वामदेव गौतमले एमालेका सबै जिम्मेवारीबाट दिए राजीनामा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी छाडेका छन्। उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्। 

गौतमले स्वकीय सचिवमार्फत एमाले कार्यालय सचिव शेरबहादुर तामाङलाई एमालेको सबै पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् ।

संविधान जारी भएपछि भएको पहिलो प्रतिनिधिसभाको निर्वाचन २०७४ मा एमाले र नेकपा(माओवादी केन्द्र)को साझा घोषणापत्रलाई कार्यान्वयन नगरेको तथा सरकारको कामलाई पटकपटक सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भन्दै खारेज गरेपछि पनि सुधार गर्न नसकेको उनको आरोप छ । 

अध्यक्ष ओलीलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, 'म आफैं सङ्लग्न भएर निर्माण भएको नेकपा(एमाले)मा तपाईंकै गलत विचार, प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकाले आजको मितिबाट पार्टीको उपाध्यक्ष पद र पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको छु।' 

राजीनामापत्रमा जनताको बहुदलीय जनवाद र जननेता मदन भण्डारीका विचार र मान्यता संविधानको सर्वोच्चता र कानूनी राज्यको सिद्धान्तलाई पालना नभएको, कम्युनिस्ट पार्टीले जनताको जनादेशको आधारमा राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने मान्यताका विपरित जनताको अत्याधिक बहुमतलाई लत्याउँदै २०७५ पुस ५ र २०७८ जेठ ७ गते दुई दुई पटक संविधान विपरित जनताद्वारा निर्वाचित सदन भङ्ग गरिएको उल्लेख छ । 

अध्यक्ष र प्रधानमन्त्री भएपछि पार्टीको राजनीतिक कार्यदिशा, विधान तथा पार्टीको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी पालना नभएको उनले उल्लेख गरेका छन्। 



'आफना समकक्षी कमरेडलाई एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्काशनजस्ता स्वेच्छाचारी तथा निरङ्कुश प्रवृत्ति र शैली अँगाल्नुभयो, त्यतिमात्र होइन राष्ट्रपतिसमेतलाई आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णय कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो”, राजीनामा पत्रमा भनिएको छ।
 



  • प्रकाशित मिति : भदौ १८, २०७८ शुक्रबार १९:७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया