नेपाली सेयर बजारलाई अन्तर्राष्ट्रिय बजारसँग तुलना गर्ने बेला भएको छैन

पछिल्लो समय सेयर बजारमा निकै उतारचढाव देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि त बजारमा अस्वाभाविक उतारचढावको अवस्था आयो । बजारमा कयौं दिन पोजेटिभ र नेगेटिभ सर्किट नै लाग्यो । ठूलै राजनीतिक परिवर्तन, सरकारको नयाँ नीतिलगायतका कुराले बजारमा यस्ताखाले उतारचढाव आइरहेकै छ । किन यस्तो अवस्था बारम्बार देखिएको छ, यसका गुदी कारण के हुन सक्छ भन्नेबारे सेयर बजार विश्लेषक अनलराज भट्टराईसँग फरकधारका लागि मनीषा अवस्थीले गरेकोे कुराकानीको सारः

लगानीकर्ता महँगो सेयरमा बढी आकर्षित हुन्छन्, सोही कारण लगानी डुबेको हो ?

सेयर बजारमा घटबढ हुँदा महँगो सेयरमा आकर्षण बढ्नु स्वाभाविक हो । बजारमा उतारचढाव हुनुलाई पनि अन्यथा लिनु हुँदैन । किनभने लगानीकर्ताहरु विस्तारै बढिरहेका छन् । धेरै लगानीकर्ता भएको ठाउँमा एउटा कुनै घटनाले नै धेरै जनाको लगानीमा प्रभाव पर्छ ।  

हाम्रो बजारमा दुई किसिमका लगानीकर्ता छन् । दीर्घकालीन सोचसहित लगानी गर्ने र छोटो समय हेर्ने । दीर्घकालीन रुपमा लगानी गर्नेहरु सेयर घट्दा पनि डराउँदैनन्, किनकि उनीहरुसँग पर्याप्त समय हुन्छ । तर, छोटो समयका लागि लगानी गर्नेहरु केही अप्ठेरोमा पर्छन् । बजारमा लामो समयको लागि लगानी गर्दा खासै जोखिम हुँदैन । तर, जो बजारमा सामान्य रातो–हरियो हेरेर आफ्नो निर्णय गर्छन्, उनीहरू निश्चय नै जोखिममा पर्छन् । तर पनि बजार डुबिहाल्ने अवस्था भने छैन । लगानीकर्ताले आफूले लगानी गर्न लागेको कम्पनीबारे पहिल्यै ध्यान दिएको हुन्छ । यद्यपि, अझै पनि प्रायः साना लगानीकर्ताले अध्ययन गरेर लगानी गर्ने अवस्था बनिसकेको छैन । हाम्रो सेयर बजार नै नयाँ भएकाले यो अवस्था आएको हो ।  

अन्तर्राष्ट्रिय सेयर विश्लेषकहरु ‘मिडल लेवल थिंकिङ’ को कुरा गर्छन्, हाम्रोमा त्यस्तो अवस्था छ ?

मैले माथि नै भनेँ, हाम्रो सेयर बजार नयाँ छ । हामीले धेरै कुराको विकास गर्नै बाँकी छ । लगानीकर्ताहरु पनि विस्तारै सेयर बजारमा बढ्न थालेका छन् । त्यस कारण अन्तर्राष्ट्रिय बजारसँग हामीले तुलना गर्नै मिल्दैन । 



हाम्रो बजारमा यस्तो खालको थिंकिङ गर्ने लगानीकर्ता निकै कम छन् । किनभने यहाँ लगानी गर्दा फाइदा हुन्छ भनेर यो बजारमा आउने मात्रै बढी छन् । यसबाहेक अधिकांश लगानीकर्तालाई खासै केही थाहा नभएको अवस्था छ । यसबारे विस्तारै विकास हुँदै जाला । 

नेपालको सेयर बजार सीमित लगानीकर्ताको मुठ्ठीमा पर्दै आएको आरोप छ, तपाईं के भन्नुहुन्छ ?



सेयर मार्केटबारे यस्तो कुरा बारम्बार सुनिन्छ नै । तर, यो अवस्थालाई सामान्य रुपमा लिनुपर्छ । सेयर मार्केटमा मात्रै होइन सबै कर्पोरेट सेक्टरमा ठूला लगानीकर्ताहरु नै हाबी भएका हुन्छन् । बैंकिङ क्षेत्रकै उदाहरण दिऊँ । 

एउटा बैंकमा ५१ प्रतिभन्दा बढी हुने प्रमोटरहरु कति थोरै हुन्छन् । बाँकी लगानीकर्ताहरु लाखौं हुन्छन् । तर, प्रमोटर एक जना मात्रै भए पनि सबै कुरा उनीहरुकै हातमा हुन्छ । यसको अर्थ जुनसुकै बजारमा पनि ठूलो लगानी गर्ने नै हाबी हुन्छन् । यसलाई व्यवस्थित गर्ने काम नियामक निकायको हो । 

प्रायः नेपाली कांग्रेसको सरकार आउँदा सेयरबजार बढ्छ, किन यस्तो भएको होला ?

बजारमा लगानी गर्न आउनेहरु नाफाका लागि नै आउने हुन् । कसको सरकार आयो भन्नेसँग उनीहरु खासै सरोकार राख्दैनन् । बरु के के नीति ल्याए भन्नेसँग विशेष सरोकार रहन्छ । 

नीतिगत विषयमै संयोग मात्रै पर्ने गरेको हुन सक्छ । किनभने, सेयर बजार एकदमै सेन्सेटिभ हुन्छ ।  यहाँ निकै साना कुराले पनि विशेष अर्थ राख्छ । स–साना सूचना, नियामक निकायमा बस्ने अधिकारीहरुका स–साना अभिव्यक्तिले पनि भूमिका खेलिरहेको हुन्छ । 

पछिल्लो समय नेपालका ठूला लगानीकर्ता सेयर बजारबाट पलायन भएर घरजग्गा व्यवसायतिर लागेको हल्ला छ नि ?

खास पैसा घुमिरहने चिज हो । अर्थात् लगानीकर्ताहरुले आफ्नो पैसामा नाफा कमाउन लागि सबै क्षेत्रमा घुमाइरहन्छन् । जसका कारण घरजग्गा क्षेत्रमा पनि लगानी गयो होला । तर, पुँजीबजारको विशेषता र उद्देश्य छुट्टै छ र घरजग्गा क्षेत्रको विशेषता पनि छुट्टै छ । सानो लागानी गर्नेहरुले पुँजी लगेर घरजग्गामा हाल्न सम्भव हुँदैन । 

यहाँ एक हजार लगानी गर्ने पनि छन् । तर, घरजग्गा किन्दा एक हजारको जग्गा किन्न सम्भव होला त ? त्यसकारण ठूलो लगानी गर्नेहरुको हकमा केही मात्रामा होला, तर पूरै पुँजी पलायन हुन सक्दैन ।

बजारको मूल्यांकन गर्न नसक्ने नयाँ लगानीकर्तालाई के भन्नुहुन्छ ?

नयाँ लगानीकर्ताहरुले टेक्निकल एनालाइसिस गरेर लगानी गर्न सम्भव त्यति हुँदैन । लगानीकर्ताले यस्तो अध्ययन गर्नुभन्दा पनि कम्पनीबारे सामान्य जानकारी लिएर लगानी गर्ने हो । किनभने, उनीहरुले निकै सानो पुँजी लगानी गर्छन् । त्योभन्दा बढी यस्तो एनालाइसिसमा खर्च हुन्छ । निःशुल्क गरिने एनालाइसिस पूर्ण पनि हुँदैन । 

लगानीकर्ताहरुले कम्पनीको आधारभूत भन्दा पनि राजनीतिक पक्षमा ध्यान दिएको देखिन्छ । यसो गर्दा अलि जोखिम हुन सक्छ । कम्पनीबारे सामान्य जानकारी लिएर बजारमा आउँदा ठूलो जोखिम हुँदैन भन्ने कुरामा विशेष ख्याल गर्नुपर्छ ।
 

 

  • प्रकाशित मिति : भदौ २८, २०७८ साेमबार १८:४२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया