logo-img

मुकेश अम्बानीलाई गौतम अडानीको चिन्ता

जब जुन १४ मा अडानी ग्रुपका अध्यक्ष गौतम अडानीको नेटवर्थ ७७ अर्ब डलर पुग्यो, तब एसियाका सबैभन्दा धनी मुकेश अम्बानीलाई चिन्ता पर्‍याे । कतै आफूलाई आफ्नै देशका गौतमले त उछिन्ने होइनन् ? तर, मुकेशको चिन्ता त्यति लामो समय रहेन, अडानी ग्रुपको सेयरमा गिरावट आउन थालेसँगै गौतमको नेटवर्थ पनि घट्न थाल्यो ।

सेयर मूल्यमा आएको निरन्तरको गिरावटले गौतमको नेटवर्थमा ठूलो हानि पर्न गयो । ब्लुमबर्ग बिलिनायर्स इन्डेक्सका मुताबिक गौतम संसारका धनीहरूको सूचीमा २५औं नम्बरमा अड्किएका थिए । जुन १४ पछि आएको उनका कम्पनीहरूको सेयर मूल्यमा आएको गिरावट पनि लामो समय टिकेन । पुनः उकालो लाग्न थाल्यो । उनी २५औं नम्बरबाट २२ मा उक्लिए । र, गौतम अहिले ५८.८ अर्ब डलर नेटवर्थमा छन् ।

मंगलबार अडानी ग्रुपको दुई कम्पनीको सेयर मूल्यले बिएसईमा लगातार चौथो दिन पनि पाँच प्रतिशतको अपर सर्किट छोयो । अडानी ट्रान्समिसन र अडानी टोटल ग्यासको सेयर मूल्यमा उछाल आएको थियो । यी कम्पनीको सेयर लगातार आठौं दिनसम्म बढिरह्यो ।

यो महिनाको अहिलेसम्म अडानी ट्रान्समिसनको सेयर ३७ प्रतिशत र टोटल ग्यासको ३२ प्रतिशत बढेको छ, जबकि यो अवधिमा बिएसई सेन्सेक्समा ६ प्रतिशतमात्रै वृद्धि भएको छ । तीन महिनाअघि अडानी ग्रुपका कम्पनीहरूको सेयर ५२ साताकै उच्च बिन्दुमा पुगेको थियो । तर, मिडियामा आएको एक रिपोर्टका कारण यो समूहको सेयरमा गिरावट आएको थियो ।

भारतका यी दुई धनाढ्यबीच बेलाबखत सम्पत्ति वृद्धि र यिनका कम्पनीका सेयरमा आएको उतार-चढावले मिडियामा ठूलो स्थान पाउने गर्छन् । मुकेश लामो समयदेखि भारतका मात्र होइन, एसियाकै सबैभन्दा धनी व्यक्ति बन्न सफल हुँदै आएका छन् । र, उनलाई निरन्तर पछ्याइरहेका छन् गौतम अडानीले । यद्यपि, ती दुई अर्बपतिको नेटवर्थको दूरी अलि बढी नै छ । तर, गौतम पछिल्लो समय जुन गतिमा अघि बढिरहेका छन्, त्यसले भने मुकेशको चिन्ता बढाइदिएको छ ।

मुकेश १२औं नम्बरमा



भारतमात्र होइन, एसियाकै सबैभन्दा धनी मानिस हुन् मुकेश अम्बानी । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अहिले संसारको १२ औं धनी व्यक्ति हुन् । ब्लुमबर्ग बिलिनायर्स इन्डेक्स अनुसार उनको नेटवर्थ ८३.२ अर्ब डलर रहेको छ । यो वर्षमात्रै उनको सम्पत्तिमा ६.५३ अर्ब डलर वृद्धि भयो । रिलायन्सको सेयर सेप्टेम्बर १६ (२०२०) मा २,३६९ रुपैयाँको स्तरमा पुगेको थियो । 

त्यसबखत उनको नेटवर्थ ९० अर्ब डलर पुगेको थियो र उनी संसारको चौथो धनी बन्न सफल भएका थिए । तर, त्यसपछि उनका कम्पनीका सेयर मूल्यमा गिरावट आउन थाल्यो । उनको नेटवर्थ घट्दै गयो र उनी ‘टप १०’ धनाढ्यको क्लबबाट बाहिरिए । 



एलन मस्क नै शिखरमा

टेस्ला कम्पनीका प्रमुख कार्यकारी एलन मस्कले संसारको धनी व्यक्ति बन्ने सौभाग्य कायमै राखेका छन् । ब्लुमबर्ग बिलिनायर्स इन्डेक्स अनुसार, अहिले उनको नेटवर्थ १९३ अर्ब डलर रहेको छ । हरेक कुरा र व्यवसायले नयाँ ढंगले सोच्ने र लागू गर्ने मस्कलाई संसारको धनाढ्यको कुर्सीबाट तल ओराल्न निकै गाह्रो छ । उनले आफ्नो व्यवसायलाई विविधिकरण गर्नुका साथै समय सुहाउँदो बनाउँदै लगेका छन् । भारत दुई धनाढ्य मुकेश र गौतम दुवैजनाको सम्पत्ति मिलाउँदा पनि मस्कको जति पुग्दैन । यद्यपि, संसारका दोस्रो धनी व्यक्ति अमेजनका जेफ बेजोस र मस्कको सम्पत्ति भने उति फरक छैन । बेजोसका नेटवर्थ हाल १९२ अर्ब डलर रहेको ब्लुमबर्ग बिलिनायर्स इन्डेक्समा उल्लेख छ ।

तेस्रो नम्बरमा छन्, फ्रान्सेल लक्जरी गुड्स कम्पनीका मालिक बर्नार्ड आर्नल्ट । उनीसँग १६२ अर्ब डलर सम्पत्ति छ । माइक्रोसफ्टका को-फाउन्डर बिल गेट्स चौथो नम्बरमा छन्, उनको नेटवर्थ १५१ अर्ब डलर रहेको छ ।

अमेरिकी दबदबा कायमै

अमेरिकी मिडियाका वरिष्ठ व्यक्तित्व तथा फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्ग संसारका पाँचौ धनी व्यक्ति हुन् । उनीसँग १३६ अर्ब डलर सम्पत्ति छ । अमेरिकी कम्प्युटर साइन्टिस्ट तथा इन्टरनेट उद्यमी ल्यारी पेज १२६ अर्ब डलरसहित छैठौं र गुगलका को-फाउन्डर सेर्गेई ब्रिन १२२ डलरका साथ सातौं तथा सोही देशका व्यवसायी स्टिभ बाल्मर १०८ अर्ब डलर बोकेर आठौं नम्बरमा रहन सफल छन् ।

प्रख्यात लगानीकर्ता वारेन बफेटसँग १०४ अर्ब डलर सम्पत्ति छ र उनी संसारको नवौं धनाढ्यका रुपमा छन् । अमेरिकाकै ल्यारी एलिसनको नेटवर्थ १०२ अर्ब डलर रहेको छ । यसरी संसारका ‘टप-१०’ धनाढ्य अमेरिकी नागरिक नै रहन सफल रहेका छन् ।

(एजेन्सीहरूको सहयोगमा) 

  • प्रकाशित मिति : भदौ ११, २०७८ शुक्रबार १४:५३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया