‘तालिबानले के भन्छन् होइन, के गर्छन् भन्नेमा विचार गर्नुपर्छ’

तालिबानले अफगानिस्तान कब्जा गरे पनि सरकार गठन गरिसकेको छैन। राजधानी काबुल कब्जा गरेलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा तालिबानका नेताले मानवअधिकार, महिलाअधिकार, बालबालिकाको अधिकारको सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका थिए, तर धेरैले त्यसलाई पत्याएका छैनन्। 

पछिल्ला दिन तालिबान लडाकुले पत्रकार र अमेरिकी सेनालाई सहयोग गर्नेको घर खोज्नेलगायतका क्रियाक्रिकलाप गरेका छन्। जसका कारण धेरैले तालिबानी आश्वासन नपत्याएका हुन्।  

२० वर्षपछि अफगानिस्तानको सत्तामा तालिबानको आगमन र उनीहरुका पछिल्ला क्रियाकलापले दक्षिण एसियालाई नै अस्थिर बनाउने हो कि भन्ने त्रास बढ्न थालेको छ। यसमा नेपाल पनि अछुतो रहन सक्दैन। 

अफगानिस्तामा तालिबानको उदयले नेपालमा देखिने भू–राजनीतिक जटिलता भन्दा पनि अहिले नेपालको चिन्ता त्यहाँ रहेका नेपालीको उद्धार कसरी गर्ने भन्ने नै रहेको विज्ञहरु बताउँछन्। 

‘सुरुमा त अफगानिस्तानमा कार्यरत नेपालीको भविष्य के हुने, उनीहरुलाई कसरी सुरक्षित नेपाल ल्याउने भन्ने चिन्ता थपियो। अब विस्तारै भू–राजनीतिक जटिलताहरु देखा पर्छन्,’ पूर्वराजदूत दिनेश भट्टराईले फरकधारसँग भने। 

तालिबानकै कारण अहिले सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सकेको छैन। अफगानिस्तानको फेरिएको अवस्थामा त्यहाँ रहेका नेपालीलाई एकत्रित गरी विमानस्थलसम्म ल्याउने संयन्त्र नहुँदा नेपाल सरकार अहिले अप्ठेरो अवस्थामा छ। जहाज छ, तर आफ्ना नागरिकको उद्धारमा पठाउन सकेको छैन। आफ्ना नागरिकको उद्धार गरिदेऊ भन्दै मित्र राष्ट्रलाई गुहार्न परेको छ। 



त्यसो त तालिबानले स्वदेश फर्कन चाहने विदेशीलाई कुनै अवरोध नगर्ने र उनीहरुको अधिकारको संरक्षण गर्ने बताएको छ। भट्टराई थप्छन्, ‘पत्रकार सम्मेलनमा तालिबानले जुन आश्वासन दिएका छन्, त्यो उनीहरुको विगत हेर्दा त्यति भरपर्दो छैन। तालिबानले के भन्छन् होइन, के गर्छन् भन्नेमा विचार गर्नुपर्छ।’

बिहीबार मात्र तालिबानले जर्मन मिडियामा कार्यरत एक पत्रकारको खोजी गर्ने क्रममा उनको नातेदारको हत्या गरेका छन्। तालिबानका यस्ता हर्कतले आगामी दिन अफगानिस्तान र दक्षिण एसियाको लागि त्यति सहज देखिँदैन।  



‘आगामी दिन अफगानिस्तान र तालिबान स्वयम्लाई त्यति सहज छैन। तालिबानभित्र पनि अबका केही दिनमा कट्टरपन्थी र उदारवादीबीच मतभेद हुने देखिन्छ। यस्तै अवस्था अन्य समूहमा पनि देखिन्छ, जसले अफगानिस्तानलाई थप अस्थिर बनाउने छ। यो अस्थिरताबाट अछुतो रहन नेपाललगायत दक्षिण एसियाली राष्ट्रलाई गाह्रो छ,’ नेपाली सेनाका अवकाशप्राप्त उपरथी विनोज बस्न्यात भन्छन्। 

अफगानिस्तानको अस्थिरताले नेपाललाई धेरै तरिकाले असर गर्ने देखिन्छ। पहिलो असर कामदारमा पर्ने छ। अहिले त्यहाँ रहेका नेपाली कामदारको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता छ। 

अबका केही दिनमा तस्करहरुले चोर बाटोमार्फत् अफगानिस्तान पुर्याउने नेपालीको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता थपिने छ। यसअघि पनि नेपालले रोजगारीको लागि अफगानिस्तान जान प्रतिबन्ध लगाउँदा तस्करले थुप्रै नेपालीलाई त्यहाँ पुर्याएका थिए। 

वैधानिक तरिकाले अफगानिस्तान जानेको भन्दा ठूलो संख्या अवैध तरिकाले पुग्नेको छ। वैदेशिक रोजगार विभागका अनुसार पछिल्लो १५ वर्षमा नेपालबाट वैधानिक तरिकाबाट १५ हजार ७३३ जना नेपाली अफगानिस्तान गएका थिए।

अफगानिस्तानमा तालिबानको उदय हुँदा त्यसले नेपालमा गर्ने अर्को असर भनेको अफगानी शरणार्थीको आगमन र उनीहरुले नेपाललाई बनाउन सक्ने सम्भावित ‘ट्रान्जिट’ हो। यसअघि पनि जब अफगानिस्तानमा संकट आउँथ्यो तब नेपालमा अवैध तरिकाले प्रवेश गर्ने अफगानीको संख्या बढ्थ्यो। 

केही अफगानीले नक्कली पासपोर्ट प्रयोग गरी नेपालबाट अन्यन्त्र जाने प्रयास गर्ने गरेको विगतमा देखिएको थियो। यसअघि सन् २०१४ मा सिरियामा द्वन्द्व चर्किंदा नक्कली पासपोर्टमा ठूलो संख्यामा सिरियाली नेपाल आएको थिए। 

युएनएचसिआरको तथ्यांकअनुसार हाल नेपालमा अफगानसहित विभिन्न देशका २१ हजारभन्दा बढी शरणार्थी रहेका छन्।

‘हाम्रो देशमा पनि राजनीतिक अस्थिरता छ। राजनीतिक अस्थिरता हुँदा सुरक्षा कमजोर बन्न जान्छ, तर नेपाल तुलनात्मक रुपमा सुरक्षित छ। दक्षिण एसियामा शक्ति राष्ट्रको चलखेल बढ्दो छ। यस्तो बेलामा जोकोहीले पनि यहाँ सुरक्षित महसुस गर्दै प्रवेश गर्न सक्छ,’ बस्न्यातले भने। 

तालिबानका कारण नेपालमा भू–राजनीतिक दबाब र प्रभाव दुवै बढ्न सक्छ। यसमा पाकिस्तान, भारत, जम्मु–कश्मिर पनि जोडिन आउँछ। पाकिस्तानमा मात्र होइन भारतमा पर्ने जम्मु–कश्मिरमा समेत तालिबान र अलकायदाको सञ्जाल रहेका छन्। अफगानिस्तानमा तालिबान बलियो हुँदा ती क्षेत्रमा रहेका तालिबान सदस्यको मनोबल बढ्ने छ। 

‘भारतमा आतंकवादी गतिविधि बढ्दा नेपाल हुँदै आतंकवादी आए भनेर आरोप लाग्थ्यो। यो भन्न छोडेको केही सयम भएको छ। तर, तालिबानका कारण गतिविधि बढे भारतले पुनः यस्तो आरोप दोहोर्याउन सक्छ,’ भट्टराई भन्छन्। अफगानिस्तान फेरि आतंकवादको हब बन्ने खतरा देख्छन् पूर्वराजदूत भट्टराई। 

विभिन्न समयमा शक्ति राष्ट्र र अन्तर्राष्ट्रिय संघ–संस्थाहरुले गरेको अध्ययनमा अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले नेपाललाई कुनै न कुनै रुपमा प्रयोग गर्दै आएको देखाएका छन्। गत वर्ष मात्र अमेरिकाले जारी गरेको ‘कन्ट्री रिपोर्ट्स अन टेरोरिजम २०१९’ मा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको लागि सुरक्षित आश्रय स्थल र ट्रान्जिट बन्ने खतरा रहेको जनाएको थियो। 

अमेरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपर्याप्त सुरक्षा प्रोटोकल र भारतसँगको खुला सीमाका कारण नेपाललाई अन्तर्राष्ट्रिय आतंकवादीले प्रयोग गर्न सक्ने जनाएको थियो। 

गत वर्ष स्विडेनको नर्डिक रिसर्च एन्ड मोनिटर नेटवर्कले जारी गरेको एक प्रतिवेदनमा टर्कीको अलकायदा समर्थित एक समूहले नेपालमार्फत् दक्षिण एसियामा आफ्नो सञ्जाल विस्तार गरेको आरोप लगाएको थियो। 

‘अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुले नेपालको सुरक्षा व्यवस्थालाई चुनौती हुने गरी भन्दा पनि भित्रभित्रै नेपाललाई असर नहुने, तर यहाँ बसेर बाहिरका गतिविधि गर्न सक्ने देखिन्छ। यसको लागि उनीहरुले ठूलो लगानी गर्न सक्छन्,’ अवकास प्राप्त उपरथी बस्न्यातको आकलन छ। 

नेपालमा बढ्दो राजनीतिक अस्थिरताले यसलाई थप मलजल गर्ने बुझाइ उनको छ। आउँदा दिनमा अध्यागमनको रेकर्ड राम्रोसँग राख्नु पर्ने सुझाव बस्न्यात दिन्छन्। यसो गर्न नसके अन्य देशले नेपालमाथि विश्वास गर्न नसक्ने उनी बताउँछन्। 
 

  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार ८:५१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया