काठमाडौंमा अहिलेजस्तो रेष्टुरेन्टहरू थिएनन्। जति बेला मट्टितेल हालेर स्टोभ बाल्नु पर्ने समयबाट रेष्टुरेन्टलाई यहाँसम्म ल्याउनु 



सानो कुरा नभएको र यस कामलाई फत्ते गर्न उहाँकै योगदान रहेको अर्को होटल व्यवसायी सुनिल शाक्य बताउँछन्। 

क्याफे डे पार्क 

कक्षपतिलें २०३० सालमा रानीपोखरी छेउ (अहिले गणेशमान सिंहको साालिक भएको ठाउँ)मा काठमाडौंकै पहिलो क्याफे खोलेका थिए। यसको नाम थियो ‘क्याफे डे पार्क’। 

त्यति बेला कलेज अध्ययन गरिरहेका युवा पुस्ताका लागि हृयामवर्गर खाने मुख्य गन्तव्य बनेको हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहको भनाइ छ। यसरी क्याफेमा पुगेर ह्यामवर्गर खानेमध्ये शाह पनि एक थिए।  ‘हामी खुब जान्थ्यौँ।  युवा पुस्ताको लागि खाजा खाने नयाँ गन्तव्य भएको थियो,’ उनले भने, ‘अहिले सम्झँदा रमाइलो लाग्छ। यसरी सम्झना आउँछ श्याम दाइको।’ 

श्याम दाइले ‘क्याफे डे पार्क’ खोलेको तीन वर्षपछि दरबारमार्गमा नाङ्लो रेष्टुरेन्ट सञ्चालन गरेको शाहको भनाइ छ। त्यही बेला नाङ्लोमा बफ मःम खाने चलनको विकास भएको उनले बताए। 
  
४५ वर्षअघि दरबारमार्गमा नाङलो 

कक्षपतिले दरबारमार्गमा ४५ वर्षअघि नांगो रेष्टुरेन्ट सुरु गरेका थिए। जबकि त्यो समय नेपाली समाजमा रेष्टुरेन्टमा गएर खाना खाने चलनको विकास भएको थिएन।  यसकारण उनले रेष्टुरेन्टमा गएर खाना खाने संस्कार सिकाउने श्रेय पनि कक्षपतिलाई जान्छ। 

अर्कोतर्फ नांङ्लोले रोजगार पनि सृजना गरेको थियो। यसको आकर्षणसँगै विभिन्न ठाउँमा लेआवटहरू विस्तार भएको थियो। यसपछि देशभरि विभिन्न स्थानमा रेष्टुरेन्टको शाखा विस्तार भएको पाइन्छ। पछिल्लो समय काठमाडौंका विभिन्न स्थानका साथै बुटबल, तानसेन, बेनी लगायतका ठाउँमा शाखा बिस्तार गरिसकेको छ।

क्याफे संस्कृतिको विकास

त्यो समय अहिलेको जस्तो युवायुवती रेष्टुरेन्ट तथा क्याफेमा गएर खाने संस्कृति नै थिएन। त्यस्तो समयमा उनले जोखिम मोली क्याफेमा लगानी गरेका थिए। अहिलेका युवा पुस्तामाझ लोकप्रिय चिया कफीको गन्तव्य नै ‘क्याफे’ भएको छ। यसकारण क्याफे विकास विस्तार र प्रभावकारिताबारे दुर्गामी भएरै कक्षपतिले क्याफे बेकरी कदमलाई प्रवद्र्धन गरेको पाइन्छ। 

पुतलीसडकमा नाङ्लो बजार

होटल व्यवसायी शाहका अनुसार पुतलीसडकमा अहिले सेन्चुरी बैंक रहेको ठाउँमा २०३८ सालमा नाङ्लो सुपर मार्केट खुल्यो। नेपालको पहिलो सुपरमार्केट त्यही थियो। उनले सुपरमार्केटमा सफलता हासिल गर्न नसके पनि सुपरमार्केटको भविष्य नेपालमा रहेको अनुमान गरेका थिए।

नेपालमा २०५१ सालमा ‘एल्लो क्याव’ नामक ट्याक्सी कक्षपतिले नै सञ्चालनमा ल्याएका थिए। ‘उनको हरेक आइडिया न्यू हुन्थ्यो,’ शाहले फरकधारसँग भने, ‘यही भएर उहाँ नेपालको पर्यटन क्षेत्रमा पायोनियर हुनुहुन्थ्यो।’
 
कक्षपतिको निधनले समग्र पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको शाह जिकिर गर्छन्।  कक्षपति सन् २०१२ देखि २०१४ सम्म होटेल संघ नेपाल(हान) को अध्यक्ष भएका थिए। कक्षपति अध्यक्ष हुँदा मौलिक खाना र नेपालको प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अभियान सञ्चालन गरिएको शाहको भनाइ छ। 

नेपालमा चेन रेष्टुरेन्ट ‘बाजेको सेकुवा’का अध्यक्ष चेतन भण्डारीले फेसबुकमा लेखेका छन्, ‘जसलाई सधैं पच्छ्याएँ, जसलाई हेरेर सिक्ने कोसिस गरेँ, कक्षपति दाईको निधनको खबरले स्तब्ध छु, नेपाली रेष्टुरेन्ट क्षेत्रमा उहाँको योगदान सम्झिरहने छौँ।’ 

भण्डारीले यसरी कक्षपतिप्रति सम्मानभाव व्यक्त गरेका छन्।

नाङलो चाइनिज 

कक्षपतिले चिनियाँ नागरिकका लागि लक्षित गरी नाङलो चाइनिज रेस्टुरेन्ट समेत सञ्चालनमा ल्याएका थिए। त्यसपछि कक्षपतिले ‘नाङलो बेकरी’ पनि सुरु गरे। नाङ्लो बेकरीपछि फास्टफुड क्याफेको विकास गरे। यही बेकरी र क्याफेबाट अन्तिममा ‘बेकरी क्याफे’ सञ्चालनमा ल्याएको शाहले बताए।

कुरिनटारमा रिभर साइड स्प्रिङ रिर्सोट

मनकामना केवलकार चल्नु अगाडि कक्षपतिले चितवनको कुरिनटारमा रिभर साइड स्प्रिङ रिर्सोट सञ्चालनमा ल्याएका थिए। ‘दीर्घकालीन सोचका साथ रिभर साइटमा रिर्सोट खोल्ने पहिलो व्यक्ति नै श्याम दाइ हो,’ शाहले भने, ‘त्यसबेला नदी किनारमा कोही बास बस्न जाला भन्ने थियो। आज त्यही क्षेत्र पर्यटकीय साइट भएको छ।’ 

बेकरी क्याफे

काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा बेकरी क्याफेका चेन रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन्। यसमध्ये लोकेसनमा रहेको अर्को लेआवट हो ‘बानेश्वरको बेकरी क्याफे।’  जहाँ श्रवनशक्ति कमजोर भएका वा शारीरिक रूपमा कमजोर भएका वेटरहरूले पाहुनालाई न्यानो सेवा दिइरहेका छन्। 

शारीरिक रूपमा कमजोर भएकाहरुले केही गर्न सक्दैनन्, उनीहरू परिवारका लागि समेत बोझ हुन् भन्ने मान्यता रहेको समयमा कक्षपतिले आफ्नो रेष्टुरेन्टमा त्यस्तै कामदार राखेर प्रोत्साहन गरे। यो उनको जीवनको अर्को सफलता हो।
शुभतारा स्कुल

काठमाडौं उपत्यकामा नाम चलेका शैक्षिक संस्थामध्ये ‘शुभतारा स्कुल’ पनि एक हो। यो स्कुलका स्थापक पनि उनै कक्षपति हुन्। रेष्टुरेन्टसँगै शैक्षिक क्षेत्रमा समेत सम्भावना र अवसर देखेरै उनले शैक्षिक क्षेत्रमा लगानी गरेको पाइन्छ। आजभन्दा ३२ वर्षअघि शुभतारा स्कुल स्थापना भएको थियो।  

रेबानका संस्थापक अध्यक्ष

कक्षपति रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)का संस्थापक अध्यक्ष समेत हुन्। उपत्यकाभित्र र उपत्यका बाहिरका मुख्य सहरमा सञ्चालन भएका रेस्टुरेन्ट र बार व्यवसायीहरूको साझा एजेन्डा, समस्या र प्रवद्र्धनका लागि कक्षपतिले रेबान स्थापना गरेका थिए।

कक्षपतिकै कारण अहिले देशभरका रेस्टुरेन्ट र बारका व्यवसायीहरू रेबानमा आवद्ध रहेका छन्। यस्तै पोखरा लगायतका पर्यटकीय सहरमा रेबानका शाखाहरू खोलिएका छन्।  यसको श्रेय पनि उनैलाई जान्छ। 


नेपालमा रेस्टुरेन्ट तथा क्याफे कल्चर विकास गर्न कक्षपतिको विशिष्ट योगदान रहेको छ। कक्षपति रेबानका संस्थापक अध्यक्ष तथा होटल संघ नेपाल (हान)का पूर्व अध्यक्ष हुन्। 

मुखको क्यान्सरपछि निधन 

कक्षपति लामो समयदेखि मुखको क्यान्सरबाट पीडित थिए। करिब दुई महिनाअगाडि उपचारका लागि उनलाई बैंककको बरुमुनगार्ड अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। 

कक्षपतिले विगत लामो समयदेखि होटल संघ नेपालमा आवद्ध रही सन् २०१२ देखि सन् २०१४. सम्म होटल संघ नेपालको नेतृत्व गरेका थिए।

उनले गरेको योगदानलाई कदर गर्दै प्रवल जनसेवा श्री मानपदवीबाट उनी सम्मानित भएका थिए।

  • प्रकाशित मिति : भदौ ५, २०७८ शनिबार १७:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया