आजबाट सुदूरपश्चिममा गौरा पर्व सुरु, पहिलो दिन बिरुडा भिजाइँदै

काठमाडाैं। सुदूरपश्चिमममा आजबाट गौरा पर्व सुरु भएको छ। पौराणिक कालमा भगवान शिव महेश्वरको प्राप्तिका लागि गौरा गौरी देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ। 

यस पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्।

सुदूरपश्चिम प्रदेशमा आज प्रसिद्ध पर्व गौरा देवीको प्रसाद बिरुडा भिजाइँदै छ। गौरा पर्वको पहिलो दिन आज विवाहित महिलाले नजिकैको धारा तथा पँधेरामा गएर पाँच प्रकारका गेडागुडी (गहत, मकै, गुराउँस, कलौ र गहुँ) बाट बनाइएका बिरुडा भिजाउन थालेका छन् । 

गौरापर्व मनाउने समुदायका महिलाले निरहार बसी आ–आफ्नो घरमा तामा वा पित्तलका भाँडामा बिरुडा अर्थात् पाँच थरिका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। 

बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिकरूपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याउने चलन छ।

गौरा पर्व अर्थात् भाद्र महिनालाई हरियाली अनि पानीका थोपाहरुसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाले सौभाग्यका रूपमा मनाउने चलन रहेको छ। 



बिरुडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हुतमा सामूहिकरूपमा बिरुडा धोएर गौराको प्रतिमा बनाई गौराघरमा भित्र्याइन्छ। 

गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने परम्परा रहेको दिपायल सिलगढी–२ का स्थानीयवासी तथा पण्डित मेखराज भट्टले जानकारी दिए।



उनका अनुसार गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन्। 

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख र माया प्रेम बाड्ने गरिन्छ। सुदूरपश्चिमेलीले दशैंभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन्। 

त्यसैले गौरामा एकै छिन भए पनि डेउडामा रमाउन परदेशिएका पनि घरपरिवार सम्झिएर फर्किने गर्छन्। गौरामा विवाहित चेली पनि माइत आउने चलन छ।

गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्ला र कुमाउँमा परापूर्वकालदेखि नै मनाइँदै आएको छ। यस वर्ष भने कोरोना महामारीका कारण गौराको खासै रौनक देखिएको छैन। 

  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार ९:४२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया