दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रियताबारे कानुनविद्सँग परामर्श लिँदै गठबन्धन

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई महिना पुग्दा पनि सरकार पूर्ण रुपमा विस्तार हुन सकेको छैन । सोही विषयमा छलफल गर्नकमा लागि बुधबार साँझ गठबन्धनको बैठक बस्दै छ ।

मंगलबार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यसबारे केही सहमति गरे पनि बाँकी विषय टुंग्याउन आज साँझ पुनः गठबन्धनको बैठक बस्न लागेको हो । गठबन्धनमा रहेका माधव नेपाललाई नयाँ दल दर्ता गर्न सहज हुने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश पछिल्लो समय सरकार विस्तारमा मुख्य बाधक बनेकोे छ । यसबारेमा छलफल गरेर टुंग्याउनकै लागि गठबन्धनको बैठक बस्न लागेको स्रोतको भनाइ छ । 

उच्च स्रोतका अनुसार साँझ हुने भनिएको बैठकमा गठबन्धनसँगै कानुनविद्हरुलाई पनि बोलाइएको छ । कानुनविद्हरुसँग राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउँदा त्यसबाट पर्ने सक्ने असरबारे परामर्श लिने गठबन्धनको तयारी छ । 

यदि अध्यादेश निष्क्रिय बनाउँदा माधव नेपालको पार्टीलाई कुनै असर पर्दैन भने आजै अध्यादेश निष्क्रिय बनाइन्छ, अनि भोलि नै बाँकी सबै दल सरकारमा सहभागी बन्नेछन्, स्रोत भन्छ,‘तर, यदि असर पार्छ भने तत्काल केही भन्न सकिँदैन । 

उनले थपे, ‘किनभने माधव नेपाल अध्यादेश निष्क्रिय नबनाउने अडानमा हुनुहुन्छ, उता उपेन्द्र यादवजी निष्क्रिय नभएसम्म सरकारमा सहभागी हुँदैनौँ भन्दै हुनुहुन्छ । जसले गर्दा यो समस्या ज्युँकात्युँ रहन्छ ।’ 

बैठकमा कानुनविद्हरुले अध्यादेशको निष्क्रियताले नयाँ दलहरुलाई कुनै असर नपार्ने जनाएको खण्डमा सोहीबमोजिम अगाडि बढ्ने गठबन्धनमा सहमति भएको उच्च स्रोतको दाबी छ ।





  • प्रकाशित मिति : असोज ६, २०७८ बुधबार १७:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया