संखुवासभाको उम्लिङ, अर्थात् मादी नगरपालिकाको एउटा गाउँ । योभन्दा अगाडि त्यति चर्चामा नआएको यो गाउँ अहिले समाचारको केन्द्रबिन्दु बनेको छ । दुई दिनयता यहाँको एउटा दुःखद् घटनाको समाचार लगातार आइरहेको छ । घटना हो, एउटै परिवारका ६ जनाको वीभत्स हत्या ।
अहिले सबैको ध्यानाकर्षण मादीको उम्लिङ गाउँमा छ । आइतबार राति उम्लिङमा बस्ने तेजबहादुर कार्की परिवारको सामूहिक हत्या भयो । सानो बच्चादेखि वृद्धसम्मको वीभत्स हत्या भयो। विकट क्षेत्रमा पर्ने यस गाउँमा भएको सो हत्याको खबर सुन्ने मात्र होइन, हत्याको समाचारले एकाएक प्रहरीमा पनि तरंग ल्यायो ।
त्यो तरंगको कम्पन जिल्ला सदरमुकाम खाँदबारीमा मात्रै सीमित रहेन, राजधानीको प्रहरी मुख्यालयसम्म उही गतिमा पुग्यो । अनि घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराख्न प्रहरी सक्रिय बन्यो ।
हत्या गम्भीर प्रकृतिको रहेको आकलन गर्दै प्रहरीले त्यहीअनुरुपको नीति अख्तियारी गरेको प्रदेश १ को प्रहरी कार्यालयले जनाएको छ । उम्लिङमा एकै परिवारका ८० वर्षीया पार्वता कार्कीसहित तेजबहादुर कार्की, उनकी श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र पाँच वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको हो ।
यो सामूहिक हत्याको घटनाको अनुसन्धानमा सफलता प्राप्त गर्न प्रहरी कम्मर कसेर लागेको छ । तर, अहिलेसम्म अनुसन्धानको सुइ दोषी नजिक पुग्न सकेको छैन ।
झण्डै मादीकै जस्तो घटना ठीक एक वर्षअगाडि अर्थात् ०७७को २६ भदौमा भक्तपुरमा पनि भएको थियो । त्यहाँ एकै परिवारका तीनजनाको वीभत्स हत्या भएको थियो । प्रहरीका अनुसार भक्तपुरमा सुदीप अधिकारी, उनकी श्रीमती सम्झना र उनका छोरा सुशान्तको हत्या भएको थियो ।
यसरी पछिल्लो समय परिवारकै सामूहिक हत्याका घटना एकपछि अर्को हुन थालेको छ । यो ‘ट्रेन्ड’बाट दुर्गम ठाउँ मात्र नभएर राजधानी पनि अछुतो रहन सकेको छैन ।
यसैगरी सामूहिक हत्याको सबैभन्दा ठूलो घटना पाँचथरमा भएको थियो । करिब डेढ वर्षअघि पाँचथरको मिल्काजुङ गाउँपालिकाको आरुबाटेमा सामूहिक हत्याको यस्तै घटना भएको थियो । घटनामा धारिलो हतियार प्रयोग गरेर नौजनाको हत्या भएको थियो ।
माइत बसेकी श्रीमती लिन जाँदा उनी नआएको र ससुराली परिवारका कारण श्रीमतीले आफूलाई छाडेको रिसका कारण ज्वाइँ मानबहादुर माखिमले सबैको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
पछिल्लो १८ वर्षको प्रहरी मुख्यालयको आँकडा हेर्ने हो भने देशभरिमा एकै परिवारका सामूहिक हत्याका आधा दर्जन घटना भएका छन् ।
कति मारिए ?
०६० सालको १६ असोजमा भएको ललितपुरको बडिखेल हत्याकाण्डदेखि ०७८ को २० भदौमा संखुवासभाको उम्लिङमा भएको हत्याकाण्डसम्म गरी ६ वटा सामूहिक हत्याका घटना भएको प्रहरी तथ्यांक छ ।
यो १८ वर्षको अवधिमा भएका बडिखेल हत्याकाण्डसँगै रुपन्देहीको तिलोत्तमामा ०७७ सालको २ जेठमा भएको हत्याकाण्ड र पाँचथरको अरुबोटेमा ०७६ को ७ जेठमा भएको हत्याकाण्ड पनि दर्ज छन् ।
यसैगरी, ०७१ सालको १५ असोजमा लमजुङको भोटेओडारमा र ०७३ सालको १५ वैशाखमा सल्यानको रानागाउँमा परिवारको सामूहिक हत्या भएको अभिलेख छ । यो सबै हत्यामा ३२ जना मारिएको आँकडा छ ।
कारण
प्रहरी प्रधान कार्यालयका आकलनमा यस्ता घटना खासगरी डिप्रेसनको रोग, आर्थिक तथा पारिवारिक समस्याका कारण हुने गरेको छ । अहिलेसम्म भएको परिवारको सामूहिक हत्याका घटनाको विश्लेषण गर्दा फरक–फरक कारण पाइएको जनाएको छ ।
यो घटनाकै कुरा गर्ने हो भने ती घटना पारिवारिक विवाद, यौन तृष्णा, डिप्रेसनको रोग, मानसिक समस्या, अनैतिक सम्बन्धको आशंका भएका कारण घटना भएको प्रहरी अनुसन्धानमा पाइएको छ ।
मनोविद् डा. अरुण कुँवर यी घटना मानसिक परिस्थितिको उपज रहेको बताउँछिन् । मानसिक परिस्थिति अर्थात् विभिन्न कारणले मानिस तनावमा आउँछ, आवेगमा आइसकेपछि ऊ रिस पोख्न खोज्छ, उनले भने,‘अनि ऊ हत्या वा आत्महत्या गर्न बाध्य हुन्छ । फेरि, यो बेला जो पाइने हो, त्यस्ता व्यक्ति ती सबैलाई सिध्याउँदै जान्छ । यही कारणले सामूहिक हत्या हुने गर्छ ।’
यस्ता घटना मुख्यतः आर्थिक तथा यौन तृष्णासँगै मानसिक समस्याका कारण हुने गरेको उनी बताउँछिन् ।
नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले यस्ता घटना मुख्यतः तीन कारणले हुने बताउँछन् । उनका अनुसार आर्थिक, डिप्रेसन र आवेगका कारणले यस्ता घटना हुने गरेको पाइएको छ । तैपनि थप कारण बुझ्नका लागि यस्ता घटनाको अध्ययन गर्न जरुरी रहेको उनको तर्क छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।