कोभिड-१९ विरुद्धको थप ४४ लाख डोज खोप यो साताभित्र नेपाल आइपुग्ने भएको छ । सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप बिहीबार ल्याइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
त्यसका लागि नेपाल वायुसेवा विगमको जहाज यही भदौ ३० गते चीन जान लागेको छ । र, ३१ गते खोप ल्याएर फर्किने कार्यतालिका रहेको छ । यसअघि नेपालले चीनबाट अनुदानमा र खरिद गरी ७४ लाख डोज भेरोसेल खोप ल्याएको थियो ।
नेपालले आगामी चैतभित्रमा सबै लक्षित समूहलाई खोप लगाइसक्ने योजना अघि सारेको छ । त्यसका लागि ५ करोड डोज खोप आवश्यक रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म सोही आधारमा सरकारले खोप ल्याइरहेको छ ।
नेपालमा २ करोड १७ लाख ५७ हजार ७६३ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । जसमध्ये अहिलेसम्म ५१ लाख ६६ हजारभन्दा बढीले पूर्ण मात्रा खोप लगाइसकेका छन् । त्यस्तै ५७ लाख ७३ हजार भन्दा बढीले पहिलो मात्रा लगाएका छन् ।
१८ वर्ष मुनिका किशोर किशोरीका लागि पनि मोडेर्ना र फाइजर खोप किन्ने प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि औषधि व्यवस्था विभागले फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको लागि अनुमति दिएको थियो । अब उक्त खोप नेपाल ल्याएर १८ वर्ष मुनिका किशोर किशोरी तथा स्तनपान गराइरहेका महिलाहरूलाई समेत खोप दिइनेछ ।
अहिलेसम्म नेपालमा प्रयोग भइरहेको कोभिशिल्ड, भेरोसेल, अस्ट्राजेनिका खोप १८ वर्ष भन्दा माथिको उमेर समूहलाई लगाइरहेको छ । फाइजर खोप भने बालबालिका तथा स्तनपान गराइरहेका महिलाहरूलाई प्राथमिकतामा राखेर दिने योजना सरकारको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।