logo-img

कोरोना महामारीमा ‘स्वास्थ्य बिचौलिया’, औषधिमा कालोबजारीदेखि नक्कली स्यानिटाइजरसम्म

महाराजगञ्जस्थित सेवक फर्माको व्यापार राम्रै चलिरहेको थियो । कोरोना महामारी सुरू भएपछि उनको व्यापार झनै बढ्यो । निलकण्ठ लम्सालले सञ्चालन गरिरहेको फर्मामा दीपक ढकाल काम गर्थे । उनको गोरखा आरुघाट गाउँपालिका-४ घर भई काठमाडौंको टोखा बस्ने २५ वर्षीय रफिक मियासँग राम्रो चिनजान थियो । रफिक अफिसियल रूपमा केही पनि काम गर्दैनथे ।

महामारीको समयमा कामकाज केही नभइरहेका बेला उनले नयाँ जुक्ति निकाले । जुन जुक्ति फर्माका ढकाललाई पनि बताए । र, दुवै जना त्यही जुक्तिअनुसार मनग्गे पैसा कमाउने बाटोतिर लागे । 

फर्मामा रहेको रेमडिसिभिर इन्जेक्सन कालोबजारी गरी बसुन्धरामा एक बिरामीका आफन्तलाई बेच्ने तयारीमा रफिक थिए । लगभग ३० हजार मूल्य पर्ने ६ थान रेमडिसिभिर इन्जेक्सन एक लाख २० हजारमा बेच्न दुवै जना तयार भए । त्यो बेचेको खण्डमा फर्मालाई पनि केही कमिसन आउँथ्यो । यो कुरा विशेष सूचनामार्फत् महानगरीय अपराध महाशाखामा पुग्यो । प्रहरी नै ग्राहक बनेर उक्त औषधि किन्न गयो । जहाँ रफिकलाई प्रहरीले रंगेहात पक्राउ गर्न सफल भयो । उक्त कुरा जानकारी पाउने बित्तिकै ढकाल फरार भए । 

२०७८ बैशाख १३ गते प्रहरी टोली फर्मा पुग्दा ढकाल फरार भइसकेका थिए । कोरोना संक्रमित व्यक्तिको उपचारको लागि आवश्यक पर्ने उक्त औषधि कालोबजारी गरेर बेच्न खोज्दा रफिक प्रहरी हिरासत पुगे । ढकाललाई अहिलेसम्म पनि प्रहरीले पक्रन सकिरहेको छैन । फर्मामा प्रहरीले सिल गर्‍याे । कोरोना महामारीको समयमा विरामीको सेवा गर्नुका साटो पैसाको लोभमा लागेका उनीहरू प्रहरी हिरासतमा पुगे । केही पैसाको लोभमा जनस्वास्थ्यमाथि नै खेलबाड गर्न लागेका उनी यतिबेला कानुनी दायरामा छन् ।

कोरोना महामारीको समयमा स्वास्थ्य क्षेत्रमा यस्ताखालका बिचौलियाको बिगबिगी निकै बढेको छ । हुन त यसअघि पनि स्वास्थ्यमा बिचौलिया नभएका भने होइनन् । तर, महामारीजस्तो गम्भीर समयमा पनि बिचौलियाले स्वास्थ्यलाई आफ्नो कमाउने समय ठान्नु दुःखको कुरा हो ।

औषधिका साथै कोरोना महामारीको समयमा स्यानिटाइजरमा पनि बिचौलियाको बिगबिगी देखियो । ‘नेपालय ह्यान्ड सेनिटाइजर’ भन्दै गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर उत्पादन तथा बिक्री-वितरण गर्ने समूह पनि प्रहरी फन्दामा पर्‍याे । कोभिड-१९ महामारीको समयमा मानव स्वास्थ्यका लागि घातक मानिएको इथानोल नामक रसायनको प्रयोग गरेर स्यानिटाइजर बनाउने दुई जनालाई अपराध महाशाखाको टोलीले गत असार १ गते पक्राउ गरेको थियो ।



नयाँ बानेश्वर बस्ने २२ वर्षीय सुजन गौतम र बझाङ, केदारस्यू-८ भण्डारा घर भई कोटेश्वर बस्ने २८ वर्षीय चन्द्रप्रसाद जोशीलाई प्रहरीले पक्राउ गर्‍याे । उनीहरू पक्राउ परे पनि कम्पनीका सञ्चालक काठमाडौं सामाखुसी बस्ने सुजन दाहाल भने फरार भएका थिए ।

उक्त स्यानिटाइजरमा इथानोल नामक केमिकल ६८ प्रतिशत मिसाइएको थियो । जुन मानव स्वास्थ्यका लागि निकै घातक छ । विशेष सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए । त्यसअघि प्रहरीले गत जेठ ९ गते पनि काठमाडौंका विभिन्न स्थानबाट गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा बिक्री-वितरण गर्ने गिरोहलाई पक्राउ गरेको थियो । 



कोभिड-१९ का कारण सिर्जित विकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने ह्यान्ड स्यानिटाजरको अत्यधिक माग भइरहेको बेला गुणस्तरहीन र नक्कली स्यानिटाइजर बनाउने गिरोह नै सक्रिय भएको प्रहरीले जनाएको छ । महामारीको समयमा उनीहरूले घर पूरै भाडामा लिएर करोडौं मूल्य बराबरको स्यानिटाइजरमा मानव स्वास्थ्यमा समेत गम्भीर असर पर्ने खालको रसायन मिसावट गर्दै आएका थिए । यसरी खुलेआम गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्दै महँगोमा बेच्ने गरेको अभियोगमा सुनसरी रामधुनी नगरपालिका-१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोलमा बस्ने आशीष प्याकुरेललाई गत जेठ ९ गते नियन्त्रणमा लिइएको थियो ।

औषधिमा कालोबजारी गर्ने, गुणस्तरहीन स्यानिटाइजर उत्पादन तथा बिक्री-वितरण गर्ने मात्र नभएर कोरोना महामारीको समयमा नक्कली पिसिआर रिपोर्ट बनाउने गिरोह पनि प्रहरी फन्दामा परेको थियो । गत बैशाख ७ गते काठमाडौंका विभिन्न स्थानबाट नक्कली पिसिआर रिपोर्ट बनाउने सुरिया हेल्थकेयर प्रा.लिका आठ जना कर्मचारी पक्राउ परेका थिए । काठमाडौंको सिनामंलमा रहेको सुरिया हेल्थकेयर प्रा.लिमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूको लागि नक्कली पिसिआर रिपोर्ट बनाउने समूहलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । 

उनीहरूले त्यसरी रिपोर्ट बनाएवापत् एक जनाबाट ९ हजार रूपैयाँ शुल्क लिने गरेका थिए । मेरिन्ट मल्टी केयर मेडिकल सेन्टरका ती एजेन्टहरूले सुरियासँगको मिलेमतोमा स्वाब नै संकलन नगरी नक्कली रिपोर्ट बनाउने गरेको पाइएको प्रवक्ता कोइरालाले बताए । 

मेडिकल क्षेत्रमा बिचौलियाहरू काठमाडौं उपत्यकामा मात्र नभएर देशभर छन् । उनीहरूले स्वास्थ्यजस्तो संवेदनशिल विषयमा पनि ठगी गर्ने, कालोबजारी गर्ने गरेको पाइएको छ । 

गत भदौ ९ गते विराटनगरबाट १० जना स्वास्थ्य बिचौलियालाई प्र्रहरीले पक्राउ गर्‍याे । उनीहरू सरकारी अस्पतालनजिकको क्षेत्रमा बस्थे । त्यहाँ आउने विरामीलाई राम्रो सेवा दिँदैन, डाक्टर पनि राम्रा छैनन् भन्दै निजी अस्पतालमा पठाउँथे । पक्राउ परेकाहरू विभिन्न फार्मेसीमा काम गर्दै आएका थिए । पक्राउ पर्नेहरूमा युनिकेयर फार्मेसीका रोशन गुप्ता, क्याटलाइसेस फार्मेसीका मोहमद सिराद, कृपा फार्मेसीका मोहमद समीर, सुजित यादव, दाजुभाइ फार्मेसीका अमित यादव, एपी फार्मेसीका फिरोज रोय र अली फार्मेसीका विश्वास मण्डल थिए । त्यस्तै श्रीराम चौधरी, सूर्यनारायण यादव र मो. जलीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । 

अस्पताल जान लागेका विरामीहरूलाई फकाएर विभिन्न प्रलोभन देखाई बीच बाटोबाटै बिचौलियाको काम गरी विभिन्न क्लिनिक र महँगा निजी अस्पतालमा पुर्‍याएर कमिसन लिने गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । 

कोरोना महामारीको समयमा यसरी स्वास्थ्य क्षेत्रमा बिचौलिया बढेको प्रहरी तथ्यांकले समेत देखाएको छ । कोरोनाको दोस्रो लहरको अवधिमा देशभरबाट १९ वटा कालोबजारीमा मुद्दा दर्ता भएका छन् । जसमा ४४ जना पक्राउ परेका छन् । तीमध्ये धेरैजसो स्वास्थ्य क्षेत्रको कालोबजारी गर्ने रहेको प्रहरीले जनाएको छ । 

आर्थिक वर्ष २०७७/०७८ मा प्रहरीले ६० वटा मुद्दा कालोबजारी गरेको कसुरमा दर्ता गराएको थियो । त्यसअघि आव २०७६/०७७ मा ८६ वटा थिए । त्यो समयमा स्वास्थ्य क्षेत्रभन्दा बाहिरका मुद्दा बढी थिए । कोरोना महामारीअघि पनि कालोबजारी गर्ने धेरैलाई प्रहरीले पक्राउ गर्दै मुद्दा चलाउँदै आएको थियो । तर, स्वास्थ्य क्षेत्रमा कालोबजारी गरेको अभियोगमा पक्राउ पर्ने संख्या एकदमै कम थियो । कोरोना महामारीसँगै यस्ताखालका बिचौलिया बढेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए । 

स्वास्थ्य क्षेत्रमा कसिमनको खेलमा सरकारी अस्पतालबाट विरामी निजीमा रिफर गर्ने समस्या त थियो नै, एम्बुलेन्सचालकले समेत विरामीलाई निजी अस्पताल लगिदिएवापत् निश्चित कमिसन पाउँदै आएका छन् । कोरोना महामारीसँगै औषधिमा कसिमन, कालोबजारी, गुणस्तरहीन औषधि बिक्री-वितरणजस्ता कार्यले स्वास्थ्य क्षेत्रमा गम्भीर समस्या निम्तिनेमा जनस्वास्थ्यविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

जनस्वास्थ्यविद् डा. शरद वन्तले महामारीको फाइदा उठाउँदै यस्ताखालका गिरोह सक्रिय हुनु स्वाभाविक रहेको भन्दै त्यसलाई नियन्त्रणको लागि राज्य नै सक्रिय हुनुपर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्रमा देखिने यस्ताखालका बिचौलियाविरुद्ध सर्वसाधारण पनि सचेत हुनुपर्ने उनको भनाइ छ ।

राज्यले स्वास्थ्य क्षेत्रका स-साना बिचौलियालाई नै नियन्त्रण गर्न सकिरहेको छैन । यस्तो अवस्थामा करोडौं भ्रष्टाचार गर्ने, मेडिकल माफियाहरूलाई कसरी कानुनी दायरामा ल्याउन सक्छ ? यो सबैको चिन्ता र चासकाे विषय हाे ।

  • प्रकाशित मिति : भदौ १५, २०७८ मंगलबार १५:२२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया