कहीं नटिक्ने राजनीतिका ढुलमुले खेलाडी वामदेव

‘तपाईं अबचाहिँ यताउता नगर्नुस्,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुई महिनाअघिको बैठकमा वामदेम गौतमलाई भने । पछिल्लो पटक १७ असारको बैठकमा सहभागी भएका गौतमलाई अध्यक्ष ओलीले थर्काउँदै भनेको वाक्य हो यो । 

यसबाट स्पष्ट हुन्छ, नेता गौतम नेपालको राजनीतिमा अस्थिरताको पर्यायवाची बन्दै आएका छन् । एमाले विभाजनको आन्तरिक तयारी चलिरहेका बेला गौतम उक्त बैठकमा पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको थियो । केहीबेरपछि अध्यक्ष ओलीको थर्काइलाई गौतम आफैंले सम्बोधन गरे । उनले ओलीलाई जवाफ दिँदै भनेका थिए, ‘तपाईंको सुझावलाई मान्छु, तर म क्रिटिकल छु है भन्ने विषय पनि अवगत गराएको छु । जेजे शब्दहरू आउँछन् ती सबै समर्थन गर्ने व्यक्तिचाहिँ म होइन । ताली बजाउन पर्नेलाई बजाउने हो, समर्थन गर्ने हो, तर नबजाउन पर्नेलाई ठीक भएन भन्ने हो ।’

उनले थप प्रष्ट पार्दै सो बैठकमा भनेका थिए, ‘आजदेखि होइन जबदेखि कम्युनिस्ट आन्दोलनमा लागेको छु, त्यसबेलादेखि मैले त्यही बुझेको छु ।’ तर, नेकपा विभाजनको डिलमा पुगेदेखि नै एकताको आवाज उठाएका गौतमको यसअघिको राजनीतिक इतिहास पनि ढुलमुले नै छ । नेकपा विभाजन हुनुहुँदैन भनेर ‘राष्ट्रिय एकता अभियान’ नै सञ्चालन गरेका गौतम एमाले र माओवादी केन्द्र छुट्टिएपछि पनि तटस्थ नै देखिए । तटस्थ रहिरहँदा पनि गौतमका अभिव्यक्ति र भेटघाटले उनको अस्थिरता प्रकट गरिरह्यो ।

‘नेकपा विभाजनमा वामदेवको पासा’

तत्कालीन नेकपामा आन्तरिक द्वन्द्व चर्किरहेको बेला गौतमले आफूसँग रुष्ट पार्टी अध्यक्ष ओलीको प्रधानमन्त्री पद जोगाइदिन ६ बुँदे प्रस्तावको पासा फ्याँकेका थिए । त्यसपछि नै गौतम राष्ट्रियसभामा मनोनित भएका थिए । त्यसअघि सांसद बन्न नपाएको झोँकमा उनले अध्यक्ष ओलीको खेदो नै खनेका थिए । ०७४ सालको आमनिर्वाचनमा आफूलाई हराउन भूमिका खेलेको आरोप उनले ओलीमाथि पटक-पटक लगाए । 

कहिल्यै नेता माधव नेपालको नजिक बन्न नसकेका गौतमले एमालेमा विभाजनसम्म आउँदा पनि खुलेर ओलीको विरोध गर्न भने सकेनन् । माधवको समर्थन गर्न पनि सकेनन् । एमाले विभाजनको बाटो तय हुँदै गर्दा नै गौतम कहिले ओलीको किचेनसम्म पुगेर खिचिएको तस्बिर प्रदर्शन त कहिले प्रचण्डलगायतका नेताहरूसँगको उठबसलाई लिएर विभिन्न टिकाटिप्पणी भए । 



त्यतिबेला गौतमले गरेको एकता अभियानलाई उनको ढुलमुले चरित्रको अर्को उदाहरणका रूपमा धेरैले चित्रण गरे । नेकपा विभाजनपछि पूर्ववत् फर्किएको एमालेमा नेपाल र ओली दुई चिरा भइसके । तर, गौतम भने कतै खुलेर लागेनन् ।

स्वार्थपूर्तिका लागि कहिले यता कहिले उता गर्ने उनको स्वभावसँगै उनलाई पत्याउनेको संख्या पनि कम हुँदै गएको विश्लेषण पार्टीभित्र र बाहिरबाट हुन थालेको छ । पार्टी विवादमा लामो समय तटस्थ बसेका गौतम कुनै बेला नेपालको पक्षमा उभिएका थिए । पार्टी फुटे नेपालको साथ दिने दाबीसमेत उनले गरेका थिए । 



यसै क्रममा गत साउन १६ गते शनिबार अकस्मात तुल्सीलाल स्मृति भवनमा आयोजित बैठकमा उनी पुगे । उनले नेपालसँग गरेको बाचा एकपटक पुनः तोडिदिए । उनको रवैयासँग चित्त नबुझाउने मतदाताले कहिलेकाहीँ उनलाई पाठ पनि पढाउने गरेका छन् । कुनै अडानमा लामो समय उनी अड्न सकेको देखिएको छैन । एमाले एक हुनुपर्छ भन्ने गौतमले कहिले आफ्नो कित्ता ‘क्लियर’ गर्लान् ? यो प्रश्न अझै अनुत्तरित नै छ ।  

वामदेवको विगत

सानो कुरामै धेरै लोभिने नेताको रूपमा पनि वामदेव स्थापित छन् । तत्कालीन नेकपा विवाद उत्कर्षमा पुग्नुअघि प्रधानमन्त्री वा अध्यक्षबाट राजीनामा दिनुपर्ने भन्दै ओलीविरुद्ध मोर्चा नै बनेको थियो । नौ जना सचिवालय सदस्य रहेको त्यतिबेलाको हाइ कमाण्डमा गौतम निर्णायक जस्तै बनेका थिए । 

सचिवालय बैठकमा अप्रत्याशित रूपमा ओलीको राजीनामा माग भएपछि गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने माग ओलीले राखेका थिए । सोही बैठकमा अर्का अध्यक्ष प्रचण्डले भनेका थिए, ‘बल्ल बुझ्दैछु वामदेव कमरेडलाई पार्टीमा कसरी भकुण्डो बनाइएको रहेछ !’

विगत २५ वर्षको राजनीतिक उतार-चढावलाई मात्र हेर्दा पनि गौतमलाई बुझ्न सकिन्छ । उनी पटक-पटक विभिन्न नेता, गुट र शक्तिको अगाडि-पछाडि लागिरहे । गौतमको राजनीतिक जीवनका केही घटनाक्रममा फर्किंदा उनी प्रचण्डले भनेजस्तै भकुण्डो बनेको देखिन्छ । तर, उनलाई अरु कसैले भकुण्डो बनाएको नभई आफैं बनेका हुन् । 

नेकपा एमालेले ०५१ सालको मध्यावधि निर्वाचनमा ८८ सिट जितेर अल्पमतको सरकार चलाएको थियो । तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री र महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री भएर सरकारमा गएपछि गौतमलाई उपमहासचिवको जिम्मेवारी थमाइयो । सरकारबाट एमाले हटेपछि उपमहासचिवको पद विधानविपरीत भएको भन्दै माधव समूहले उनलाई जिम्मेवारीविहीन बनाएको थियो । त्यसयता प्रायः सधैं गौतम नेपालको विपक्षमा उभिँदै आए ।

२०५३ असोजमा महाकाली सन्धि संसदबाट अनुमोदन गर्ने बेला एमाले पार्टी विभाजनको तहसम्म पुग्यो । महाकाली सन्धिको विपक्षमा उभिएका गौतमले २०५४ को महाधिवेशनपछि पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए । अन्त्यमा आफ्नो पक्षका १४ जनालाई केन्द्रीय सदस्य बनाउन माधव नेपाल र केपी ओली पक्षले नमानेपछि गौतमले ०५४ मा पार्टी फुटाएका थिए । 

एमाले फुटाएर माले बनाएका गौतमलाई साइड लगाएर एमाले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा सहभागी भएको थियो । त्यही सरकारले ०५६ सालमा निर्वाचन गरायो । देशभरबाट २०५ सिटमध्ये गौतम नेतृत्वको मालेले एक सिट पनि जित्न सकेन । यसैबाट पनि उनको नेतृत्व क्षमता आकलन गर्न सकिन्छ । माले पार्टी चलाउन नसकेपछि गौतम पुनः ०५८ सालमा एमालेमै मिसिए । उनी माउपार्टीमा फर्किएपछि उनीसँग माले पार्टीमा लागेका कयौं नेताको विजोग भएको थियो । गौतम त्यसपछिका केही वर्ष राजनीतिको निर्णायक भूमिकामा देखिएनन् ।

तर, अकस्मात ०६४ सालमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बने । त्यतिबेला माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिकामा उनी देखिए । ०७० सालमा बर्दिया र प्युठान दुवैतिरबाट चुनाव जितेपछि उनको राजनीति पुनःस्थापित हुन पुगेको थियो । तर, त्यतिबेला उनलाई ओलीले प्रयोग गरे । गौतमकै सहयोगमा ओली झलनाथलाई हराएर संसदीय दलको नेता बने । त्यसपछि गौतम सुशील कोइराला सरकारमा उपप्रधानमन्त्री भए । ओलीलाई नवौं महाधिवेशनमा साथ दिए । त्यसबखत माधव नेपाललाई हराएर पार्टीमा ओली अध्यक्षमा निर्वाचित भएका थिए ।

०७४ सालको स्थानीय चुनावमा माओवादी कमजोर देखियो । कमजोर माओवादीलाई एमालेमा ल्याएर गठबन्धनमा प्रदेश र संघको निर्वाचन गराउन गौतमले प्रभावकारी भूमिका खेले । तर, तिनै गौतम बर्दियाबाट चुनाव हारे । चुनाव हारेर रन्थनिएका उनी त्यसयता पार्टी सचिवालयमा महत्वपूर्ण भूमिकामा देखा पर्न थाले । ओली र प्रचण्डको तानातानमा परेका गौतमलाई धेरैले ‘पेन्डुलम’ हुने भए भनेर टिप्पणी गर्न थाले । 

पछिल्लो पटक एमाले विवादमा पनि गौतम कहिले ओलीको बैठकमा त कहिले माधवसँगको निकटतामा अल्झिए । केन्द्रीय कमिटीको बैठकमा उपस्थित भएर ओलीलाई साथ दिएको सन्देश दिएका उनले अहिले माधवले खोलेको नयाँ पार्टीमा लाग्ने घोषणा गरेका छन् । उनीसँगै पत्नी तुलसा थापा पनि नेकपा (एकीकृत समाजवादी)मा रहने भएकी छन् । 

किन सधैं अस्थिर ?

दुई दशकको राजनीतिक इतिहासमा गौतमले अस्थिर भएरै कहिले फाइदा लिए त कहिले बिर्सनै नसक्ने चोट पनि भोगे । राजनीतिक विश्लेषक लोकराज बराल उनको यो आफ्नै शैली भएको व्याख्या गर्छन् । 

‘नेपालको राजनीतिज्ञको के कुरा गर्नु गर्न र ! कसैको स्वभाव नै निर्णय लिन नसक्ने खालको हुँदो रहेछ,’ बराल भन्छन्, ‘यसो हेर्‍याे आफ्नो सम्भावना जता हुन्छ त्यतै लाग्ने । फितलो के !’

राप्रपाका कमल थापाले ०४६ सालपछि पाँच पटक ओहोरदोहोर गरेको स्मरण गर्दै बराल भन्छन्, ‘यो उहाँ (वामदेव)को स्वभाव हो । राजनीतिमा अस्थिरता भइरहँदो रहेछ ।’

अर्का राजनीतिक विश्लेषक राजेन्द्र महर्जन नेपालको राजनीतिमा सबैजसो दलका नेताहरू अस्थिर नै भएको बताउँछन् । उनले भने, ‘वामदेव एउटा प्रतिनिधि पात्र बनेका छन् । कहीँ  जहाजमा गहिरो प्वाल पर्‍याे भने छिटो फुट्नेमध्ये एक वामदेव नै हुन्छन् । उनले त्यो खालको अस्थिरता पनि देखाएकै हुन् । तर, सबैजसो लिडरसिप पावर पोलिटिक्समा देखिने यही नै हो ।’

एमालेभित्र यो झनै बढी देखिँदै आएको समस्या भएको व्याख्या गर्दै उनले थपे, ‘आफूलाई सेन्टरमा राखेर कहाँबाट धेरै फाइदा हुन्छ भन्ने कुरामा उनीहरू लागेका छन् । त्यहाँ सिद्धान्तका कुरा, न्यायका कुरा, पार्टीका कुरा सबै सकिन्छन् ।’ गौतममा यो प्रवृत्ति अलि बढी नै देखिएको उनको आरोप छ । महर्जन भन्छन्, ‘वामदेवको भाषामा पनि चातुर्य छैन । व्यवहारमा पनि उनी लुकाउन सक्दैनन् ।’

उनीमाथि ‘आयाराम गयराम’ भन्ने शब्द प्रयोग सुहाउने उनको टिप्पणी छ । उनले भने, ‘त्यो किन प्रयोग हुन्छ भने जे जस्तो अवसर आउँछ त्यसलाई क्याच गरिहालौं भन्ने हुन्छ । नेपालको सन्दर्भमा पनि त्यो बढ्दै गएको छ ।’ पार्टी र संगठनप्रति जवाफदेही नभई गरिने यस्ता क्रियाकलापले आफूलाई मत दिने जनताको मनोभावनालाई पनि सम्बोधन गर्न नसक्ने उनले बताए । ‘आफ्नो स्वार्थलाई केन्द्रमा राखेपछि त आन्दोलन, पार्टी र सिद्धान्त भन्ने कुरा गौण बन्ने भए । ती सबै उनीहरूको आफ्नो स्वार्थकेन्द्रित हुन थाल्छन्,’ महर्जन भन्छन् । 

नेपालको राजनीतिमा देखिएको यस्तो प्रवृत्तिले पार्टी र स्वयम् राजनीतिज्ञलाई फाइदा नपुर्‍याउने उनको भनाइ छ । नेपालको राजनीतिमा गौतमजस्ता थुप्रै नेता छन् । अस्थिर र ढुलमुले चरित्रका ७३ वर्षीय गौतमको राजनीति कहाँ गएर टक्क अडिएला यसै भन्न नसकिने उनको विगतले देखाएको कतिपय विश्लेषक बताउँछन् ।  
 

  • प्रकाशित मिति : भदौ १४, २०७८ साेमबार १३:५२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया