सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवाश्रीबाट विभूषित गर्ने भएको छ ।
संविधान दिवसका अवसरमा सरकारले राष्ट्रिय टिमका कप्तानद्वय चेम्जोङ र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभूषित गर्ने घाेषणा गरेकाे हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमको आयोजना गरी सम्मानित सम्पंर्णलाई विभूषित गर्नेछिन् ।
दुवै खेलाडी अहिले देशबाहिर छन् । किरण साफ तयारीका लागि कतारमा बन्द प्रशिक्षणमा सहभागी छन् ।
मल्लको कप्तानीमा नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानमा त्रिकोणात्मक सिरिज खेलिरहेको छ ।
सरकारले खेलकुद क्षेत्रमा योगदान पुर्याएका अन्य विभिन्न व्यक्तित्वलाई पनि विभूषित गर्ने भएको छ ।
सरकारले जनसेवा श्रीबाट नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य र तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाललाई विभूषित गर्ने भएको छ ।
यस्तै गरी शारीरिक रूपमा अशक्त खेलाडीद्वय हिमाल अर्याल र केशव थापा पनि जनसेवा श्रीबाट विभुषित हुने भएका छन् ।
सरकारले सुकीर्ति पदकबाट कराँते खेलाडी अनु अधिकारी, ब्याडमिन्टन खेलाडी दिपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई विभुषित गर्ने भएको छ ।
सरकारले संविधान दिवसका अवसरमा राष्ट्र हितमा योगदान गरेका विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभिन्न विभूषणद्वारा सम्मानित गर्दै आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
0