तालिबान र आरएसएस उस्तै : जावेद अख्तर, चुलियो विवाद– सिनेमा रिलिज हुन नदिने

गीतकार तथा लेखक जावेद अख्तर आफ्नो एक अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । हालै एक अन्तर्वार्तामा उनले तालिबानको तुलना आरएसएएस, विश्व हिन्दु परिषद् र बजरंग दलसँग गरेका थिए । भाजपा नेता राम कदमले जबसम्म अख्तरले आफ्नो अभिव्यक्तिमा माफी माग्दैनन् तबसम्म अख्तर र उनको परिवारका सदस्य जोडिएको कुनै पनि सिनेमा रिलिज हुन नदिने बताएका छन् ।

शनिबार सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को युथ विङले अख्तरको मुम्बईस्थित घरअघिल्तिर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले अख्तरले माफी माग्नुपर्ने माग गरेका छन् ।

जावेद अख्तरको अभिव्यक्ति सार्वजनिक भएपछि राम कदमले एक भिडियो म्यासेज जारी गर्दै भनेका छन्, ‘जावेद अख्तरको अभिव्यक्ति शर्मनाक मात्रै होइन, संघ र विश्व हिन्दु परिषद्का करोडौं पदाधिकारी र उनका विचारको पालना गर्ने संसारभरका मानिसको अपमान हो ।’

उनले अगाडि थपेका छन्, ‘यो टिप्पणी गर्नुअघि अख्तरले सोच्नुपथ्र्यो कि, त्यही संघ परिवारसँग जोडिएका मानिस आज यो देश (भारत)को राजगद्दी चलाइरहेका छन् । राजधर्म पालना गरिरहेका छन् । यदि तालिबानी विचारधारा हुन्थ्यो भने, के उनले यसरी यस्तोखाले अभिव्यक्ति दिन पाउँथे ? संघ र विश्व हिन्दु परिषद्का करोडौं कार्यकर्तासँग जबसम्म जावेद अख्तरले हात जोडेर माफी माग्दैनन्, तबसम्म उनी र उनको परिवारसँग जोडिएका कुनै पनि व्यक्तिको सिनेमा रिलिज हुन दिने छैनौं ।’

के भनेका थिए जावेदअख्तरले ?

एनडिटिभीसँगको एक अन्तर्वातामा जावेदले भनेका थिए– ‘संसारभरका दक्षिणपन्थी एउटै खालको चिज चाहन्छन् । जस्तोः तालिबान एक इस्लामिक देश चाहन्छ, त्यसैगरी यी केही मानिसहरु जो हिन्दु राष्ट्र चाहन्छन् । यिनको मानसिकता उस्तै रहेको छ ।’



उनले थपेका थिए– ‘निश्चित रुपमा तालिबान बर्बर छ र तिनको हर्कत निन्दनीय छ । तर, जो मानिस आरएसएस, विहिप र बजरंग दलको समर्थन गर्छन, ती पनि उस्तै त हुन् ।’
 



  • प्रकाशित मिति : भदौ २०, २०७८ आइतबार १६:४९:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया